21 Aug 2019   |   
logo
अन्तर्वार्ता

‘सामुदायिक विद्यालयलाई समयअनुसार बदल्न सके संस्थागत विद्यालय विस्थापित हुन्छन्’



अन्तर्वार्ता   18 पटक पढिएको   ज्योति न्यौपाने     

हेटौंडा उपमहनगरपालिका वडा नम्बर १८ मा रहेको ज्योति मावि पछिल्लो समय उत्कृष्ट शिक्षा दिन जागरुक देखिएको छ । नयाँ पु्स्ताका शिक्षकको आगमनसँगै विद्यालयले अहिले विगतको तुलनामा फरक ढङ्गले पठनपाठन अगाडि बढाउन थालेको छ । विद्यालयको आकर्षणको रुपमा गणित ल्याब रहेको स्थानीयलेसमेत बताउन थालेका छन् । विद्यालयले के–कसरी काम गरिरहेको छ भन्ने विषयमा ज्योति न्यौपानेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल र प्रधानाध्यापक जयराम थापासँग गर्नुभएको कुराकानीः

रम्तेल सर अध्यक्ष भएपछि कस्तो अनुभव गरिरहनु भएको छ ?

रम्तेलः म २०७३ पौष २४ गतेदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेर काम गर्दै अएको छु लगभग २९ महिना जति भयो । यसमा व्यक्तिगत स्वार्थलाई त्यागेर एउटा विशेष भूमिका निभाउनु पर्छ । विद्यालयलाई जति समय दिन सक्यो त्यति विद्यालयको क्रियाकलाप राम्रो हुन्छ । यदि राम्रो नियम र नीतिलाई अवलम्बन गर्दै परिधि मिलाएर गर्ने हो भने विद्यालयलाई उत्कृष्ट बनाउन र विद्यार्थीलाई राम्रो शिक्षा दिन सकिन्छ । विद्यालयमा नेतृत्व परिवर्तन हुन पर्छ भन्ने मेरो मूलमन्त्र थियो त्यो पुरा गरेको छु । हेर्दा पनि त्यसको परिणाम राम्रो आएको छ । विगतको भन्दा हामीले अहिले आधारभूत तहमा धेरै परिवर्तन गरेका छौँ । सबैभन्दा राम्रो परिवर्तन हामीले विद्यार्थीको अनुशासन र विद्यालयको नीति, नियम नै हो । पहिलेका कमिकमजोरीलाई हामीले सुधारेका छौँ । जस्तो विद्यार्थी समयमा नआउने, पोशाक नलगाउने यस्ता समस्याहरूको हामीले पुर्ण रुपमा समाधान गरेका छौँ ।

विद्यालय सञ्चालनको क्रममा समुदायबाट कतिको सहयोग पाउनु भएको छ ?

रम्तेलः विगतमा अभिभावक र विद्यालयबीचको सम्बन्ध टुटेको थियो । लामो समयसम्म विद्यालयमा नबोलाउने अन्तरक्रिया नै नहुने आदि हुन्थ्यो । अभिभावकहरूमा बच्चाको पढाइको कुनै चासो नै नभएको जस्तो भएको थियो । त्यसले गर्दा अभिभावक र विद्यालयको दुरि लामो भएको थियो । अहिले हामीले अभिभावकहरूमा समय समयमा विद्यालय आउनुपर्छ भन्ने भावना जगाएका छौँ । उहाहरूसँग अन्तरक्रिया गरेर हाम्रो योजना र उहाँहरुको सुझावलाई मिलाएर अगाडि बढेका छौँ ।

अहिले जति संस्थागत विद्यालयलाई अभिभावकहरूले रुचाएका छन् त्यति सामुदायिक विद्यालयलाई रुचाएको पाइँदैन । यहाँहरुको विद्यालयमा कस्तो अवस्था छ ?

रम्तेलः यसमा सरकारको पनि कमजोरी छ । किनभने संस्थागत विद्यालयमा यस्तोे छ तर सामुदायिक विद्यालयमा छैन भनेर वर्गीय हिसाबले नै प्रभाव परिरहेको देखिन्छ । समाजमा हुनेखानेले संस्थागतमा पढाउनु पर्छ र हुँदाखानेले सरकारी विद्यालयमा पढाउने भन्ने जुन सन्देशले चरम रुप लिएको छ । यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरू एकजुट भएर कमिकमजोरीलाई समयअनुसार बदल्न सकेमा सामुदायिक विद्यालयले संस्थागत विद्यालयलाई विस्थापित गर्छ । संस्थागतमा भन्दा सामुदायिकमा धेरै सेवा सुविधाहरू हुन थालेका छन् । निःशुल्क पठनपाठन हुन्छ । त्यसले गर्दा अब सामुदायिक विद्यालयहरुले राम्रा कदमहरू चालेका छन् त्यसैले अब सामुदायिक विद्यालयप्रति अभिभावकको धारणा सकारात्मक हुन्छ ।

कतिपय विद्यालयहरूमा व्यावस्थापन समिति राजनीति गर्ने पाटो मात्रै भएको भन्ने आरोप लाग्ने गरेको छ ?

