12 Dec 2019   |   
logo
राजनीति

ठेकेदारलाई पुरस्कारको व्यवस्था हुनुपर्छ



राजनीति   137 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसँग भएको छलफलमा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई जरिवानाको व्यवस्थामा कडाई गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले निश्चित समय ठेकेदारले आयोजना मर्मत गर्ने नीति ल्याउन पनि प्रदेश सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । काम सुरु गर्न भनी (मोबिलाईजेसन) रकम लिएर पनि कतिपय ठेकेदारले काम नगरेको जीकिर गर्नुहुँदै उहाँले भन्नुभयो, ‘मोबिलाईजेसन रकम लिएर कतिपय ठेकेदार सम्पर्क बाहिर रहने गरेका छन् । अब मोबिलाईजेसन रकम बिनै काम गर्ने नीति ल्याउने विषयमा छलफल भईरहेको छ ।’ यसैगरी व्यक्तिलाई मुआब्जा दिएर नयाँ संरचना बनाउन नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो । मुआब्जा दिएर प्रदेश सरकारले सडक बनाउन नसक्ने उहाँको भनाइ थियो । अवस्था हेरेर अब सरकारले मुवाब्जा दिने होइन लिनुपर्ने अवस्था आउन थालेको उहाँले बताउनुभयो । सरकारले बनाउने विभिन्न संरचना निर्माणसँगै विकास निर्माण प्रक्रिया अगाडि बढ्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

राज्यले लगानी गरी सडकलगायतका संरचना बनाउँदा व्यक्तिको सम्पत्तिको मुल्यांकन बढ्ने हुँदा सोहि अनुपातमा राज्यलाई सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । मुआब्जाका बखेडा झिक्ने ठाउँमा प्रदेश सरकारले लगानी गर्न नसक्ने पनि उहाँले स्पष्ट पार्नुभयो । यस्ता क्रियाकलापले राज्य कमजोर हुने र व्यक्ति धनी हुँदै जाने परिपाटि बन्ने उहाँको भनाइ थियो । अहिले प्रदेश सरकारले ट्र्याक खोलिसकेको बताउँदै अब विकासको गति तीव्र रुपमा अगाडि बढ्ने बताउनुभयो । ३ नम्बर प्रदेश सरकार नमूनाका रुपमा लैजान लागेको जानकारी दिँदै महत्वपूर्ण रुपमा रहेको प्रदेशमा उदाहरण हुने गरी काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. रामचन्द्र ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब कौशलकिशोर झा सहभागी हुनुहुन्थ्यो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19200238 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top