21 Aug 2019   |   
logo
अन्तर्वार्ता

कुशल प्रशिक्षक भएर खेलाडि उत्पादन गर्ने मेरो योजना छ



अन्तर्वार्ता   17 पटक पढिएको   सुरेश श्रेष्ठ     

भलिबल खेललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेको छ । तर, राष्ट्रिय खेलले राष्ट्रको गरिमा बढाउने गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक ल्याउने अवस्था छैन । भलिबल खेल आम खेल जस्तै छ । आम रुपमा नेपालमा खेलकुदको विकासका आधार तय भएका छैनन् । खेलकुदको विकासको योजना पनि आशलाग्दो छैन । यस्तोमा केही समयअघि भलिबल खेलको महिला राष्ट्रिय टिम चयन गर्ने क्रममा तीव्र विवाद भयो । भलिबल खेल र विवादका विषयलाई लिएर मकवानपुरबाट राष्ट्रिय टिममा सहभागी भई पदक दिलाउन सफल चुँडा खड्कासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

तपाई सन् २००६ मा महिला भलिबल टिममा रहेर खेल्नु भयो । त्यतिबेलाको केहि अनुभव कस्तो रह्यो ?

खड्काः त्यतिबेलाको अनुभव सुनाउँदा म सिनियर खेलाडीहरुसँग खेल्दा केही गाह्रो र केही हौसला पनि मिलेको थियो । साथै म धेरै उत्साहित पनि थिएँ । मेरो सपना थियो राष्ट्रिय टिममा खेल्ने त्यो सफल भएकोले म एकदमै उत्साहित थिएँ । पहिलोपटकमै म राष्ट्रिय टिममा परेँ र त्यति बेलै कास्य पदक जित्न सफल भएँ । अहिलेको राष्ट्रपति रनिङशिल्ड भनेर आयोजना गरिने प्रतियोगिता त्यतिबेला बीरेन्द्रशिल्ड प्रतियोगिता भन्ने हुन्थ्यो । त्यसबाट छनोट भएका खेलाडीले फेरी केन्द्रमा गएर जिल्लाको खेलाडीहरुसँग प्रतिस्पर्धा गरेर छानिएपछि राष्ट्रिय टिममा परिन्थ्यो । त्यसरी नै प्रतिस्पर्धा गर्दै छनोट हुँदै म मकवानपुर जिल्लाबाट राष्ट्रिय भलिबल टिममा पर्न सफल भएँ ।

कति समय तपाई राष्ट्रिय टिममा रहनुभयो ?

खड्काः म २०६३ सालदेखि राष्ट्रिय टिममा खेल्न थालेँ । त्यस बेलाबाट बीचमा केहि समय खेल्न नपाए पनि मैले एक दशक राष्ट्रिय टिममा रहेर बिताएँ । त्यसपछि अहिेले म राष्ट्रिय टिममा सक्रिय छैन । म अहिले नेपाल प्रहरीमा सेवारत छु । 

भलिबलको राष्ट्रिय टिमको छनोट प्रक्रियामा केही दिनअघि विवाद देखियो । तपाई राष्ट्रिय टिममा रहँदा पनि यस्तो विवाद भए या भएनन् ?

खड्काः खेलाडीको छनोट प्रक्रियामा जहिले पनि दुई पक्ष रहन्छ । जो खेलाडी छनोट हुन्छ उ खुशी हुन्छ र जो पर्दैन उ निरास हुन्छ । यो स्वभाविक हो । केहि समयदेखि यो भलिबललाई लिएर पनि केहि विवाद देखिएको छ । यो विवाद पनि राष्ट्रिय टिममा रहेको खेलाडीहरु एकै पटक निस्कनु पर्ने भनेर पनि विवाद भएको हो । यसमा चाहिँ म छनोट गर्ने समितिको पनि कम्जोरी देख्छु । किनभने अहिले उमेर हेरेर छनोट गरियो भनिएको छ । त्यसो हो भने उमेर पहिले नै तोक्नु पथ्र्यो । अगाडि नै छनोटका आधार नतोक्दा वर्षैंदेखि भलिबलमा लागेको मान्छेलाई खेल चटक्क छोडनु पर्ने भएकोले विवाद सिर्जना भएको हो ।

तपाई सक्रिय खेलाडी हो तर केही समय निष्कृय रहनुभयो । अबको तपाईको योजना के छ ?

खड्काः म केहि समय भलिबल खेलको सक्रिय जीवनबाट टाढा भएको मात्र हुँ । म पनि भलिबलको एक सदस्य हुँ । त्यसैले पनि म भलिबलबाट चटक्कै टाढा हुँदिन । अहिलेको यो छनोटमा मसँगैको साथीहरु नपर्दा आफैं नपरेको जस्तो महसुस भइरहेको छ । जुन खेलाडी राम्रो खेल्थ्यो उसलाई अत्यन्तै अनादार भएको छ । मैले यो खेल जीवनबाट जति पनि अनुभवहरु पाएँ र राष्ट्रिय टिमबाट पदक पनि ल्याएँ । मेरो भावी योजना भनेको भलिबल क्षेत्रमा सक्रिय रुपमा नै योगदान दिने हो । एउटा सक्रिय खेलाडीको रुपमा त मैले खेलिसकेको छ र अब एउटा कुशल प्रशिक्षक भएर खेलाडि उत्पादन गर्ने मेरो योजना छ । मेरो मुख्य योजना चै मेरो एउटा ट्रेनिङ सेन्टर होस्, जोसँग खेल्ने चाहना छ र परिवारबाट, परिवारको आर्थिक समस्याबाट खेल जीवनमा आउन बञ्चित भएकालाई खेल जीवनमा आउन सहयोग गर्ने मेरो योजना छ ।

भलिबल खेलको अबको भविष्य कस्तो देख्नुहुन्छ ?

खड्काः मेरो यो १५ वर्षको अवधिमा हेर्दा पनि खेल क्षेत्रमा हेर्दा त्यति परिवर्तन भएको जस्तो लाग्दैन । जस्तै खेलाडीहरुले यो क्षेत्रमा लाग्दै आयो तर अब के गर्ने भनेर भविष्यबाट अलमलिएको जस्तो छ । अहिलेको छनोट प्रक्रियाले खेलाडीहरुलाई निराशाजनक अवस्था सिर्जना गरेको छ । यसलाई सच्याउन र सुधार्न जरुरी देखिन्छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7363309 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top