18 Nov 2019   |   
logo
विचार

सामुदायिक विद्यालय र अंग्रेजी माध्यमको शिक्षा



विचार   129 पटक पढिएको   कैलाश धिताल   २०७६ भाद्र ४ बुधवार  

देशभर सामुदायिक विद्यालय विद्यार्थीको मोह घटी संस्थागत विद्यालयतर्फ आकर्षण बढ्दो भए पश्चात अधिकांश सामुदायिक विद्यालय मर्ज वा बन्द हुने अवस्थामा पुगेपछि शैक्षिक उन्नयनका लागि सामुदायिक विद्यालयमा अनिवार्य रुमा प्राथमिक तहमा अंग्रेजी माध्यम सञ्चालन गर्ने निर्णय अनुसार देशभरमा अधिकांश विद्यालयले अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरेको इतिहास ज्वलन्त छ । शैक्षिक उन्नयनको नाममा सामुदायिक विद्यालय अनि शिक्षकको जागिर टिकाउन मात्र अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने योजना आएको अधिकांशको तर्क छ । यस्तो भइरहँदा, सबैभन्दा गम्भीर प्रश्न के रहन्छ भने, के साँच्चिकै सरकारी विद्यालयको अंग्रेजी माध्यमले गुणस्तरीय शिक्षाको ग्यारेण्टी गर्न सक्छ त ? के साँच्चै यसले शैक्षिक क्रान्तिको बिगुल फुक्छ त ?

पूरानै ढर्राको व्यवस्थापन, पुरानै शिक्षा, अनि नयाँ सुरुवातमा तादत्म्यता मिल्छ भन्नुको शाब्दिक सान्दर्भिकता के ? देशमा अझै पनि हजारौं शिक्षक एसएलसी भन्दा कम शैक्षिक योग्यता भएको पाइन्छ । एसएलसी र दश जोड दुई तह उत्तीर्ण मात्र शैक्षिक योग्यता भएका शिक्षकको जमात ठूलो रहेको परिवेशमा कसरी अंग्रेजी माध्यम परिवर्तनको सम्वाहक बन्न सक्छ ? जमानामा न्यूनतम शैक्षिक योग्यता हासिल गरेका शिक्षकले नवपरिवर्तनको परिणाममुखी शिक्षा दिने कुराको आम अभिभावकमा प्रत्याभूति दिलाउन सक्ने आधार के ?

संस्थागत विद्यालयको भन्दा उच्च कोटीको शिक्षा प्रदान गर्छु भनेर लाग्ने शैक्षिक संस्थासँग सरोकारवालाहरुले प्रश्न गर्न आवश्यक छ । सामुदायिक विद्यालयले भोग्नु परेको प्रशासनिक समस्याको समाधान बारे मार्गदर्शन गर्न प्रत्येक सामुदायिक विद्यालय प्रयत्नशील रह्नै पर्दछ । एक शिक्षक अवकाश प्राप्त गरी विदाई भए पश्चात वर्षौदिनसम्म रिक्त पद पुर्ती हुन नसक्ने हाम्रो देशको शिक्षा जगतले सामुदायिक विद्यालयबाट निरन्तर शिक्षा प्रदान गर्न सक्ने अवस्था रहन्छ या रहन्न यो सब कुरामा विमर्श गर्न जरुरी छ । एक संस्थागत विद्यालयले एक शिक्षकको पद रिक्त भएको भोलिपल्ट देखि नै कक्षा खाली नहुने निश्चित गर्न सरकारी निकायले नसक्नुका कारणहरु केलाउने बेला आएको छ ।

