18 Nov 2019   |   
logo
अन्तर्वार्ता

माध्यमिक तहको संस्कृत विद्यालय आवश्यक छ



अन्तर्वार्ता   200 पटक पढिएको   ज्योति न्यौपाने   २०७६ भाद्र ११ बुधवार  

हेटौंडामा संस्कृत वेद विद्याश्रम सञ्चालनमा रहेको छ । गोरक्षेश्वर धाम राप्तीतटमा सञ्चालित हेटौंडाको एकमात्र संस्कृत वेद विद्याश्रममा १८ जना विद्यार्थी अध्ययनरत छन् । यहाँ संस्कृत शिक्षाका साथै ध्यानसमेत सिकाइन्छ । अहिले संस्कृत शिक्षाप्रति मानिसको आकर्षण कस्तो छ र वेदविद्याश्रम सञ्चालन कसरी भइरहेको छ भन्ने विषयमा ज्योति न्यौपानेले वेदविद्याश्रमका शिक्षक सन्तोष बाँस्कोटासँग गर्नुभएको कुराकानीः

सन्तोष बाँस्कोटा, शिक्षक, संस्कृत वेद विद्याश्रम

समाजः संस्कृत वेद विद्याश्रमको पछिल्लो अवस्था कस्तो छ ?

बाँस्कोटाः मैले काम गर्न थालेको चार वर्ष भयो । १८ जना विद्यार्थी छन् । त्यहाँ नियमित, ध्यान, योग र रुद्राभिषेक हुन्छ । ७ देखि ९ बजेसम्म दैनिक अनलाइन रुद्राभिषेक हुन्छ । हेटौंडा, पर्वत, सर्लाहीका साथै संस्कृत पढ्न इच्छुक व्यक्तिहरू विभिन्न स्थानबाट पनि आउने गर्छन् । १८ जना विद्यार्थीका लागि छात्रावासको पनि व्यवस्था भएको छ । गोरक्षेश्वरक्षेत्र विकासले बस्ने आवासको व्यवस्था मिलाएको छ । विद्यालयले कम्पाउण्ड गरेको छ । कक्षा कोठाहरू छन् । छात्रावासको अभाव छ । भोजनको रुपमा विभिन्न दाताहरूले सहयोग गरिरहेका छन् ।

समाजः सहयोगको भरमा खान बस्न कतिको सहज छ ?

बाँस्कोटाः संस्था र दाताहरूबाट सहयोग नआउँदा विद्यालयले नै भोजनको व्यवस्था गर्ने गरेको छ । जसमा विद्यार्थीको कुनै पनि शुल्क लाग्दैन । निःशूल्क रुपमा नै सेवा पुर्याइन्छ । इच्छुक संस्थाहरूले सहयोग गर्छन् भने इच्छा नभएकाहरुले सहयोग गर्दैनन् । हाम्रो धर्म, संस्कृतिको संरक्षण र समर्थन गर्नुपर्छ भने र धर्मप्रति आस्था भएका व्यक्तिहरू संस्कृत पढ्न आउने गर्छन् ।

समाजः संस्कृतलाई एउटा कर्मकाण्डको रुपमा मात्र हेरिन्छ या विशुद्ध भाषाको रुपमा पनि हेरिन्छ ?

बाँस्कोटाः संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो भाषा हो । संस्कृत भाषा अन्तरिक्षमा देवताहरूले बोल्ने भाषा हो । यो पवित्र भाषा हो । संस्कृत भाषा पढ्दा जीवन पनि पवित्र हुन्छ भन्ने मान्यता रहेको छ । सम्पूर्ण धर्म ग्रन्थ हामी भित्र नै छ त्यसलाई प्रस्फुटन गर्ने मात्र हो । जसलाई हामी संस्कृत अध्ययन गर्ने भने र गुरूकहाँ गएर चेतना जगाउने कार्य गर्छौं । ज्ञान र विज्ञानले भरिएको आत्मा हामीभित्र छ त्यसलाई खोल्ने माध्यम भनेको ध्यान हो । १९२ देशमा यो ध्यान सञ्चालित छन् ।

समाजः ध्यान सिकाउँदा त्यहाँको विद्यार्थीलाई मात्र सिकाउनु हुन्छ वा बाहिरका मानिसले पनि पनि सिक्न पाउँछन् ?

बाँस्कोटाः वेद विद्याश्रमका विद्यार्थीलाई निःशुल्क र बाहिरको विद्यार्थीलाई सशुल्क ध्यान सिकाइन्छ । एक हप्ताको कोर्ष हुन्छ पहिलो दिनलाई परिचयात्मक भाषण भनिन्छ । दोस्रो दिनको कोर्षलाई तयारी, तेस्रो दिनको कोर्षलाई शिक्षक साक्षात्कार, चौथो दिनलाई दिक्षाभाषण, पाँचौं दिनलाई पहिलो चेकिङ, छौठौं दिनलाई दोस्रो दिनको चेकिङ र सातौं दिनलाई तेस्रो दिनको चेकिङ भनिन्छ । सात दिनको कोर्ष गरेपछि ध्यान कसरी गर्ने भने बुझिन्छ । अहिले ८० वटा गुरुकुल छन् जसमा ८० वटा नै शिक्षकहरू रहेका छन् ।

समाजः ध्यानको महत्व के हो ? ध्यान किन सिकिन्छ ?

बाँस्कोटाः हामी सधैं क्रियाशील हुन सक्दैनौँ। हामीलाई विश्रामको पनि आवश्यकता पर्दछ । जुन विश्राम सृजनशील हुन आवश्यक छ । त्यस्तो विश्राम जब हामी ध्यान गर्छौ तब त्यो विश्राम प्राप्त हुन्छ । विचाररहित शून्यताको ध्यानलाई भावातित ध्यान भनिन्छ । त्यो शून्यतामा सम्पूर्ण कुराहरु रहेको हुन्छ ।

समाजः संस्कृत भाषा कस्तो भाषा हो ?

बाँस्कोटाः संस्कृत भन्नाले सम्यत कृत वा राम्रो प्रकारले गरिने सम्पूर्ण हो । संस्कृत पढ्न अति नै आवश्यक छ । संस्कृतमा नैतिकता पाइन्छ । वेद मूल ग्रन्थ हो यसले आदर र सदाचार सिकाउँछ । म ४ वर्षदेखि त्यहाँ काम गरिरहेको छु । हाम्रो त्यहाँ २४ घण्टै बस्ने व्यवस्था छ । १०—४ हाम्रो कक्षा सञ्चालन हुन्छ । बिहान ५ बजेबाट सन्ध्या योग हुन्छ ।

समाजः नियममा बस्न पर्ने यस्तो विद्यालयमा विद्यार्थीको टिकाउ कस्तो छ ?

बाँस्कोटाः हाम्रोमा अहिले १८ जना गुरुकुलमै बसिरहेका छन् । परिबन्दले गर्दा उनीहरु नियममा बसिरहेका छन् । नियममा बस्नु प्रकृतिको नियम हो । यसरी नियममा बस्दा हामीलाई लाभ मिल्ने हुनाले हामीले नियमको पालना गरेका हौं । हामीले कक्षा ६ देखि ८ सम्म पढाउछौं । एउटा कक्षामा १८—२० जना जति मिलाएर राख्ने गरेका छौं । हेटौंडामा एउटा माध्यमिक तहको संस्कृत विद्यालयको आवश्यकता रहेको छ । यसका लागि यहाँका बासिन्दाले नै पहल गर्नुपर्छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362875 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top