18 Jan 2020   |   
logo
शिक्षा

स्ववियु चुनाव हुन मुस्किल/ क्याम्पसहरुमा तालाबन्दी



शिक्षा   80 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, ५ फागुनः विद्यार्थीको साझा संगठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को ८ वर्षपछि हुन लागेको चुनाव पनि कार्यतालिका अनुसार हुन मुस्किल पर्ने देखिन्छ । फागुन १४ गते हुनुपर्ने चुनावको लागि बुधबार संगठन दर्ता गरेको विद्यार्थी संगठनहरुलाई दिनुपर्ने मनोनयन पत्र दिन नसक्दा आज बिहिबार हुने भनेको उम्मेदवारी दर्ता पनि हुन नसक्ने विद्यार्थी संंगठनहरुले जनाएका छन् । सरकारले जसरी भए पनि स्ववियु चुनाव गर्ने घोषणा गरे तापनि विप्लव माओवादी निकट विद्यार्थी संगठनले क्याम्पसहरुमा ताला लगाएका छन् ।



अनेरास्ववियु मकवानपुरका अध्यक्ष सन्तोष पौडेलका अनुसार विद्यार्थीको अधिकारको लागि धेरै समयपछि हुन लागेको स्ववियु चुनाव कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ । उहाँले स्ववियु चुनावको लागि लामो समयसम्म विद्यार्थीले प्रतिक्षा गरेको समेत बताउनुभएको छ । नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले चुनावको आवश्यकता रहेकोले स्ववियु चुनावको विकल्प नभएको बताउनुभएको छ । त्यस्तै नयाँ शक्ति विद्यार्थी युनियन मकवानपुरका संयोजक श्रवण बर्तौलाले विद्यार्थीहरुको लागि चुनाव आवश्यक रहेको तर विप्लव विद्यार्थीको पनि माग पुरा गर्न केहि समय सार्दा खासै असर नपर्ने बताउनुभएको छ ।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन मकवानपुरका अध्यक्ष दिनेश सुवेदीले स्ववियुको चुनाव सर्नु भनेको फेरि स्ववियुको चुनाव नहुनेतर्फ धकेल्नु हो भन्दै चुनाव तोकिएकै मितिमा कुनै पनि हालतमा चुनाव हुनु पर्ने बताउनुभएको छ । सबै विद्यार्थी संगठनहरुले आफ्ना आफ्ना उम्मेदवार सबै क्याम्पसहरुमा तयार गरी सकेको विद्यार्थी नेताहरुले बताएका छन् । विप्लव माओवादी निकट विद्यार्थीको केन्द्रिय तहका नेताहरुसँग अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी लगायत विभिन्न विद्यार्थी संगठनका केन्द्रिय नेताहरुले छलफल गरिरहेको विद्यार्थी नेताहरुले जानकारी दिएका छन् ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23853187 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top