21 Aug 2019   |   
logo
विचार

पद महात्म्य



विचार   365 पटक पढिएको   ऋषिराम पोखरेल ‘वकिमेह’     

तपाईसँग जतिसुकै विद्वता वा वौदिकता किन नहोस् पद छैन भने यी सबै मितज्यूको सयवुद्धि भन्ने नीतिकथामा जस्तै काम नलाग्ने हुन्छन् । त्यसैले आफ्नो टाउको भेटी चढाएरै भए पनि कतिपय मानिसहरु पदमा आसिन हुन्छन् । पद भनेको ओहोदा हो, जसले स्याललाई बाघ बनाइदिन सक्छ । पद पाउनासाथ मानिस विद्वान, बुद्धिमान, विवेकवान सबैथोक एकैचोटि हुन सक्छ । तपाईले उसका थाङ्ने गन्थनलाई गहकिलो तर्क वा उम्दा विचार मानेर सुन्नुपर्छ । ‘जितल जुवाडी पण्डित होई’ भन्ने मैथली उखानमा भने जस्तै पद पाउनासाथ मान्छे सबै चिजको ज्ञाता बन्छ ।

 लोकतान्त्रिक आन्दोलनको विपक्षमा उभिएर कुख्याती कमाएका कुमान्छे पनि परिवर्तनपछि लोकप्रिय भएका परिवर्तनकारी दलभित्र रातारात प्रवेश गरी लोकतान्त्रिक मूल्य मान्यताका बारेमा भाषण फलाक्छ । अरुले त्यो भाषण सुन्ने अभिषप्त हुनुपर्छ । कारण एउटै छ, उसँग पद छ ।

नेपालमा पदको महात्म्य ठूलै छ । त्यसैले लिटो खानेदेखि लिएर पिठो खानेसम्मका व्यक्तिहरु पदको पछि लागेका हुन्छन् । भोली सरकार विघटन हुँदै छ भन्ने जान्दा जान्दै पनि मन्त्री पदको शपथ खानको लागि दौरा, सुरुवाल र कोट टोपीमा ठाँटिएका मेरो एउटा भुतपूर्व विद्यार्थीलाई राजधानी जान लागेको बेला मैले अचानक भेटेँ र सोधेँ, ‘बाबु, आज एकदिनको लागि मन्त्री भएर के गर्छौ ? भोलि चट् भै हाल्छ ।’ ‘हया सर, हजुरलार्ई यस्तो कुरा थाहै छैन‘, उसले भन्यो, ‘म एकदिन मात्र पनि मन्त्री भएँ भने मेरो थर, गोत्र नै परिवर्तन हुन्छ । हजुर पनि मन्त्रीलाई पढाउने गुरु हुनुहुन्छ । मेरा आफन्त, मेरो घर, कुकुर सबैको अगाडि मन्त्रीजीको भन्ने विशेषण जोडिएर आउँछ । यसो गर गोष्ठिमा, सर सेमीनारमा निम्तिएँ भने मोटै खाम हात लाग्छ । नर निम्ता, ड्यासकल नमस्ते गनी साध्य हुँदैन । फेरी आफन्तको राम्रो ठाउँमा विहे पनि सजिलै गराउन सकिन्छ ।

पद भनेको चाहेर मात्र पाइने कुरा होइन । पद प्राप्तिका लागि सबै अनुष्ठान पुरा गर्नुपर्छ ।’ एकजना भुक्तभोगीले बताए, ‘अलिकति पनि त्रुटि भयो भने मुखमै आइसकेको पद अरुले नै छड्काइदिन्छ ।’ पद प्राप्तिका लागि हत्केलाका भुत्ला त झार्नै पर्छ । त्यसबाहेक अरु पनि धेरै क्रियाकलाप हुन्छन् । पददाता जिम्दार जस्ता हुन्छन् । पदापेक्षीहरु मोही जस्ता हुन्छन् । पदतर्फको पहुँचपथ प्रसस्त गर्नको लागि पदापेक्षीले केही प्रचलित पदावली प्रयोग नगरी हुन्न । ‘हस, हुन्छ, हजुर, के भनी बक्सेला भने, सर हजुरको टाइगरले हप्तामा कतिपटक मासु खान्छ रु म्याडमले भने जस्तो गरी तारेको तरकारी कति स्वादिलो भयो कति । सर जस्तो त्यागी जोगीलाई नकारात्मक ढंगले खिल्ली उडाउने त्यो पत्रिका नै होइन आदी आदी’ प्रचलित पदावली हुन् । फेरी यस्ता पदावली प्रयोग गर्दा शारीरिक हाउभाउ (वडी ल्याङग्वेज) को प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । 

कुन सर कति भुटुनमा चिप्लिन सक्छ भन्ने ज्ञान त्यसको व्यवहारमा समुचित प्रयोग पनि पद प्राप्तिको प्रयत्नमा कोसेढुंगा सावित हुन सक्छ । आफ्नै बारीको भनेर आँप, भुईकटहर, लिची, लौकाट, वंगुर र ठूलो खसीलाई कालिज, वदेल र जरायो भनेर आफ्नै बारीको बाँसको तामा र खोलाको लोकल माछा भनेर पददाता कहाँ पुर्याउन पनि पद प्राप्तिको प्रभावकारी माध्यम हो । पदको कारोबार गर्ने व्यक्तिको मूड, मस्तिष्क र मनोभाव अनुसार धुप, अक्षता पनि जरुरी हुन्छ । कतिपयले त नक्कली नखरमाउली कालिज कोरली पनि खोज्छन् । यी सब कुराले त्यो बेलासम्म काम दिन्छ जुनबेलासम्म अमुक पदको दावीकर्ता पददाताको सहोदर नातेदार हुँदैन । पार्टी भित्रको गुट राजनीति चलाउन पनि पदले ठुलै अस्त्रको काम गर्छ । यसको लागि गुटियारको खुराफाती वुद्धि मात्र होईन विशाल तिघ्रा पनि हेरी सोही अनुसारको पद छुट्याउन पर्ने हुन्छ । नत्र अर्कै गुटको नेता हामी भएर पदको खटन पटन गर्ने ठाउँ पुगेर फाईदा लिई दिन्छ ।

कतिपय पदहरु विक्रीका लागि राखिएका हुन्छन् । यसका लागि कारोबारीले गोप्यरुपमा टेण्डर आव्हान गर्छ । पद पाउन लाग्ने खर्च र पाएपछि हुने आम्दानीको राम्रो लेखाजोखा गर्न सक्नेले मात्र बढाबढमा आफ्नो श्रेष्ठता हासिल गर्न सक्छ । कसै कसैले आउने जाने बराबरी भए पनि सम्भाव्य सामाजिक हैसियत हेर्छन् । यदि त्यो सामाजिक हैसियतमा टेकेर आफू पनि पद कारोबारी बन्न सक्ने सम्भावना देख्यो भने पदापेक्षीले पैसा हेर्दैन । मात्र योग्यताको भरमा पद पाउँछु भन्नु बालुवा पेलेर तेल निकाल्नु जस्तै हो । पदका लागि योग्यताको भरमा पदका लागि योग्यताले धेरै बाधा व्यवधान पार गर्दै लामो यात्रा तय गर्नु पर्छ । नेपाली कामदारको माग विदेशी श्रमबजारमा दिनहुँ बढिरहेको छ । अहिलेको नेपालमा योग्यताको दम्भ त्यागौं । जस्तो सुकै कामको लागि तयार होऔं ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7363855 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top