18 Nov 2019   |   
logo
विचार

शिक्षामा भ्रमण र सिकाइ



विचार   158 पटक पढिएको   ज्योति न्यौपाने   २०७६ भाद्र २० शुक्रवार  

भ्रमणले मानिसलाई नयाँ कुराको जानकारी गराउँछ । जीवनमा केही कुरा जान्न, बुझ्न र प्रयोगमा ल्याउन मानिस सधैँ प्रयत्नशील भइरहन्छ । यही स्वभावका कारण मानिसले आजको भन्दा भोलिको जीवन उन्नतशील बनाइरहेको छ । भ्रमणबाट सिकिइएका कुराहरूले हामीलाई अरुभन्दा अगाडि बढाउन सहयोग पुर्याउँछ । आजको भन्दा भोलिको हाम्रो विद्यालयको मुहारमा परिवर्तन ल्याउने अभिप्रायले हाम्रो विद्यालयले भ्रमणको आयोजना गरिएको थियो । यसका लागि नुवाकोट, काठमाडौँ, भक्तपुर, काभ्रे आदिका महत्वपूर्ण पर्यटकीय क्षेत्रका साथै काठमाडौँको एउटा उत्कृष्ट विद्यालय अवलोकन गर्ने योजना शैक्षिक भ्रमण समितिले तयार पारेको थियो ।

२०७५ सालको कार्तिक ९ गते शुक्रबार भ्रमणका लागि बिहान ६ बजे विद्यालयमा उपस्थित हुने पूर्व निर्धारित योजना भए पनि हाम्रो यात्रा भने ७ः३० बजेमात्र सुरु भयो । हुन त हामी सबै समयको महत्वको वर्णन गरेर थाक्दैनौँ । समय मूल्यवान् छ भन्ने कुरामा हामीलाई व्याख्या र वर्णन गर्न लगाइयो भने सायद ठूलाठूला वक्ता र लेखक पनि पछि पर्छन् तर व्यवहारमा उतार्ने क्रममा भने हामी सधैँ कमजोर साबित हुन पुग्छौँ । यही अवस्थाको सिकार हामी यस पटकको भ्रमणमा पनि भइसकेका थियौँ । सबै जना जम्मा भएपछि बिहान ७ः३० बजे स्कुलबाट हिँडेका हामीहरू लोथरमा पुगेर चिया खान गाडी रोक्न लगायौँ । सबै साथीहरू विभिन्न पसलमा बाँढिएर चिया खाइसकेपछि बस फेरि अगाडि बढ्यो । त्यसपछि प्रधानाध्यापकले सबैको कार्य विभाजन गरिदिनुभयो । मनोरन्जन, खाना व्यवस्थापन, बास व्यवस्थापन, सिट व्यवस्थापन, आर्थिक व्यवस्थापन तथा प्रतिवेदन लेखन उपसमितिका बारेमा उहाँले जानकारी गराउनुभयो । सबैले आ–आफ्नो जिम्मेवारीलाई सहर्ष स्वीकार गर्यौँ । कुरिनटारको लाङ्घाली होटलमा १२ बजे खाना खाइसकेपछि हाम्रो पाइला लक्ष्यतर्फ अगाडि बढ्यो । हाम्रो पहिलो लक्ष्य थियो नुवाकोट दरबारको अवलोकन गर्नु । १ बजे धादिङको गल्छीबाट नुवाकोटको विदुरतर्फ प्रस्थान गर्यौँ । विभिन्न प्राकृतिक छटाको अवलोकन गर्दै हाम्रो यात्रा अगाडि बढ्दै गयो । करिब २ बजे हामी नुवाकोटको देवीघाटमा पुग्यौँ । त्यहाँ केहीबेर बस रोक्न लगाएर त्रिशुली र तादी नदीको सङ्गममा केहीबेर प्राकृतिक सौन्दर्यको रसपान गर्न हाम्रो समूह लालायित थियो । त्यहाँको मन्दिर तथा दुई नदीको संगमस्थलमा केही घुमफिर गरी फोटो खिच्यौँ । देवीघाट ऐतिहासिक पृष्टभूमिसँग जोडिएको हुनाले पनि हाम्रा लागि यो एउटा महत्वपूर्ण क्षेत्र थियो । पृथ्वीनारायण शाहले प्राण त्याग गरेको यो भूमि हाम्रा लागि इतिहासको सम्झना गराउने महत्वपूर्ण स्थान थियो । यस भूमिले हामीलाई एक पटक राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झाउन बाध्य बनायो । समयको क्रमसँगै कहिले कोही व्यक्ति राष्ट्रका लागि अत्यन्त आवश्यक हुन्छन् भने त्यही समयले त्यही व्यक्तिको योगदानलाई कहिलेकाहीँ अवमूल्यन पनि गरिदिन्छ । पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्न खोजिएको भान नभएको होइन तर उनको योगदानको अवमूल्यन गरिनु आफ्नो राष्ट्रको अपमान गर्नु सरह नै हुन्छ भन्दा फरक नपर्ला । पृथ्वीनारायण शाहले जुन उद्देश्यले राष्ट्र एकीकरण गरेका भए पनि आज हामी नेपाली भएर गर्व गर्न पाउने अबस्था उनकै कारणले भएको हो भन्दा अतिशयोक्ति हुँदैन । देवीघाटबाट हामी पुनः अगाडि बढ्यौँ । विदुर नगरपालिकाबाट ६ किलोमिटर पूर्वतर्फ उकालो चढेपछि हामी नुवाकोट दरबारमा पुग्यौँ । पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय हासिल गरेपछि निर्माण गर्न लगाएको साततले दरबार हाम्रो महत्वपूर्ण भ्रमणस्थल थियो ।  पहिला ९ तले रहेको दरबार १९९० सालको भूकम्पले भत्किएपछि ७ तले बनाइको हो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको सो दरबारको भित्र प्रवेश गर्न रोक लगाइएकोले हामीले बाहिरबाट सो दरबारको अवलोकन ग¥यौँ । नेपालका ऐतिहासिक विरासत बोकेका यस्ता दरबारहरू क्षतिग्रस्त भएको लामो समय भइसक्दा समेत मर्मत हुन नसक्नु दुर्भाग्यको कुरा हो । दरबार मर्मतको काम भइरहेको तथा नजिकैको पुरातात्विक मन्दिर पुनर्निर्माणको काम भइरहेको भए पनि सुस्त गतिमा भइरहेकोले हामी जस्ता भ्रमणमा जानेहरूलाई यसले एकपटक मन खिन्न पार्न बाध्य बनाउँछ । त्यस दरबारको अवलोकन भ्रमण गरी त्यहाँ पनि फोटो खिच्दै ती खिचिएका तस्विरहरु सामाजिक सन्जालमा पोस्ट गर्दै  हामी विदुर नगरपालिका वडा नं। ४ मा रहेको सुखद पाहुना घरमा आएर बास बस्यौँ । होटलमा बेलुकाको खानापछि केहीबेर सभाहलमा गएर बस्यौँ ।

