14 Oct 2019   |   
logo
सम्पादकीय

बसाई सराईको समस्या



सम्पादकीय   1750 पटक पढिएको   सम्पादकीय     

मानव बसाईं सराई मुलुककै लागि समस्याका रुपमा रहेको छ । एक ठाउँबाट अर्को ठाउँमा मानिसले गर्ने बसोवास प्रक्रिया बसाई सराई हो । निश्चित समय अबधिमा, निश्चित भौगोलिक वा राजनीतिक एकाईबाट अर्को भौगोलिक वा राजनीतिक एकाईमा बासस्थान परिवर्तन गर्ने प्रक्रिया नेपालमा तीव्र गतिमा छ । विशेषगरी नेपाली समाजमा आन्तरिक बसाई सराई हुने गरेको छ । आफु जन्मी, हुर्की वा खाई खेली गरेको भुगोल छोड्दाको पीडा पक्कै पनि कसैलाई सहज हुँदैन । तर बाध्यताले आफन्त र साथीसंगीलाई छाडेर अर्को ठाउँमा नयाँ श्रृजना गर्नु परिरहेको छ । थप सुखका लागि रहरले बसाई सर्नेहरुको संख्या अत्यान्त न्यून छ । स्थायी बसोवास नै स्थानान्तरण गर्नुपर्ने धेरै कारणहरु हुन्छन् । त्यस मध्ये गरिवी पहिलो कारण बन्ने गरेको छ । जीवन धान्नका लागि विकल्पको खोजी गर्नु नै बसाई सराईको प्रमुख कारण हो । यस्तै पारिवारिक बेमेलदेखि छिमेकी र आफन्तसँगको सम्बन्ध वा प्राकृतिक विपत्ती पनि कारण बन्दै आएको छ ।

निरन्तर बसाई सर्ने हो भने पुराना गाउँवस्तीहरु उजाड हुने छन् भने नयाँ वस्तिहरुमा अनेक समस्याहरु श्रृजना हुने पक्का छ । यही पीडा मकवानपुरको भीमफेदी गाँपालिकामा पनि देखिएको छ । यस गाउँपालिकामा वासस्थान स्थानान्तरण गर्ने क्रम प्रत्येक वर्ष बढ्दै गएको छ । भीमफेदीमा अन्य स्थानबाट आउने भन्दा जानेको संख्या चार गुणा बढी देखिएको हो । यही अवस्था देशका सबै गाउँपालिकामा भेटिन्छ । चालु आर्थिक वर्षमा भीमफेदीमा २५ जना बाहिरबाट आएका छन् भने बसाई सर्नेहरुको संख्या ९९ पुगेको छ । यो तथ्याङ्कमा सुधार ल्याउने जिम्मेवारी र दायित्व अब स्थानीय तहको पनि हो । स्थानीय सरकारले सबै नागरिकलाई अभिभावकत्व प्रदान गर्ने गरी काम र अवसरको श्रृजना गर्न सक्नु पर्दछ । राज्यले बनाउने नीति तथा कार्यक्रमहरुमा युवाहरुका लागि स्थानीय रुपमा नै रोजगारीको श्रृजना हुन आवश्यक छ । यस्तै वैदेशिक रोजगारीलाई नघटाउने हो भने पनि बसाई सराईले निरन्तरता पाईनै रहने छ ।

    समानुपातिक विकास नहुँदा बसाई सर्नुपर्ने अवस्था आउँछ । सेवा सुविधा तथा विकासका पूर्वाधार सहर केन्द्रीत हुँदै गएपछि गाउँमा किन बनेन भन्ने प्रश्न स्वभाविक हो । बसाई सर्ने क्रम नरोकिने हो भने जनघनत्व असन्तुलित हुन पुग्दछ भने बाक्लो वस्तीमा अनेक प्रकारका दुर्घटनाको सम्भावना पनि बढ्दै जानेछ । देशका सबै जिल्लादेखि प्रदेश सदरमुकामहरु यतिबेला बसाई सराईको पीडामा नै छन् । यो अवस्थालाई निराकरण गर्न सरकारले विशेष ग्रामीण योजनाहरु लागु गरिनु पर्दछ । ताकि आफ्नै गाउँबाट सबैले सहज सेवा सुविधा र अवसार प्राप्त गर्न सकुन् । त्यसो भए थप सुविधाको खोजी गर्ने बाहेक अरुले आफ्नो थात्थलो छोड्ने छैनन् । बसाई सराईका कारण कतिपय स्थानका मौलिक, ऐतिहासिक कला र संस्कृति नै लोप भइसकेका छन् । देशको चिनारीका रुपमा रहेका स्थानीय मौलिकतालाई संरक्षण गर्न वसाई सराईलाई नियन्त्रण गर्नु नै पर्दछ । अधिकार हनन् हुने गरी जबरजस्ती रोक्ने भन्दा सबै अवसरहरु स्थानीय तहमा नै पुग्नु आवश्यक छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14807964 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top