21 Nov 2019   |   
logo
सम्पादकीय

लागूऔषधको महामारी



सम्पादकीय   1100 पटक पढिएको   सम्पादकीय     

मकवानपुर प्रहरीले तीन महिनामा लागूऔषधसहित ४४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २०७६ साल बैशाखदेखि असार मसान्तसम्ममा ३२ वटा मुद्दाहरुमा ४४ जनालाई लागुऔषध तस्करी मुद्दामा पक्राउ गरेको छ । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा लागुपदार्थ ओसारपसारको हब बन्दै प्रहरीले सार्वजनिक गरेको तथ्यांकहरुले देखाएको छ । भिआईपीदेखि आम नागरिकको सुरक्षाका अतिरिक्त प्रहरीले पछिल्लो समय लागुपदार्थ ओसारपसारलाई नियन्त्रणमा उल्लेख्य मुद्दा चलाएको छ । तर प्रहरीको सक्रियताका अतिरिक्त ओसारपसार र कारोबारको संख्यामा कुनै कमि आएको छैन । विश्वव्यापी साझा समस्याको रूपमा रही आएको लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा परेको छ । पछिल्लो समय हेटौंडामा पनि लागुऔषधको ठूलो गिरोह सक्रिय रहेको विश्लेषणमा प्रहरी सक्रिय हुँदै आएको देखिन्छ । प्रहरीको सक्रियतासँगै कारोबारीहरुले आफ्ना गतिविधिका तरिकामा समेत परिवर्तन गर्ने गरेका छन् । त्यसले पनि थप चुनौती थपिएको छ । हेटौंडामा नै पछिल्लो ३ वर्षयता लागुऔषध गाँजा, चरेश, खैरो हिरोइन, अफिम ठूलो मात्रामा बरामद हुँदै आएको छ ।

लागुपदार्थको वर्तमान स्थितिलाई हेर्ने हो भने १४ देखि २४ वर्ष उमेर समुहका युवा सक्रिय भएको पाईएको छ । यो कुलत हो भन्ने जानकारी हुँदा हुँदै पनि युवाको ठूलो संख्या यसको दलदलमा फसेको पाईन्छ । लागुपदार्थ न्यूनीकरण गर्नका लागि राज्यले मात्र सम्भव छैन । यसको लागि हेरक समुदाय संघ, संस्था र हरेक व्यक्ति आफैँ लाग्नुपर्छ । अनि मात्र हामी लागुपदार्थरहित सभ्य समाजको परिकल्पना गर्न सक्छांै । वर्तमान महत्वपूर्ण आवश्यकता भनेको लागुपदार्थको उत्पादन, ओसारपसार र यसको मागलाई घटाउनु हो । यसका लागि राज्य पक्षबाट विभिन्न खालका कार्यक्रमहरु ल्याउन जरुरी छ । राज्य पक्षबाट लागुपदार्थ उपचार केन्द्रको स्थापना गरिनुपर्छ । सँगसँगै लागुपदार्थ दुव्र्यसनीबाट मुक्त भएकाहरुलाई सम्मानपूर्वक समाजमा स्वागत गर्नुपर्छ । प्रयोगकर्ताले लागुपदार्थ छाडिसकेपछि उसले आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने भनेर उसँग कुनै आधारहरु हँुदैनन् । उनीहरुको लागि सीपमूलक तालिम, ज्ञान, रोजगारीको वातावरण सिर्जना गर्नु पनि आवश्यक छ ।

लागूपदार्थको ओसारपसार वा प्रयोगमा नियन्त्रणको प्रयास मात्रले समाधान हुन सक्दैन । युवा किन यस्तो कुलतमा पस्छन् भन्ने विषयमा राज्य, समाज र अभिभावकहरुले गम्भीर हुनु आवश्यक छ । ज्ञान, सीप र रोजगारीको अभावमा युवाले विकल्पका रुपमा कुलतको बाटो लिएको देखिन्छ । युवाको बानी व्यवहारमा परिवर्तन गराउनु आजको चुनौती बनेको छ । यस्तै लागुपदार्थ प्रयोग गर्न छाडेका युवा पुनः फर्किएको तितो यथार्थ हो । जोखिममा रहेका समुदायलाई लागुपदार्थको प्रयोगसम्म पुग्न नदिनु लागुपदार्थको लतमा फसेको व्यक्तिलाई उपचारको पहुँचसम्म पुर्याउनु र उसलाई ज्ञान, सीप र क्षमतासहित समाजमा पुनस्र्थापित गराउनका लागि राज्यका तीनै तहका सरकारहरुसँग स्पष्ट नीति तथा योजना आवश्यक छ । भौतिक संरचना निर्माणलाई मात्र विकास ठान्ने मनोवृत्ती परिवर्तन गरी व्यक्तिगत चरित्र, व्यवहार, ज्ञान र सीपलाई पनि विकासका रुपमा योजना बनाउनु पर्दछ । यस्तै नियन्त्रणका लागि प्रयासका अतिरिक्त उत्पादनमै नियन्त्रण गर्ने विशेष योजना ल्याउनु आवश्यक छ । हैन भने प्रहरीले लागुपदार्थ नियन्त्रणका लागि जतिसुकै जनशक्ति प्रयोग गरे पनि लागुपदार्थ ओसारपसार र प्रयोगको महामारी झन् डरलाग्दो बन्दै जाने खतरा छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17552140 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top