21 Aug 2019   |   
logo
राजनीति

राजनीति व्यावसायिक केन्द्र बन्दा मुलुक बिग्रियोः न्यौपाने



राजनीति   14 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः माक्र्सवादी चिन्तक एवम् राजनीतिकर्मी केदार न्यौपानेले राजनीति सबैभन्दा ठूलो समाजसेवाको केन्द्र हुनुपर्नेमा व्यावसायिक केन्द्रको रुपमा स्थापित हुँदै जाँदा मुलुक बिग्रिएको बताउनुभएको छ । प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरले शनिबार आयोजना गरेको माक्र्सवाद र साहित्य लेखन विषयक अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा सहभागी हुनुभएका न्यौपानेले राजनीति बिग्रँदा समाजका सबै पक्ष बिग्रने जीकिर गर्नुहुँदै समाजको समग्र हित सोँच्ने माक्र्सवादी दर्शन आम नागरिकले बुझ्नु पर्ने बताउनुभयो ।

संसारकै प्रमुख दुई राजनीतिक दर्शन मध्ये माक्र्सवादी राजनीतिक दर्शन आम सर्वसाधारणको हितमा उपयुक्त भएको दावी गर्नुहुँदै न्यौपानेले भन्नुभयो, ‘माक्र्सवादको उपयोग गर्न माक्सवादीले भन्दा माक्र्सवादको विरोधी अध्यात्मवादीले माक्र्सवादलाई बढी बुझे र त्यसको विरोधमा सक्रिय भए ।’ प्रगतिशील लेखनमा क्रियाशील भएकाहरुले विपन्न वर्गको पक्षमा लेख्नुपर्ने उहाँको भनाइ छ । प्रगतिशील समाज, वैज्ञानिक समाजवादको पक्षमा माक्र्सका दर्शनलाई प्रगतिशील लेखकले लक्षितसमूहसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुहुँदै न्यौपानेले भन्नुभयो, ‘लक्षितवर्गसँगको सम्बन्ध कमजोर भएका कारण लेखन कमजोर छ । माक्र्सवाद र प्रगतिशील समाजको परिकल्पना गर्ने गोर्की र लु सुनका रचना अहिले पनि पठनीय हुनुमा उनीहरुको सम्बन्ध लक्षित वर्गसम्म घनिष्ठ भएर हो ।’

अहिले वाम सरकारको विरोध गरे पनि यो सरकारले आत्मसात गरेको वैज्ञानिक समाजको विचारको विकल्प नभएको दावी गर्नुहुँदै न्यौपानेले यसमा भएका कमिकमजोरीलाई सुधारेर अगाडि बढ्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । प्रगतिशील लेखन र लेखकको व्यवहारमा समानता जरुरी हुने उहाँले स्पष्ट पार्नुभयो । माओ र लु सुनका अभिव्यक्ति र व्यवहारमा एकरुपता रहेको उल्लेख गर्नुहुँदै माक्र्सवादी सिद्धान्तका चार पक्षलाई स्मरण गर्नुपर्ने बताउनुभयो । माक्र्सवाद सत्यको पक्षमा हुनु, श्रमजीवी वर्गको पक्षमा हुनु, ज्ञानबाट व्यवहार र व्यवहारबाट ज्ञानलाई परिमार्जन गर्दै जानु, सिद्धान्त र व्यवहारमा सन्तुलन हुनुपर्छ भन्ने माक्र्सवादी सिद्धान्त महत्वपूर्ण भएको उहाँले स्पष्ट पार्नुभयो । नेपालमा गौतम बुद्धले व्याख्या गरेरका आदर्श नै आधुनिक समयमा माक्र्सले स्थापित गर्न सफल भएको दावी पनि नेता न्यौपानेको थियो ।

मजदुर वर्ग नै ईतिहासको रचनाकार, सभ्यताको मालिक र ईतिहासको मालिक भएको माक्र्सको दर्शन अनुकरणीय रहेको भन्नुहुँदै उहाँले माक्र्स, लेनिन, माओले आफूलाई भेट्न आउने धनाढ्यलाई भन्दा मजदुरलाई प्राथमिकता दिने गरेकोले उनीहरु वास्तविक नेताको रुपमा स्थापित हुन सफल भएको बताउनुुभयो । राजनीति र माक्र्स दर्शनको अध्ययन र भोगाईको अनुभव बताउनुअघि उहाँले आफ्नो अभिव्यक्तिको सार प्रस्तुत गर्नुहुँदै राजनीति शीर्षकको छन्दमा कविता वाचन गर्नुभएको थियो ।

प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरकी अध्यक्ष शान्तिप्रिय बन्दनाको अध्यक्षतामा भएको कार्यक्रममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, प्रलेस मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, प्रलेसका केन्द्रीय पार्षद् सुवास खनाल, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7370480 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top