18 Jan 2020   |   
logo
सम्पादकीय

लैंगिकहिंसा र पुरुष



सम्पादकीय   977 पटक पढिएको   सम्पादकीय   २०७६ मंसिर १९ बिहिवार  

लैंगिकहिंसा विरुद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ तारेखदेखि डिसेम्बर १० तारेखसम्म लैंगिकहिंसाविरुद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा लैंगिकहिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यमान समस्याका बारेमा चर्चा गरी आगामी दिनमा आत्मसात गर्नुपर्ने रणनीतिका बारेमा सरोकारवालाले छलफल गर्ने अवसरको रुपमा सदुपयोग गर्दै आएका छन् । लैंगिकहिंसाका घटनालाई आमरुपमा त महिलामाथि हुने हिंसाको रुपमा बढी बुझ्ने गरेको पाइन्छ । महिलाहरु नै बढी पीडित हुने र महिलामाथि पुरुषले पीडा थोपर्ने घटना उल्लेख्य भएका कारण लैंगिक हिंसा महिलामाथि हुने हिंसाका रुपमा बुझ्ने गरिएको छ भने पुरुष मात्रै पीडक हुन् भन्ने बुझाई पनि अर्को पाटो बनेको छ । यस्तो सन्दर्भमा क्रमशः लैंगिकहिंसा भनेको लिंगका आधारमा विभेदपूर्ण सोँचाई र लैंगिक रुपमा एक समूहले अर्को समूहलाई या लैंगिकताकै आधारमा गरिने हिंसा नै लैंगिकहिंसाको रुपमा बुझ्ने गरिन्छ ।

लैंगिकहिंसामा महिला मात्रै नभई पुरुष पनि पीडित भएको र महिलाबाट पनि पुरुषमाथि हिंसा भएका घटनाहरु सार्वजनिक हुन थालेका छन् । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले त अन्तरपुस्ता हिंसाका घटना पनि उत्तिकै भयानक रहेको उल्लेख गर्नुभएको छ । हिंसाका अनेकौं स्वरुपहरु समाजमा देखिन्छन् । यतिबेला लैंगिकहिंसाको विषयलाई लिएर विविध कोणबाट समस्याको पहिचान गर्नुका साथै समाधानका बारेमा पनि बहस हुने गरेको छ । तर, अझै बहसले वास्तविक तथ्यलाई आधार बनाउन सकेको छैन । मंगलबार हेटौंडामा एक कार्यक्रममा महिलामाथि हुने हिंसा न्यूनीकरणमा पुरुषको भूमिका विषयमा अन्तरक्रिया भयो । अन्तरक्रियामा सहभागीले सैद्धान्तिक रुपमा लैंगिकहिंसाका विविध पक्षका बारेमा कुरा भए पनि हेटौंडा उपमहानगर र मकवानपुर जिल्लामा लैंगिकहिंसाको वर्तमान अवस्था, हिंसा न्यूनीकरणका लागि भएका प्रयास र भावी चुनौति एवम् त्यसलाई सामना गर्ने योजना केही छैन ।

औपचारिकताका लागि मात्रै कार्यक्रम गर्ने प्रवृत्तिलाई समेत कायमै रहेको पुष्टि गर्ने गरी मंगलबार हेटौंडामा लैंगिक समानताका लागि पुरुषको सहभागिता विषयक कार्यक्रम भएको छ । विशेषगरी कार्यक्रमलाई नेतृत्व गर्ने कार्यपत्र नै आधारहिन र सतही हुनुले पनि प्रभावकारी छलफल हुन सकेन । यस्तै अर्थहिन अभ्यासले लैंगिकहिंसा जस्तो गम्भीर विषयलाई हलुका समेत बनाइरहेको छ । कुन भुगोलमा, कुन सन्दर्भमा, कस्तो विषयमा छलफल गर्ने ? भन्ने विषयमा स्पष्ट भएर त्यस्तो भुगोल, सन्दर्भ र विषयको वर्तमान अवस्था, वास्तविकतामा आधारित भएर विषय वस्तुको उठान, छलफल र निश्कर्षमा पुग्नु जरुरी छ । अनि मात्रै हामी समाजका समस्याको समाधानमा केही अर्थपूर्ण योगदान गर्न सक्छौं । तर, औपचारिकताका लागि र बजेट उपलब्ध भएकाले मात्रै कार्यक्रम आयोजना गरेजस्तो गरिनुहुन्न ।

लैंगिक समानताका लागि पुरुषको योगदान या सहभागिताका विषयमा चर्चा हुनु जरुरी छ । अधिकांश हिंसाका घटनामा पुरुष नै दोषी देखिने गरेको छ । नेपाल जस्तो पितृसत्तात्मक देशमा लैंगिक हिंसा मात्रै नभएर हरेक क्षेत्रमा पुरुष र महिलाबीचको सहकार्य, सहभागिताको विषयमा चर्चा गरिनुपर्छ । पुरुषले समाजका अधिकांश क्षेत्रमा आफ्नो हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेका बेला समाजको जटिल समस्या समाधानमा पुरुषको सहभागिताको औचित्यपूर्ण अध्ययन, अनुसन्धान हुनुपर्छ । पुरुषलाई पीडकको परिभाषामा नभई सहयोगीको भूमिकामा स्थापित गर्नेतर्फ यस्ता बहसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने थियो । लैंगिकरुपमा महिला र पुरुषको सौहाद्र्ध सम्बन्ध स्थापित गर्ने गरी रणनीतिक योजना बनाउने हो भने लैंगिकहिंसाका घटनालाई उल्लेख्य रुपमा न्यूनीकरण गर्न सकिने थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23851450 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top