14 Oct 2019   |   
logo
सम्पादकीय

श्रमिकहरुलाई शुभकामना



सम्पादकीय   1514 पटक पढिएको   सम्पादकीय     

अन्तर्राष्ट्रिय श्रमिक दिवस हरेक वर्ष मे १ तारिखमा नेपालमा पनि मनाईदै आएको छ । २००७ सालमा विराटनगर मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा सरकारले दिवसमा सार्वजनिक बिदा दिन थालेको छ । देशका मुख्य राजनीतिक दलहरुसँग आवद्ध रहेका मजदुर संगठनहरुले र्यालीसहित आफ्ना अधिकारका लागि माग राख्ने गर्दछन् । दिवसको मुख्य नारा ‘विश्वकै मजदुर एक हौं’ छ तर नेपालका मजदुरहरु फरक फरक कार्यक्रम गर्दछन् ।

    संविधानमा व्यवस्था भएको श्रमिक हक, अधिकारका व्यवस्था कार्यान्वयनका लागि मजदुरहरुको आवाज वुलन्द हुनु आवश्यक छ । यस वर्षदेखि सामाजिक सुरक्षा व्यवस्था लागु भएको छ । तर रोजगारदाता कम्पनीहरु नै यो कार्यक्रममा आवद्ध हुन इच्छुक देखिएका छैनन् । यो विषय सबै मजुदरहरुका लागि चुनौती बन्ने देखिन्छ । मजदुरका हक, अधिकारका लागि रोजगारदातासँग माग पुरा गराउन फुट्ने भन्दा जुट्नु आवश्यक हुन्छ । तर नियोजित रुपमा नै दल तथा पुँजीपतिहरुले मजदुरहरुलाई अलग्याउने गर्दछन् ।

    सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । नेपालमा मे दिवसको स्वामित्व ग्रहण गर्न विभिन्न ट्रेड युनियनहरु अगाडि देखिएका छन् । तर उनीहरुको भूमिका कर्मकाण्डी मात्र छ । दिवसको मर्म अनुसार कुनै पनि संगठनले उपयोग गर्न सकेको पाइँदैन । स्वदेश र वैदेशिक रोजगारीका नामले श्रमिक ठगिने, उचित श्रम मूल्य नहुने, तोकिएको पारिश्रमिक लागु नहुने तथा शारीरिक एवम् यौन शोषणमा पर्ने, मानसिक र भौतिक शोषण हुनुले अनेकन तनाव खेप्नुपरेको अवस्था जीवन्त छ । श्रम कानुन कार्यान्वयनमा आएका अनेकौं चुनौतीका पक्षमा वकालत गर्नुपर्ने श्रमिक संगठनहरु पर्टीगत मान्यताबाट परिचालित हुने गरेका छन् । सत्तापक्षीय श्रमिक संगठनहरु सरकारको छायाँका रुपमा मात्र काम गर्ने परम्पराले मजदुर दिवसको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था देखिन्छ । अधिकारको उत्सव मनाउने दिनका रुपमा रहेको मे दिवस औपचारिकतामै सीमित हुने मजदुरका लागि सुखद हुन सक्दैन । 

श्रमिक हक, हित र सुरक्षाका बारेमा खुलारूपमा बहस एवम् लेखाजोखा हुनु पर्दछ । श्रमिकका पीडाहरुमाथि वहस गरी त्यसको समाधानमा दिवसको औचित्य जोडिएको हुन्छ । श्रमिक आन्दोलनले एकता नै शक्ति (बल) हो भन्ने मन्त्रलाई आत्मसात गरेको हुन्छ । तर मालिक वर्ग फुटाउ र राज गरको मान्यताबाट हक जताईरहेका हुन्छन् । यही वर्गीय चिन्तनले गर्दा मजदुर आन्दोलनले लक्ष्य प्राप्त गर्न सकिरहेको छैन । यसका पछिल्लो उदाहरणका रुपमा श्रम ऐन कार्यान्वयनदेखि सामाजिक सुरक्षा व्यवस्थामा देखिएको उदासिनता हुन । मे दिवसको नाममा राजनीतिक दलमा आवद्ध सहरिया र टाठाबाठा केही व्यक्तिहरुले दिवसको मर्मतलाई उपयोग गर्दा वास्तविक मजदुरहरुको व्यथाप्रतिको व्यंग्य जस्तै हुने गरेको छ । नेपालको वस्तुस्थितिलाई हेर्दा असङ्गठित क्षेत्रमा काम गर्ने मजदूरको अवस्था श्रमको मूल्यको हिसाबले दयनीय छ । दिवसको औचित्यका लागि मजदुरमैत्री कानून, कामको वातावरण, समान कामको समान ज्याला, उचित  पारिश्रमिक लगायतका विषयमा सामुहिक आवाज बुलन्द होस् श्रमिक दिवसको शुभकामना ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14806640 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top