21 Aug 2019   |   
logo
विचार

के चाहन्छन् बालबालिका ? के गर्छौं हामी ?



विचार   286 पटक पढिएको   सुदीप गिरी     

बालबालिका चटकेका बाँदर जस्ता होइनन् जो आफ्ना हरेक क्रियाकलापको लागि बाँदरले जस्तै चटकेको आदेशको प्रतीक्षा गरोस् । बालबालिकासँग त असिम योजना हुन्छ जसलाई उ प्रयोगद्वारा सिद्ध गर्न चाहन्छ किनकि उ सुनेको भन्दा देखेको र देखेको भन्दा भोगेको कुरामा बढी विश्वास गर्दछ ।

उ तपाइँले देखाएको कम र आफुले पत्ता लगाएको बाटो बढी हिँड्न चाहन्छ । उ नयाँ खेल खेल्न चाहन्छ । उ नयाँ ठाउँ पुग्न चाहन्छ । उ नयाँ खानेकुरा चाख्न चाहन्छ । उ आफैँले नयाँ कुरा पत्ता लगाउँदा, देख्दा, भेट्दा, चाख्दा, वा अनुभव गर्दा सबैभन्दा पहिला दौडेर आएर तपाइँलाई बताउन चाहन्छ । कति पटक त तपाइँलाई बताउन दौडिएको पनि हुन्छ तर तपाइँ छेउ आइपुग्दा नपुग्दै उसले आफ्नो अनुभवलाई तपाइँको आँखाले हेर्छ, तपाइँको सोचले सोच्छ, तपाइँको व्यवहारले खोतल्छ अनि त्यति गरिसक्दा उ अति शिघ्र नै एउटा निश्कर्षमा पुगिहाल्छ कि उसको त्यो उत्साहले प्रशंसा, स्याबासी पाउनेवाला छ वा तपाइँको रिसको सिकार हुनेवाला छ । यदी उसलाई लाग्छ कि उसको त्यो कामले स्याबासी पाउनेवाला छैन बरु बद्लामा विभिन्न गाली खाने सजाय पाउनेवाला छ तब त्यसैको डरले उसले आफ्ना सबै उत्साह अनुभव र प्रयोगको निश्कर्षलाई गाँठो पारेर मन भित्रको कुनै कुनामा लगेर ताला लगाउँछ र तपाइँले उसले के गरेको हो थाहा नपाओस् भनेर कृत्रिम व्यवहार प्रकट गर्दै तपाइँको अघि एउटा ज्ञानी बच्चा बनेर बसिदिन्छ वा त्यस्तै तपाइँलाई मनपर्ने कुनै व्यवहार देखाउँछ । अझ तपाइँलाई खुशी पार्न उ किताब खोलेर घोत्लिए झैं गरिदिन्छ । कलम समाएर लेखिदिए झैं पनि गर्छ तर मानसिक रुपमा उ त्यही खेल खेल्ने चौरमा हुन्छ, त्यही नयाँ स्वादमा हुन्छ, आफ्नो नयाँ खोजमा हुन्छ वास्तवमा भन्ने हो भने उ आफ्नो प्रयोगमा हुन्छ, उ आफ्नो योजना भित्रै हुन्छ । त्यो भन्दा बाहिर रत्ती पनि हुँदैन ।

यही बीचमा उसले तपाइँद्वारा अह्राइएका धेरै थोक उसले गर्छ, धेरै कुरा उसले मान्छ, तपाइँ मख्ख पर्नुहुन्छ । यसरी तपाइँ मख्ख परिरहँदा उ भन्ने दिक्क परिरहेको हुन्छ । तपाइँलाई उ सहि बाटोमा छ भन्ने लागिरहँदा उसलाई भने उ सहि बाटोमा पुग्न सकिन भन्ने लागिरहेको हुन्छ । विश्वास गर्न गाह्रो लाग्छ तर यस्तो व्यवहार हामिले कल्पना गरे भन्दा धेरै साना उमेरका बच्चाहरुले देखाउने गर्दछन् । बालबालिका हामीले सोचे जस्तो अनाडी हुँदैनन् बरु कतिपय अवस्थामा उनिहरु अनाडी भनी सोँच्ने हाम्रो सोँच चै अलि कमसल हुन्छ । यो सबै तपाइँले उप्रति देखाउने गर्नुभएको व्यवहारमा निर्भर रहेको हुन्छ अर्थात तपाइँले उसका साना साना उपलब्धिलाई कसरी हेर्ने गर्नुभएको छ, उसका जिज्ञासा र प्रश्नहरुमा कस्तो प्रतिक्रिया देखाउने गर्नुभएको छ त्यसले नै उसलाई तपाइँको नजिक वा टाढा बनाइरहेको हुन्छ । तपाइँलाई तपाइँको बच्चाले कम प्रश्न सोध्दा वा सोध्दै नसोध्दा वा उ कम बोल्ने हुँदा उसलाई शान्त भएको वा ज्ञानी बच्चा भएको संज्ञा दिनु र स्याबासी दिने गर्नुभएको छ भने यसले कतिपय अवस्थामा उसलाई प्रश्न सोध्न र जिज्ञासा राख्नको लागि निरुत्साहित गरिरहेको हुन्छ । त्यसैगरी तुलनात्मक रुपमा अलि बढी प्रश्न सोध्ने बालबालिकाहरुको हकमा भने प्रश्न सोधिने व्यक्तिले झिँजो मानेर ‘कत्ती कचकच गरेको एकछिन चुपो लागेर बस्न सक्दैनस्’ भन्ने खालका प्रतिक्रिया दिनुले पनि बालबालिकालाई प्रश्न सोध्न हतोत्साहित गराउने गर्छ ।

