21 Nov 2019   |   
logo
सम्पादकीय

उत्कृष्टताको होड



सम्पादकीय   1108 पटक पढिएको   सम्पादकीय     

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनेक शुभकामना र बधाई मात्रै देखिन्छ । ग्रेड प्रणाली लागु भएपछि प्रथम हुने विद्यार्थी र विद्यालय बीचको होडबाजी कम भएको छ । यसअघि विद्यालयले बढी प्रतिशत नजिताका लागि अस्वस्थ चलखेल गर्ने गरेको चर्चा हुने गर्दथे । तर जब ग्रेड प्रणालीबाट परिक्षाफल प्रकाशन सुरु भयो तब भने अस्वस्थ प्रतिस्पर्धामा कमि आएको छ । तर पनि डिस्टिङसनको भूतले अझै छाडेको छैन ।

 अभिभावक, विद्यार्थी वा विद्यालयहरु स्वयम् पनि यो होडमा लागेका छन् । आफ्ना कति जना विद्यार्थी कुन ग्रेडमा उत्तीर्ण भए भन्नेसम्मको जानकारी स्वभाविक नै हो । तर फलानो ग्रेडमा अरुको भन्दा यति प्रतिशतले विद्यार्थी पास गराउन सफल भएको भन्दै विज्ञापन प्रकाशन हुने क्रम यस पटक पनि रोकिएको छैन । यो निरन्तरताले फेरी पनि विद्यालय र अभिभावकहरुको मानसिकता पुरानै भएको प्रमाणित गर्दछ ।

परिक्षाफल प्रकाशित भएको एक हप्ता हुन लाग्दासम्म पनि विद्यालयले आफु सवैभन्दा अगाडि भएको दावी गर्ने विद्यार्थीको र्याली निकाल्ने क्रम जारी छ । हेटौंडाका केही विद्यालयले अर्को नभई आफू उत्कृष्ट भएको दावी गरी खुशीयाली मनाउने काम गरिरहेका छन् । जिल्लामा सवैभन्दा उत्कृष्ट भएको घोषणा गर्दा संख्यालाई आधार मान्ने कि एक प्लस वा सो भन्दा पनि तलको संख्यालाई आधार मान्ने भन्ने विद्यालयहरु आफ्नै तर्क छन् । जिल्लाको सवैभन्दा विद्यार्थी उत्तिर्ण गराउन सफल कुन विद्यालय सफल भएको भन्ने कुराको यकिन गर्ने कुनै जिम्मेवार निकाय नै नभएको हो ? नत्र भने कुनै विद्यालयले सहभागिताका आधार मानेका पाईन्छ भने कुनैले उत्तीर्ण संख्याका आधारमा प्रतिशत निकाल्ने काम भएको छ । यसले गर्दा विद्यालयको मात्र नभई विद्यार्थीबीचको सम्बन्ध पनि बिग्रने स्थिति नआउला भन्न सकिँदैन ।

विद्यालयको दावी शैक्षिक उन्नतिका लागि भएको भए स्वाभाविक हुने थियो । तर आफ्नो प्रतिष्ठाका लागि मात्र देखिएको छ । निजी विद्यालयहरुमा नयाँ विद्यार्थी र अभिभावकको अकर्षणका लागि यस्तो होडबाजी स्वभाविक नै होला । तर सामुदायिक विद्यालयको दावी चाही सरकारले दिने पुरस्कारदेखि सामाजिक हैसियत बढ्ने लोभमा शिक्षकहरु लागेको देखिन्छ । यता विद्यालयको दावीका विषयमा आधिकारिक जवाफ दिनुपर्ने निकायहरु पनि पक्ष विपक्षमा देखिएका छन् । नत्र जिल्ला शिक्षा समन्वय एकाइले यसको आधिकारिकता प्रमाणित गर्नुपर्ने हो ।

परिक्षाफल प्रकाशित भएका बखत देखाएको सक्रियता वर्ष दिन पहिलादेखि नै विद्यालयको शैक्षिक विकासमा भएको भए पक्कै पनि आजको हतारो हुने थिएन । विद्यालयमा बढी राजनीति गर्ने शिक्षकहरु नै अहिले आफ्नो नजितामा बढी सक्रिय भएका छन् । मकवानपुर जिल्लामा लामो समयदेखि उत्कृष्ट भएको आधुनिक राष्ट्रिय माविलाई यसपटक प्राविधिक धारको शिक्षाका कारण भुटनदेवि माध्यमिक विद्यालयले चुनौती दिएको छ । यस्तै जीएस निकेतन र बालजागृती इंग्लिस स्कूलबीचको तानातान पनि उस्तै छ । कुन विद्यालय अव्वल भन्ने आधिकारिकता राज्यका निकायहरुबाट हुने नै छ । तर नागरिकमा पनि भिन्न मतहरु आएका छन् । यी मतहरु विद्यालयको शैक्षिक सुधारमा पनि आउनु आवश्यक छ । नत्र परिणामको मात्र अपेक्षा गरेर उत्कृष्टता हासिल हुन सक्दैन ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17550510 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top