20 Sep 2019   |   
logo
सम्पादकीय

अस्पतालमा सुधारात्मक पहल



सम्पादकीय   1133 पटक पढिएको   सम्पादकीय     

अस्पताल मार्फत प्रवाह गरिने विभिन्न किसिमका सेवाहरुले हरेक मानिसको जीवन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्दछ । अस्पतालहरुमा गरिने चिकित्सा पद्दतिको अभ्यासले मानिसको जीवनमा देखापरेका विभिन्न रोगहरुसँग लड्नका लागि साहारा प्रदान गर्नुका साथै स्वस्थ समाज निर्माणमा समेत मार्गप्रशस्त गरिरहेका हुन्छन् । हाम्रोजस्तो जनसंख्याको ठूलो हिस्सा गरिबीकोे रेखामुनी रहेको देशमा सरकारी अस्पतालको आवश्यकता र सान्दर्भिकता अत्यन्तै बढी रहेको छ । तर नेपालमा संचालनमा रहेका सरकारी अस्पताल र तिनीहरुले प्रवाह गर्ने सेवाका सन्दर्भमा आम मानिसहरुको धारणा भने सकारात्मक रहेको छ्रैन । यसो हुनुमा अस्पतालको समग्र व्यवस्थापन र सेवाप्रवाहमा देखिएका विभिन्न समस्याहरु जिम्मेवार रहेका छन् ।

 स्वास्थ्यकर्मीको अभावदेखि विरामी तथा कुरुवाले खेप्नुपर्ने हैरानीको फेहरिस्त लामो हुन्छ । डाक्टरसँग लिने सानो सल्लाहका लागि समेत दिन बिताउनु पर्ने अवस्था अस्पतालहरुमा छ । सबै नागरिकको सहज पहुँचमा अस्पताल छैनन् । भएका अस्पतालमा पनि सद्दे मानिस पनि विरामी भएर फर्कनुपर्ने अवस्था छ । त्यसैले सेवा प्रवाहमा सुधार ल्याउनु आवश्यक छ ।

विरामी भएपछि जानुपर्ने अस्पतालमा पुगेपछि विरामी पर्ने अवस्था छ हाम्रा अस्पतालहरुमा । लामो समयसम्म रिफर सेन्टरका रुपमा रहेको हेटौंडा अस्पतालमा पछिल्लो समय केही सुधार सुरु भएको छ । अस्पतालले सुरु गरेको टोकन प्रणाली सुधारको सकारात्मक पहल हो । विरामीहरुको बढ्दो चापका कारण लामो लाईन बस्नुपर्ने अवस्था टोकन प्रणालीले सहज बनाउने विश्वास गर्न सकिन्छ । पछिल्लो समय हेटौंडा अस्पतालले दिने विशेषज्ञ सेवाका कारण पनि सेवाग्राहीहरुको उपस्थिति बाक्लो हुन थालेको छ । सेवा लिन आएका बिरामीहरु धेरैबेरसम्म लाइन बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न टोकन प्रणाली फलदायी हुन सक्ने छ । अहिले हेटौंडा अस्पताललाई सुविधा सम्पन्न बनाइँदै लगिएको छ । अस्पतालको सेवामा सुधार भएसँगै जिल्लाभरका सेवाग्राहिहरुको पनि भीड बढ्दो रहेको छ । टिकटका लागि टोकन प्रणाली लागुभएको जस्तै अन्य सेवामा पनि सुधार ल्याउन जरुरी छ । यसका लागि अस्पताल नेतृत्वको थप सक्रियता र योजना हुनु पर्दछ ।   

टोकन प्रणालीको सुरुवातले जेष्ठ नागरिक, अपाङगता भएका, अशक्त तथा बच्चाका आमाहरुले विशेष राहत महसुस गर्ने छन् । टोकन लिएर आफ्नो पालोमा टिकट वा पैसा तिर्न जान सकिने व्यवस्था गरिएको छ । स्वास्थ्य बिमा, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई छिट्टै नै अर्को काउन्टरको व्यवस्था हुने भएको छ । प्रदान गर्ने सेवामा सुधार हुँदा बढ्न सक्ने सेवाग्राहीहरुको चापलाई पनि धान्न सक्ने अन्य क्षमता पनि विस्तार हुनु पर्छ । विगतमा रिफर सेन्टरका रुपमा रहेको ट्याग मेटाउने गरी गुणस्तरीय सेवा विस्तार हुन पर्दछ । तब मात्र टोकन प्रणालीको सेवा विस्तारको अर्थ सकारात्मक हुन जान्छ । विशेषज्ञ सेवाका अतिरिक्त अस्पताल क्षेत्रको व्यवस्थापन महत्वपूर्ण पक्ष हो । सरसफाईदेखि पार्किङ र विरामी कुरुवाको उचित प्रबन्ध हुनु पर्दछ । यस्तै सुरक्षाको व्यवस्थामा पनि अस्पताल प्रशासन गम्भीर हुनुपर्ने देखिन्छ । विरामी तथा कुरुवाका सर–सामानको संरक्षण अस्पतालको चुनौती देखिन्छ । कुनै पनि काम सुरु गर्न कठिन हुन्छ तर त्यो भन्दा कठिन निरन्तरतामा हो । त्यसैले सुरु भएका सेवालाई निरन्तरता दिँदै विस्तार गर्ने योजना बनाउनु पर्दछ ।






ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11974220 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top