20 Sep 2019   |   
logo
सम्पादकीय

बालबालिकाको पीडा



सम्पादकीय   1157 पटक पढिएको   सम्पादकीय     

मकवानपुरमा बालबालिका सम्बन्धी विभिन्न घटनाहरुमा वृद्धि भएको पाईएको छ । हराएका, बालविवाह, बेवारिसे, बालश्रम, दुव्र्यवहार, बलात्कार, यौनशोषण जस्ता घटनाहरु बढेको पाईएको हो । बालबालिकाको क्षेत्रमा काम गर्ने सस्था सिविन बाल हेल्पलाईन मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्कले बालबालिकाको क्षेत्रमा जिल्लाको अवस्था अत्यन्तै नाजुक देखाएको छ । यी घटनाहरुले बालबालिकाप्रति परिवार र समाजले जिम्मेवारी दिएको देखिँदैन । दर्ता भएका घटनाका आधारमा बालबालिकाहरु सबै क्षेत्रमा पीडित छन् । देश निर्माणको जिम्मेवारी बोक्नु पर्ने बालबालिका यसरी तड्पीनुले देशको भविष्यको चित्रण गर्दछ । दर्ता हुन आएका घटनाहरुमा पनि बालिकाहरु बढी पीडित देखिएका छन् ।

 मकवानपुरमा १४ महिनामा दर्ता भएका घटना विवरणलाई हेर्दा बालक भन्दा बालिकाहरु बढी पीडित देखिएका हुन् । दुई सय ८९ घटना मध्ये एक सय १३ वटा बालकसँग सम्बन्धित छन् भने बालिकासँग सम्बन्धित १ सय ७६ वटा घटना दर्ता भएका छन् । यो तथ्याङ्कले मकवानपुरमा किशोरीहरु नै बढी प्रभावित छन् । घरपरिवार तथा समाजबाट समेत बालिकाहरु प्रतिको दृष्टिकोण परिवर्तन खाँचो छ ।

    बालबालिकाहरु किन पीडित बनेका छन् भन्ने विषयमा गहन अध्ययन अनुसन्धान र विश्लेषण जरुरी छ । कुनै संस्थाले आफ्नो काम देखाउन मात्र प्रतिवेदन तयार परेको हैन भने यस विषयमा समाजका सबै पक्षले गम्भीर बन्नु पर्दछ । स्थानीय तहमा जनप्रतिनिधिहरुले काम गर्न थालेपछि प्रत्यक्ष निगरानी हुनु पर्ने हो । तर पनि १४ महिनाको अवधिले स्थानीय सरकारदेखि संघ, संस्थाहरुले बालबालिका माथि हुने अनेकौं प्रकारका हिंसा वा विभेदका विरुद्ध खासै काम गरेको देखिँदैन । यस्ता घटनाहरु न्यूनीकरणका लागि नीति र तदनुरुप योजना बनाउनु आवश्यक छ । जहिले पनि गैरसरकारी संस्थाहरुले गरेको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मौखिक सहानुभूति मात्र प्रकट गर्नु नभई घटनाहरुमा राज्यको जिम्मेवारी र दायित्व लिने काम हुनु पर्दछ । आगामी दिनमा न्यूनीकरण गर्दै जाने निश्चित योजना र मापदण्ड बनाउनु पर्दछ । यसका लागि स्थानीय तहको बढी जिम्मेवारी हुन्छ । आफ्ना गाउँ ठाउँमा बालबालिकाप्रति किन यस्ता घटना भएका छन् भन्ने कुराको अध्ययन हुनु पर्दछ ।

    मकवानपुरमा १४ महिनामा २० बालक र २३ बालिका हराएको मध्ये ३९ जना फेला परे भने चार जनाको पत्ता लागेको देखिँदैन । बालविवाहसम्बन्धी ६ बालक र २२ बालिका संलग्न भएको पाईएको छ । यस्तै बालबालिकाको बेचबिखन तथा ओसारपसारमा बालक १८ जना र बालिका १२ जनालाई उद्दार गरेको देखिन्छ । थाहा पाएर उद्दार गरिएको हो । थाहा नभएका कति बालबालिकाहरु बेचबिखनमा परेका होलान् ? यी र यस्ता घटनाहरु हाम्रो समाजमा गरिबीका कारण हुने गर्दछन् । गरिवी न्यूनीकरण गर्नका लागि रोजगारीको सुनिश्चितता आवश्यक छ । स्थानीय रुपमा मानिसहरुलाई आयआर्जनमा जोड्न सक्ने कार्यक्रमहरु ल्याउनु पर्दछ । यस्तै संस्थाहरुले पनि प्रतिवेदन मात्र तयार पर्ने भन्दा रोकथामका लागि कार्यक्रम ल्याउन जरुरी छ । बालबालिका प्रतिको पहिलो जिम्मेवारी परिवारको हो । त्यसपछि समाज र सरकारले आफ्ना नागरिकको सुरक्षा गर्नु पर्दछ । सहज वातावरणमा बाँच्न पाउने बालबालिकाको अधिकार कुनै पनि अवस्थामा सुरक्षित हुनु आवश्यक छ । यसका लागि केन्द्रीयदेखि स्थानीय तहसम्म नीति, योजना र कार्यक्रम आवश्यक छन् ।







ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11976976 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top