भ्रमणको दोस्रो दिन कार्तिक १० गते हाम्रो यात्रा बेत्रावती, त्रिशुली जलविद्युत आयोजनाको अवलोकन तथा काठमाडौँ थियो । बिहान ७ः३० बजे हामी नुवाकोट र रसुवाको संगमस्थलमा रहेको बेत्रावतीतर्फ प्रस्थान गर्यौँ । ८ बजे हामी नेपालको अर्को ऐतिहासिक तथा धार्मिक स्थल बेत्रावती पुग्यौँ । इतिहासको कुनै कालखण्डसँग जोडिएका यस्ता भूमिहरू नै पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदा रहेछन् । नेपाल र तिब्बतबिचको युद्धपछि बहादुर शाह र तिब्बतबिचमा सो स्थानमा सन्धी भएको थियो । त्यसैले यस भूमिले पनि एउटा इतिहासको महत्वपूर्ण अभिभारा बोकेको छ । इतिहासको एउटा महत्वपूर्ण पाटोको अविस्मरणीय क्षणलाई शीरोधार्य गरेको छ । नेपालका ऐतिहासिक स्थानलाई बाहिरबाट जति गम्भिरतापूर्वक लिइन्छ, नेपाल सरकार तथा सम्बन्धित निकायले त्यसप्रति पटक्कै चासो दिएको पाइँदैन । हुनत नेपाललाई प्रकृतिले आफैँ पर्यटकीय क्षेत्र बनाइदिएको छ । स्वर्गीय भूमिका रुपमा उपहार दिएको छ तर हामीले त्यसको महत्वलाई बुझ्न सकेका छैनौँ । बेत्रावतीको अबस्थालाई देख्दा पनि यस्तै महसुस भयो । यो स्थान धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । नेपालको उत्तरगयाका नामले परिचत यो भूमिमा स्नान तथा श्राद्ध गर्न आउनेहरुको पनि घुँइचो लाग्ने गर्छ । पर्यटकीय तथा धार्मिक रूपमा परिचित यस भूमिमा पर्यटक आकर्षणका लागि जेजति हुनुपर्ने त्यति भएको पाइएन । यसको तुलनामा मकवानपुरमा भर्खर चर्चामा आएको कुश्माण्ड सरोबरलगायतका धार्मिक क्षेत्रले लिएको तिब्र विकास धेरै गुणा अगाडि छ । त्रिशुली र बेत्रावती नदीको संगमस्थलको भ्रमण तथा त्यहाँको कञ्चन पानीले शरीर सफा नगरे पनि  मन भने सफा र पवित्र बनाइदियो । सो स्थानमा फोटो खिचेपछि हामी फर्कियौँ र त्रिशूली जलविद्युत आयोजनाको पानी सङ्कलन गर्ने पोखरी तथा हाइड्रोपावरको अवलोकन गर्दै ११ः३० बजे पुनः सुखद होटलमा आइपुग्यौँ । त्यहाँ खाना खायौँ र १ बजेपछि काठमाडौँका लागि त्यहाँबाट हिड्यौँ । छहरे, लिखु नदी आदि स्थान हुँदै त्यहँँका खोला, पहाड, वनजङ्गल, घुमाउरो बाटो आदिको आनन्द लिँदै अगाडि बढ्यौँ । ठाउँठाउँमा परम्परालाई बिस्तारै बिर्सिएर आधुनिकताको खोल ओढ्न आतुर ग्रामीण बस्तीहरुको भरपुर आनन्दपूर्वक अवलोकन गर्दै हामी काठमाडौँतर्फ अगाडि बढि रह्यौँ । पहाडी उकालोमा बाटोमा रमाउँदै बसमा गीत गाउँदै तथा नाँच्दै हामी ४ बजे टोखा भञ्ज्याङबाट काठमाडौँ छिर्यौँ । बालाजु पुगेपछि रुट परमिटका लागि गाडी सीतापाइला गएपछि केही साथीहरु बलाजुमा बस्यौँ भने केही गाडीसँगै गयौँ । करिब ६ बजे हामी धुम्बाराहीमा रहेको होटल भिवोरमा पुगेर बास बस्यौँ । क्रमशः 






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17363730 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top