संस्थागत विद्यालयमा भन्दा उत्कृष्ट शिक्षा प्रदान गर्ने जुन योजना सरकारको छ यो एकदमै स्वागतयोग्य छ । यसो हुँदा विद्यालय बाहिर रहेका हजारौं बालबालिका शिक्षाको पारिलो घामबाट वञ्चित हुने अवस्थाको अन्त्य हुनेछ । पूराना शिक्षकहरु सबैबाट अंग्रेजी माध्यम संचालन गर्नु हात्तिको देखाउने दाह्रा जस्तै हो । यसले उत्कृष्टता प्रदान गर्दैन बरु विद्यार्थी र अभिभावक अनि सिङ्गो समाजलाई गुमराहमा राख्दछ । अहिले सामाजिक परिवेश सबै ठाउँमा एकै किसिमको छैन । अनेक जाति, भाषा अनि धर्म सम्प्रदायका मानिसहरु बीचको एकतमा हाम्रो समाज अडिएको छ । सामुदायिक विद्यालयमा अलिकति अनुशासन मा कडाई गर्नाले शिक्षक निरुत्साहित हुने अवस्था छ । निजी स्रोतका शिक्षक नराखी अंग्रेजी माध्यम चलाउन खोज्नु धमिलो पानीमा माछा मारे सरह हो । निजी स्रोतको शिक्षक राख्दा विद्यालयलाई व्ययभार पर्दछ उक्त व्ययभार कम गर्न न्युनतम शुल्क लिनै पर्ने अवस्था छ । र यसो गर्दा मुद्दा खेप्नुपर्ने अवस्थाले पनि सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने अवस्था रहेको छ । स्थानीय जनप्रतिनिधिले शिक्षा क्षेत्रलाई त्यती धेरै महत्व दिइएको पाइँदैन जसले गर्दा अंग्रेजी माध्यमको शिक्षाको नाममा विद्यार्थी माथि अन्याय भएको पाइने गरेको छ ।

यदि साँच्चिै नै गुणस्तरीय शिक्षा प्रदान गर्ने हो भने शिक्षा नीतिमा व्यापक हेरफेर हुन जरुरी छ । पूराना शिक्षकहरुलाई सम्मानकासाथ विदाई गरी नयाँ शिक्षक नियुक्त गर्नु आवश्यक छ । स्थानीय तहमाथि शिक्षा नीति निर्माण कार्यमा रोक लगाई राजनीतिक आधारमा हुने शिक्षक नियुक्तिलाई दुरुत्साहन गर्न सक्नुपर्दछ । सरकारले प्रत्येक स्थानीय तहलाई आफ्नो क्षेत्रको विद्यालयमा विनियोजन गर्नुपर्ने रकम तोकी दिनु आवश्यक छ । भर्ना अभियानलाई एक प्रभावशाली कार्यक्रमको रुपमा प्रस्तुत गर्न जरुरी छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा हुने प्रशासनिक जटिलतालाई तुरुन्त हटाई सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । शिक्षकको सेवा सुविधा वृद्धि गर्दा टार्गेट भर्सेस अचिभ्मेन्टको सर्त राख्न जरुरी छ । संस्थागत विद्यालयलाई शैक्षिक सुधारका लागि फरक शिर्षकमा सिकाई उपलब्धिका आधारमा सुविधा उपलब्ध गराउनु पर्दछ । कुनै शिक्षक अवकाश प्राप्त गरी विदाई भए पश्चात कक्षा खाली नहुने गरी योजना बनाएर अघि बढ्न जरुरी छ । अनि त्यो भन्दा ठूलो कुरा निजी स्रोतमा कार्यरत शिक्षकको न्युनतम पारिश्रमिक सरकारले तोक्न जरुरी छ । निजी स्रोतका शिक्षकले कक्षा कोठामा प्रवेश गर्दा म पनि यस विद्यालयको शिक्षक हुँ भनेर गर्वका साथ कक्षामा प्रवेश गर्न सकोस । केही पर्दैन यस्ता विविध कुरामा वृहत विमर्श गरेर योजना अघि बढाउन सकेको खण्डमा केही वर्ष भित्रमा नै प्रत्येक सामुदायिक विद्यालय भरीभराउ हुनेछन् ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17363472 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top