18 Nov 2019   |   
logo
सम्पादकीय

अल्छि सूचना अधिकारी



सम्पादकीय   1177 पटक पढिएको   सम्पादकीय     

कर्मचारीको अभावमा स्थानीय तहहरुले काम गर्न नसकेको स्पष्टीकरण दिईरहेकका बेला भएका कर्मचारीले पनि काम नगरेको पाईएको छ । स्थानीय तहको काम भन्ना साथ विकास निर्माण र योजनाहरुलाई मात्र मापन गर्ने प्रचलनले गर्नु पर्ने अन्य काम ओझेलमा परेका छन् । यस्तै प्रकृतिको काम सूचना दिने पनि हो । कुनै पनि सार्वजनिक निकायबाट सम्पादन गरिएका सबै कामहरु बारे जानकारी पाउने अधिकार आम सर्वसाधारणलाई छ । कानूनी व्यवस्था अनुसारका सूचना लिने पद्दतिको विकास नभएकाले होला पत्रकार बाहेक आम नागरिकले सार्वजनिक संस्थाहरुमा गएर सूचना लिने प्रचलन छैन । त्यसैले सूचना सम्बन्धी अधिकारका कुरा गर्दा सन्चारमाध्यमलाई मात्र जोड्ने गरिन्छ । तर सन्चारमाध्यम वा पत्रकारले दिने सूचना पनि आम नागरिककै लागि हो । त्यसैले सबै प्रकारका सूचना आम नागरिकसँग नै जोडिन्छन् । सूचनाको हकको पहिलो दाबेदार नै आमनागरिक हुनुपर्दछ । सूचना सम्प्रेषणलाई कामको दर्जा नदिँदा स्थानीय तहहरुले नियुक्त गरेका सूचना अधिकृतहरुले जागिर पकाउने मात्रै काम गरेको देखिन्छ ।

    मकवानपुरका दश वटै स्थानीय तहहरुले अधिकृत स्तरका सूचना अधिकारीहरु नियुक्त गरेका छन् । तर आफ्नो जिम्मेवारी अनुसार सुचना सम्प्रेषणमा उनीहरुको कुनै भूमिका देखिएको छैन । कहिले काहिँ स्थानीय तहहरुले गर्ने पत्रकार सम्मेलनमा पनि जनप्रतिनिधिहरुबाटै विवरण सार्वजनिक हुँदै आएका छन् । आफ्नो स्थानीय तहको सूचना अधिकारी को हो र उसको जिम्मेवारी के हो भन्ने विषयमा पनि आम नागरिक जानकार छैनन् । जनताको यही अज्ञानताले सूचना अधिकारीहरुको जागिर जोगाई दिएको छ । नत्र भने उनीहरुले दिनु पर्ने सूचनाहरु किन सार्वजनिक भएनन् भनेर खोजी गर्नासाथ त्यसको जवाफ दिन बाध्य हुने छन् । स्थानीय तहका सूचना अधिकार सार्वजनिक हुन पनि चाहिरहेका छैनन् । सार्वजनिक भएपछि सूचनाको विषय उठ्ला भनेर पनि उनीहरु भाग्ने गरेको आशंका गरिन्छ । स्थानीय तहरुले गरेका कामहरु पदाधिकारीहरुले सामाजिक सन्जालमा राखेका तथ्यहरुबाट आमसन्चार माध्यमले सूचना लिनुपर्ने अवस्था छ । तर पत्रकार वा सन्चार माध्यमहरुमा ती जानकरीहरु दिने जिम्मेवारी सूचना अधिकारीहरुको हो ।

    यस्तै स्थानीय तहहरुले सबै विवरण सार्वजनिक गर्न विकास गरिएका वेवसाईटहरु अपडेट हुन सकेका छैनन् । यो काम पनि सूचना अधिकारीकै हो । यस्तै कसैले सूचना नमागे पनि नियमित रुपमा गतिविधिलाई सार्वजनिक गर्नु सो संस्थाको जिम्मेवारी हो । सूचना अधिकारी त्यही कामका लागि नियुक्त गरिएको हुन्छ । तर जिल्लाका सबै स्थानीय तहका वेवसाईटहरुमा केही पुराना सूचना बाहेक लामो समयदेखि कुनै सूचना सामाग्री अपडेट नहुनु सूचना अधिकारीको हेलचेक्र्याई वा अल्छिपन हो । नियमित पत्रकार भेटघाट गर्ने वा नियमित सूचनाहरु विभिन्न माध्यमबाट सार्वजनिक गर्नुपर्ने दायित्वलाई सूचना अधिकारीहरुले बिर्सिएको जस्तो देखिन्छ । आफ्नो काम कर्तव्यनै बिर्सने कर्मचारीको क्षमता र योग्यतामा किन प्रश्न नउठाउने ? स्थानीय सरकारका तर्फबाट आम नागरिकलाई सचेत गराउने वा गरिएका काम कारावही जनता समक्ष राख्ने सुशासनको अनुभूति दिने देखि कार्यालय प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने तर्फ जनप्रतिनिधिहरुले पनि विशेष ध्यान दिनु आवश्यक छ । कर्मचारीको अभावमा काम गर्न नसकिएको तयारी उत्तर दिनु  भन्दा पनि आफैले नियुक्त गरेका कर्मचारीहरुबाट काम गराउन पनि सक्नु पर्दछ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362520 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top