08 Dec 2019   |   
logo
प्रदेश समाचार

मुख्यमन्त्री पौडेल चीन प्रस्थान



प्रदेश समाचार   1075 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने चीन भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा मंगलबार बिहान ७ जनाको टोलि त्यसतर्फ प्रस्थान गरेको हो ।

दक्षिण एसियाली राष्ट्रहरुसँगको सम्बन्ध हेर्ने गान्सु प्रान्तको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनको गान्सु प्रान्तको लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा मुख्यमन्त्री पौडेलले सम्बोधन समेत गर्नुहुनेछ । तालिका अनुसार मुख्यमन्त्री पौडेलले डेभलपमेन्ट फोरम एन्ड कोरिडोर लजिस्टिक इन्डस्ट्री प्रोमोसन कार्यक्रममा सहभागी हुनुहुनेछ । १९ गते २५ औ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्करोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्नुहुनेछ । सोही अवसरमा गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअनसँग भेट गर्नुहुने मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले जानकारी दिनुभयो । यस्तै २० गते सस्टेनेवल डेभलपमेन्ट फोरम अफ सिल्करोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम छ ।

२१ गते त्यहाँका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ । यसैगरी सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्र तथा विद्युतीय सवारी संचालनका विषयमा पनि थप छलफल हुने स्वकीय सचीव पौडेलले बताउनुभयो । गान्सुसँग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताउनुभयो । ‘चीनको अभूतपूर्व आर्थिक विकासबाट धेरै प्रभावित हामी छौं, त्यसैले पनि चीनको विकासबाट धेरै कुरा सिक्न सक्छौं’, उहा“ले भन्नूभयो । यो सम्बन्ध नेपाल र चीनबीचको विकास अनुभवको माध्यमबाट ऐतिहासिक सम्बन्धलाई बढावा दिन एक महत्वपूर्ण क्षेत्र हुन सक्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

नेपालसँग जोडिने रेलमार्ग पनि गान्सु प्रान्तकै लान्झाउ शहरबाट ३ नम्बर प्रदेशमा नै जोडिने भएकोले यो भ्रमणले विशेष अर्थ राख्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पौडेलसँग उहाँकी धर्मपत्नी विजया पौडेल, प्रदेश सभा सदस्यहरू जुनेली श्रेष्ठ, कञ्चन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका उपसचिव भोला दाहाल र मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचीव अनुप पौडेल सहभागी छन् । टोली २२ गते नेपाल फर्कने कार्यक्रम छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18977659 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top