यहाँ तपाइँ भनिएका पात्रहरु अरु कोही नभएर बच्चाका बाबुआमा, दाजुदिदी, साथीभाई, इष्ट–मित्र, छिमेकी र सम्पूर्ण शिक्षक, शिक्षिकाहरु नै हुन् । 

डरले सिकिन्छ भन्ने परम्परागत अन्धविश्वास कमसेकम मानव जातिको स्वच्छन्द शिक्षामा भने पटक्कै लागू हुँदैन । डरले अरुको लागि गरिन्छ अनि मनले आफ्नो लागि । तपाइँहरुले गर्नुभएका कतिपय कुराहरु उसलाई मन नपरिरहेको हुन्छ । तपाइँका कतिपय व्यवहारहरु पनि उसलाई मन नपरिरहेको हुन्छ तैपनि उसले तपाइँलाई त्यो कुरा भनिरहेको हुँदैन किनकी उ भित्र एउटा डर हुन्छ कि तपाइँले उसको प्रतिक्रियालाई नकारात्मक ढंगले लिने पो होकी । त्यही डरले उ चुपचाप सबै सहन्छ । यो हामीले सोचे भन्दा धेरै सानो उमेरको बच्चाले समेत प्रयोगमा ल्याउँछन् भन्ने कुरा मेरो अनुभवले बताएको कुरा हो ।

एकदिन एकजना अभिभावक म कहाँ आउनुभयो र एउटा अति नै चाखलाग्दो विषय म सामु राखेर जानू भयो । करीब तीन वर्षकी उहाँकी छोरीले सधैं लैजाने गरेको टिफिनमा खाजा लैजानै मानिनन् र अर्को टिफिन किन्दिन भनिछिन् । टिफिन नयाँ नै भएकोले उनको आमाले बच्चालाई गाली गर्दै त्यही टिफिनमा खाजा हालेर पठाइदिन थाल्नु भएछ । पहिले–पहिले स्कुलबाट फर्केर घर आउनासाथ भोक लाग्यो नभन्ने ती सानी नानीले त्यसदिनदेखि घर आउनासाथ भोक लाग्यो भन्न थालिछिन् । खाजा खाइनन् कि भनेर हेर्दा टिफिनमा खाजा पनि सकिएकै हुँदोरहेछ । करीब एकहप्तासम्म यो प्रक्रिया यसैगरी चलेछ । एकहप्ता पछि उहाँ विद्यालयमा शुल्क बुझाउन आउँदा हाँसोको रुपमा यो कुरा मलाई बताइरहनुभएको थियो । अनि भन्दै हुनुहुन्थ्यो अचेल धेरै खन्चुवा भएकी छे मेरी छोरी ।

तर मलाई भने त्यो कुराले पिरोल्यो । यो विषय उहाँले भने जस्तो सजिलो थिएन भन्ने अनुमान मैले गरेँ र त्यो बच्चासँग धेरै नजिक भएँ, उसको विश्वास जितेँ अनि त्यसपछि भनेँ, तिम्रो टिफिन कस्तो नराम्रो है ? उनले पनि हो भनिन् र सँगै भनिन् यो टिफिनमा त मिसले भात खानुहुन्छ । म स्तब्ध भएँ । त्यसपछि त्यस्तै रंग रुपको अर्को टिफिन किनिदिने कुरो गरेँ उनले हुन्न भनिनन् । बरु निक्कै खुशी भइन् र आफुसँग भएको त्यो टिफिन भुइँमा फ्याँकिदिइन् ।

एकहप्तासम्म त्यो सानो नानीले घर गएर भोक लाग्यो भन्नुको कारण उनले त्यो टिफिनको खाजा नै खाँदिन रहिछन् । बरु चलाखीपूर्ण ढंगले साथीहरूलाई बाँडिदिने र बढी भएको डस्टबिनमा हालिदिने रहिछन् । यो कुरा घरमा भने आमाले गाली गर्ने भएकोले उनले कहिल्यै भनिनन् ।

एकपटक नयाँ टिफिन किन्न त भनेकी थिइन तर उनको आमाले त्यो कुरा ठाडै नकारीदिईन् । त्यसपछि अरु कुरा भन्ने आँट उनमा फेरि आएन ।

यसबाट यो प्रमाणित हुन्छ कि ? साना बालबालिकाको पनि आफ्नो भावना हुन्छ । उनीहरु मात्र ठुला मानिसका भावनाका दास होइनन् । उनीहरु पनि आफ्नो चाहना र अभिमतको कदर होस् भन्ने चाहन्छन् । उनीहरुलाई पनि छनौटको सुविधा होस् भन्ने चाहन्छन् । 


यो घट्नामा गलत के के र कहाँ कहाँ भयो ?

