08 Dec 2019   |   
logo
सम्पादकीय

संसार देखाउने अभियान



सम्पादकीय   1150 पटक पढिएको   सम्पादकीय     

आँखा मानवशरीरको सबैभन्दा संवेदनशील अंग हो । जीवनलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने स्रोत र माध्यमहरुमध्ये बाहिरी आँखा महत्वपूर्ण आधार हो । जीवन दृष्टिकोण, पद्दति तथा व्यवहारलाई समेत आँखाले पनि निर्धारण गर्दछ । बाहिरीका साथै भित्रि आँखा नै मानिसको उत्तम परिचय भए पनि सांसारिक सुख भोगका लागि राम्रो, नराम्रो, असल, खराब लगायतका विषयमा बाहिरी आँखा नै सबै भन्दा प्रिय जस्तो लाग्ने गर्दछ । त्यसैले मानिस आँखाको सुरक्षाको लागि सबै कुरामा सचेत हुनु पर्दछ । जति आँखाको हेरचाह गर्न सक्यो त्यति नै भविष्य सहज बनाउने कुरामा दुईमत हुँदैन ।
 सानो भन्दा सानो असावधानीले पनि आँखामा समस्या आउन सक्छ र समयमै उपचार नभए संसार नै अँध्यारो हुन सक्छ । त्यसैले यति महत्वपूर्ण अंगका लागि पनि मानिसहरुले खासै ध्यान दिएका हुँदैनन् । विशेषगरी आर्थिक रुपमा कमजोर नागरिक अन्य रोग जस्तै आँखाको उपचारमा पनि ध्यान दिन सकिरहेका हुँदैनन् ।
    आँखाको उपचार गर्नुपर्ने चेतना कम भएकादेखि आर्थिक समस्यामा परेका नागरिकहरुलाई रोटरी क्लब अफ मकवानपुरले सामुदायिक आँखा अस्पताल हेटौंडाको सहकार्यमा विगत लामो सयमदेखि सहयोग गर्दे आएको छ । जसले दृष्टि नै गुमाई सकेको हुन्छ उनीहरुलाई संसार देखाउने अयिभानमा रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ मिड टाउन काठमाडौंले यस वर्ष पनि  मकवानपुर तथा आसपासका जिल्लाको दुरदराज स्थानमा आँखा शिविर गरेका छन् । विभिन्न पाँच स्थानमा भएको निःशुल्क आँखा परीक्षणमा भेटिएको मोतियाविन्दुका विरामीहरुको हेटौंडामा अप्रेशन गरिएको छ । शिविरमा आँखा परीक्षण गराउनेहरु मध्ये भेटिएका मोतियाविन्दुका विरामीहरुको निशुल्क अप्रेशन हुँदै आएको छ । अप्रेशन मात्र हैन कि ल्याउने लैजाने र उपचार गर्दाको समयमा वसोवास र खानाको समेत व्यवस्था हुँदै आएको छ । यति ठूलो मानवीय सेवा अन्य कुनै पनि संस्थाहरुले गर्न सहज छैन । तर सामुदायिक आँखा अस्पताल र रोटरी क्लबको यो पूण्य कर्मबाट यसपटक २ सय ५९ जनाले मोतियाविन्दुबाट मुक्ती पाएका छन् ।
    हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा क्लबले वर्षेनी विभिन्न जिल्लामा आँखा परीक्षण शिविर आयोजना गर्ने गरेको छ । आँखा शिविरमा भेटिएका मोतियाविन्दुका विरामीहरुको निःशुल्क अप्रेशन गर्दा एकजनाका लागि करिब आठहजार रुपियाँ खर्च हुन्छ । यस्तै विरामीलाई ल्याउने लैजाने, खाजा, खाना, आवासीय व्यवस्था, चस्मा तथा अप्रेशनको सबै खर्च अस्पतालको समन्वयमा हुँदै आएको छ । धेरैको आँखामा देखिने समस्या मोतियाविन्दु हो । त्यसैले क्लब र अस्पतालले यही समस्याका लागि नागरिकलाई सेवा प्रदान गर्दै आएका छन् । मोतियाविन्दु रोग भन्दा पनि समस्यामात्र भन्दा पनि हुन्छ । तर समयमै यसको उपचार नभएमा रोगका रुपमा विकास हुन्छ । त्यसपछि आँखामा ठूला समस्या पर्ने छन् । आँखाको नानी वरपरको भागमा देखिने सेतो धब्बानै मोतिविन्दु हो । यसको उपचार पद्दति कठिन छैन तर पनि दुरदराजका नागरिकहरु उपचार तथा अस्पतालको पहुँचमा छैनन् । तसर्थ समस्या बढ्दै जाने गरेको छ । यस्ता समस्या निराकरणका लागि स्थानीयदेखि केन्द्र सरकारले पनि विशेष कार्यक्रमहरु सन्चालन गर्नु आवश्यक छ ।





सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18979680 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top