21 Nov 2019   |   
logo
सम्पादकीय

रगत अभाव लज्जास्पद



सम्पादकीय   120 पटक पढिएको   सम्पादकीय   २०७६ कार्तिक २२ शुक्रवार  

रक्तसञ्चार केन्द्र हेटौंडाले रगत अभाव भएको जनाएको छ । स्वास्थ्य उपचारको क्रममा आवश्यकताअनुसार विरामीको शरीरमा रगत वा रक्तकोषहरु चढाउनुपर्ने हुन्छ । आवश्यकताअनुसार रगत वा रक्तकोष नचढाए विरामीको ज्यान समेत जान सक्छ । भैपरी आउने दुर्घटनाका बेला गम्भीर रुपमा घाइते भएका विरामीलाई तत्कालै रगत चढाउनुपर्ने समेत हुन सक्छ । यस्तो अवस्थामा रगतको अभाव कायमै रहे घाइतेको ज्यानै जान सक्छ । कतिपय दीर्घ स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई नियमित जसो रगत र रक्तकोष जरुरी हुन्छ ।

रक्तसञ्चार केन्द्रले अभाव भएको जनाएपछि समाचार प्रकाशित भएपछि रक्तदाताहरु रक्तसञ्चार केन्द्रसम्मै पुगेर रक्तदान गरेका छन् । रगतको अभाव हुनु, अभाव भएको भनी समाचार प्रकाशित भएपछि रक्तदान गर्न सर्वसाधारण रक्तसञ्चार केन्द्रसम्मै पुग्नु भनेको एउटा समस्या जो समाधान गर्न सकिने रहेछ भन्ने बुझ्नुपर्छ । अझ भन्ने हो भने असामान्य अवस्थामा बाहेक अभावै नहुने सुनिश्चित गराउने हो भने पनि सम्भव छ भन्ने बुझ्न गाह्रो हुन्न ।

विश्वव्यापी सञ्जाल भएको सामाजिक संस्था रेडक्रस सोसाइटीको नेपालमा पनि सक्रिय संरचना छ । नेपाल रेडक्रस सोसाइटीले जिल्ला, स्थानीय तह, वडा, टोलसम्म स्वयम्सेवी संस्था नेपाल रेडक्रस स्थापित छ । यस्तो सामाजिक संस्थाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुनु स्वभाविक होइन । जबकी रगत अभाव भएको भनी समाचार प्रकाशित भएलगत्तै दाताहरु रक्तसञ्चार केन्द्र नै पुग्छन् भने अभावको अवस्था आउनुका कारण के हुन् खोजी गर्नुपर्छ । स्वयम्सेवी रेडक्रसले रक्तदान कार्यलाई प्रोत्साहित गर्ने, रक्तदाताहरुलाई रक्तदानको आवश्यकताका बारेमा बुझाउने, रगतको मागको अनुमानित खाका तयार पार्ने, मागको अनुमानित खाकाअनुसार रगत संकलनको योजना बनाई कार्यान्वयन गर्ने काममा जिल्ला रेडक्रसले अगुवाई गर्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । रेडक्रस सोसाइटीले सामाजिक सेवाकै कार्य गर्ने हो भने एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापनको काम पनि महत्वपूर्ण छ । एम्बुलेन्स सेवा व्यावसायिक जस्तो बनेको छ । विभिन्न संघ, संस्थाले एम्बुलेन्स सेवा सञ्चालन गरेर आम्दानी गरिरहेका छन् । एम्बुलेन्स सेवा ज्यान जोखाउने कि पैसा कमाउने भन्ने स्पष्ट हुन सकेको छैन ।

विश्वव्यापी स्वयम्सेवी संस्था रेडक्रसले जीवनदान सेवालाई व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्नुभन्दा पनि दातृ निकायसँग करोडौंका विभिन्न कार्यक्रम सञ्चालनमा बढी ध्यान दिइराखेको छ । आकस्मिक र आपत्कालिन सेवाको क्षेत्रमा सक्रिय हुनुपर्ने रेडक्रस विकासे गैरसरकारी संस्था जस्तो भएको छ । रेडक्रसमा आवद्ध भई सामाजिक योगदानसँगै सामाजिक प्रतिष्ठान आर्जन गर्ने, सेवा गरेर आत्मसन्तुष्टी प्राप्त गर्नुपर्ने मर्म विपरित आर्थिक उपार्जनको अवसर जस्तै बनेको छ । समन्वयकारी भूमिका मात्रै निर्वाह गरे रगत जस्तो महत्वपूर्ण वस्तुको अभाव हुनै नदिने, छिमेकी जिल्लामा हुने अभावलाई टार्न समेत सहयोग गर्ने गरी जुझारुपना देखाउनुपर्ने जिल्ला शाखाले अभाव झेल्नुपर्ने अवस्था आउनु लज्जास्पद विषय समेत हो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17552446 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top