१) यो सानो बच्चा त हो यसको के भावना हुन्छर भनेर मिसले उनको अनुमती बिना टिफिनमा खाना खाइदिनु ।

२) सायद कक्षाकोठामा बच्चालाई गाली गर्ने, थर्काउने र कहिलेकाही पिट्ने खालको व्यवहार हुनु ।

३) छोरीले अचानक किन नयाँ टिफिन किन्न भनेकी होला भनेर बुझ्न नखोजेर उल्टै गाली गरेर सानो बच्चा सम्झेर आमाले जबर्जस्ती त्यही टिफिनमा खाजा हालिदिनु ।


परिणाम के भयो ?

१) उनको भावनाको कदर नहुँदा उनलाई साह्रै चित्त दुख्यो र उनले तुरुन्तै आफुले गर्न सक्ने एउटा निर्णय लिइन त्यो हो त्यस टिफिनमा अबदेखि नखाने ।

२) मिसको डरले गर्दा मिसलाई टिफिन दिन्न भन्न सकिनन् अनि आमालाई मिसले टिफिनमा खाना खाने गरेको कुरा भन्यो भने मिसले कुट्न सक्ने डरले गर्दा त्यो पनि भन्न सकिनन् ।

३) आमाको डरले गर्दा आमाको कुरा नमान्न सकिनन् र त्यही टिफिनमा खाजा लगिरहिन् तर खाइनन् किनकी खाजा नलानु उनको वसमा थिएन तर खाजा नखानु उनको वसमा थियो जुन उनले गरिछोडिन् ।

४) खाजा घर फर्काएर लान पनि सकिनन् किनकी त्यो आमाको भावना विपरित हुन्थ्यो जसको परिणाम उनले अनुमान गरिसकेकी थिइन् त्यसैले उनले टिफिन खाली नै घर लगिन् ताकी उनको आमाले टिफिन खायो भन्ने ठानुन् ।

यो प्रतिनिधि घटनाले गर्दा बालबालिकामा शिक्षकप्रति नकारात्मक भावना उत्पन्न हुँदा उनका आगामी शैक्षिक प्रगतिमा बाधा पुग्ने कुरा अवश्यम्भावी छ । त्यसैगरी आफ्नी आमाको त्यो व्यवहारले आगामी दिनमा ती बालिकाले धेरै कुराहरु आमालाई नभन्नुको सम्भावना पनि उत्तिकै हुन्छ जसले उनको समग्र जीवन पद्दतिमा नै खलल पुर्याउन सक्छ ।


गर्नुपर्छ के ?

१) बालबालिकाका कुराहरु चाखपूर्वक सुनिदिने, सकेसम्म उसका हरेक प्रश्नको उत्तर दिने कोशिष गर्ने ।

२) केही राम्रो गरेका भए ताली बजाइदिने, स्याबासी दिने वा चकलेट इत्यादि दिएर उसको हौसला बढाइदिने ।

३) नराम्रो वा केही गलत गरे जस्तो लागे शान्तपूर्वक त्यसको परिणाम र प्रभावको बारेमा जानकारी दिँदै त्यो नराम्रो हो भनेर बुझाइदिने र सके त्यसमा मेलखाने कथा सुनाउने, र त्यो फेरि नगर्न सुझाउने ।

४) जबसम्म बालबालिकाले विद्यालयका वा बाहिरका क्रियाकलापका विषयमा तपाइँसँग खुलेर कुरा गर्दैन तबसम्म तपाइँको यो प्रयास जारी नै राख्ने ।

५) बालबालिकाले कुनै नयाँ प्रसंग उठाउँदा त्यसलाई ठाडै नकार्नुको साटो नम्र भएर त्यसलाई सुन्ने र त्यसको कारण पत्ता लगाउने त्यसपछि कुनै वैकल्पिक उपाय खोजी उनीहरुको चित्त बुझाउने कोशिष गर्ने ।

६) बालबालिकाको आत्मसम्मानको ख्याल गर्दै उनीहरुको निर्णयको कदर गर्ने ।

उल्लेखित कुराहरुलाई पछ्याउन कुनै शुल्क तिर्नुपर्दैन र असम्भव पनि देखिँदैन । तर, यसका लागि अभिभावक वा सम्बन्धित पक्षले आफुलाई संयमित राख्नुपर्ने आवश्यकता भने टड्कारो देखिन्छ । यसो गर्न सके हाम्रा बालबालिकाको सृजनात्मक प्रगति मात्र हैन अन्य धेरै आचरणहरुमा समेत सकारात्मक परिवर्तन आउने कुरामा दुईमत हुनेछैन ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7366600 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top