रम्तेलः यसमा नेपालका धेरै विद्यालयहरूमा यस्तो भएको छ । तर हाम्रो विद्यालयको कुरा गर्दा प्रधानाध्यापक यहीँ हुनुहुन्छ । अरु शिक्षकलाई सोध्दा पनि हुन्छ । हामी समाजलाई मान्य नहुने किसिमको काम गर्दैनौँ । नयाँ आउनेलाई पनि विद्यालयको हित र विद्यार्थीको भविष्यको लागि राम्रो गर्ने भएमात्र विद्यालयमा राख्ने गरेका छौँ । तसर्थ ज्योति माविमा राजनीतिक चलखेल भएको छैन ।

जयराम सर, यहाँहरुले के गर्नु भएको छ जसले विद्यालयलाई चिनाएको छ ?

थापाः हाम्रो अहिले शिक्षकको पूरा टिम सहकार्यमा सक्रिय भएर सफल हुन पुगेको छ । म प्रधानध्यापक भएको लगभग १ वर्ष पुग्न लाग्यो । हामीले विशेष जोड दिएको अनुशासनको पक्ष नै हो । हाम्रोमा शिक्षकहरूमा पनि आफ्नो कर्तव्यको राम्रो ज्ञान छ । व्यवस्थापन पक्षमात्र नभएर विद्यालयको र शिक्षाको गुणस्तरको लागि हामी सम्पूर्ण टिम नै लागि परेको छौँ । विद्यार्थीहरूलाई उहाँहरूलाइ नै नीति नियम बनाउन लगाएर त्यसको पालना गर्न लगायौँ । पठनपाठनको क्रममा पनि विद्यार्थीलाई कुन तरिका सजिलो लाग्छ त्यही तरिकाले सिकाउने गरेका छौँ । यस्ता नियमहरूको हामी सुरुवाती चरणमा छौँ । यसलाई अझै सुधार्दै लैजाने छौँ ।

विद्यालयमा अनुशासनलाई निरन्तरता दिन ककसको भूमिका महत्वपुर्ण हुन्छ ?

थापाः विद्यार्थीलाई प्रशासनले मात्र अनुशासित बनाउन खोजेर हुँदैन । त्यसैले विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति सबैको भूमिका हुन्छ । अभिभावकहरूसँग पनि हामीले विभिन्न समयमा अन्तरक्रिया गरेर यसलाई सफल पार्नतिर लाग्यौँ । प्रशासनमा हामी आउँदा अलिकति सोच्न पर्ने अवस्था थियो । त्यसलाई हामीले निरन्तर सुधार गर्दै लगेका छौँ । हामीले यही अनुशासनलाई राम्रो पर्नलाई प्रत्येक कक्षामा मनिटरको व्यवस्था गरेका छौँ । मनिटरले विद्यार्थीलाई बाहिर जान पर्दा, विद्यार्थीले कक्षा छोडेर जान पर्दा, अनुपस्थित हुँदा यी सबै कुराहरूमा मनिटरले छुट्टी दिने र जरिवाना लिने काम गर्दछ । यसले गर्दा विद्यालयको अनुशासनमा धेरै सुधार आएको छ । जस्तै बच्चाहरू बिचमा भगेर जाने क्रम पुर्ण रोकिएको छ र अनुपस्थित हुने समस्या पनि कम भएको छ । जसरी अरु सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दो क्रममा थियो केही बर्ष अगाडि त्यो समस्या हामीकोमा पनि थियो । हामी न्युन सहयोगमा अङ्ग्रेजी माध्यम लागु गरेपछि यहाँ विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । हाम्रोमा १० वर्ष अगाडि नर्सरीमा यो अंग्रेजी माध्यम सुरु गरेका थियौँ । अहिले यो कक्षा ९ सम्म सुरु भएको छ ।

यहाँहरूले तल्लो कक्षामा विद्यार्थी आकर्षण गर्न के कदम चाल्नु भयो ?

थापाः पहिले केही वर्ष अघि माथिको कक्षामा भन्दा तल्लो कक्षामा कम विद्यार्थी हुने समस्या थियो तर अहिले त्यो समस्या पनि हटेको छ । सायद यसमा यही अंग्रेजी माध्यमले पनि प्रभाव पारेको हुन्छ । यसमा शिक्षकहरूले पनि धेरै भूमिका निभाउनु भएको छ । मलाई लाग्छ हाम्रो विद्यालयमा जस्तो शैक्षिक गुणस्तरको लागि सक्रिय टिम सायद मकवानपुमै छैन होला । अझै पनि हामीले विद्यालयमा धेरै कुराहरू गर्न बाँकी छ । त्यसमा हामी नितान्त लागि पर्ने छौँ । अभिभावकहरुबाट पनि हामीले भरपुर साथ र सहयोग पाएका छौँ । अभिभावकहरुलाई अझ सक्रिय बनाउन हामी प्रयासरत छौँ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7367470 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top