14 Oct 2019   |   
logo
सम्पादकीय

सुरुङमार्गको चर्चा



सम्पादकीय   1053 पटक पढिएको   सम्पादकीय     

सुरुङमार्ग निर्माणको विषय मकवानपुर उद्योग वाणिज्य संघदेखि दलीय राजनीतिक निर्वाचनको मुख्य मुद्दा बन्दै आएको छ । उद्योग वाणिज्य संघको निर्वाचनमा विगत केही वर्षदेखि यो विषयले नेतृत्व फेरवदल समेत गरेको देखिन्छ ।

यसैक्रममा स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि भीमफेदी–कुलेखानीको सुरुङमार्गले उच्च प्राथमिकता मात्र पाएन कि पहिलो काम यही मार्ग निर्माणको सुरुवात हुनेसम्मका भाषण गरिए । आफ्ना मतदातालाई झुक्याउने महत्वपूर्ण मसलाका रुपमा रहेको सुरुङमार्गले अब चाहीँ गति लिने हो कि भन्ने केही संकेत देखिएका छन् । प्रदेश ३ सरकारले नीति तथा कार्यक्रम र वजेटमा समेत यो मार्गलाई उच्च महत्वमा राखेको छ । तर नागरिकले यत्तिकैमा विश्वास गरेका थिएनन् तर निर्माणको जिम्मेवारी लिएको कम्पनीसँगको सम्झौता रद्द गर्न ३ नम्बर प्रदेश सरकारले प्रक्रिया सुरु गरेपछि सुरुङमार्ग निर्माणका लागि विश्वासको वातावरण बन्दै गएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुरुङमार्ग सहमति अनुसार काम भएको भए अहिलेसम्ममा सम्पन्न भई सक्नुपर्ने थियो । निजि क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनि (एनपीबीसीएल) ले महत्वाकांक्षी आयोजनाको रुपमा निर्माण सम्झौता हुँदाको समय निक्कै गर्विलो उपलब्धीको रुपमा व्याख्या गरेको थियो । तर, छोटो अवधिमै कम्पनीका शेयरधनीहरु बीचको विवाद, लगानीको अनिश्चितता र आमनागरिकको विश्वास जित्न नसक्नु कम्पनीको कमजोरी देखिन्छ । त्यतिमात्र होइन कि छोटो दुरीका कुनै पनि सडक मार्गहरुलाई सफल हुन नदिने तत्वहरु पनि सक्रिय हुने गर्दछ । सुरुङमार्ग बनेमा मोटरपार्टसहरुले लामो समय काम गर्ने भएपछि पार्टस्का कारखानाहरुको कारोबार घट्ने भएकाले यस्ता योजनाहरु विफल बनाउन व्यापारिक राजनीति पनि सक्रिय हुने गर्दछन् । तर अब यो मार्ग निर्माणमा कुनै पक्ष बाधक बन्ने छैनन् र मार्ग निर्माण चुनावी नारामा मात्र सीमित हुनुहुँदैन । प्रदेश सरकारले सुरुङमार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदनका लागि चालु आर्थिक वर्षमा ५ करोड विनियोजन गरेको छ । प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा लिएको यो मार्गलाई पोष्ट बहादुर बोगटी हेटौंडा–काठमाडौं सुरुङमार्ग नामाकरण समेत गरिसकेको छ । निजि क्षेत्रबाट सुरुङमार्ग निर्माण अनिश्चित भएपछि प्रदेश मुख्यमन्त्रीले सुरुङमार्ग निर्माणलाई विशेष महत्व दिँदै आएको अवस्था छ ।

नेपाल पूर्वाधार निर्माण कम्पनीले मुनाफाको आश देखाएपछि विशेषगरी कुलेखानी, भीमफेदी, फाखेल र जिल्ला भरिबाट शेयरका रुपमा समेत लगानी गरेका थिए । तर कम्पनीले मार्ग नबनाउने पक्क भएपछि नागरिकको लगानीको अवस्था के हुने भन्ने प्रश्न पनि यतिबेला उठेको छ । यस विषयमा ठोस निर्णय हुनु आवश्यक छ । यता कम्पनीबाट भएका कमीकमजोरी वा आर्थिक कारोबारका विषयमा पनि छानविन हुनुपर्ने हो कि ? नेपाल पूर्वाधार विकास कम्पनीले लामो समयसम्म पनि लगानीको रकम जुटाउन नसकेपछि अन्यौलमा रहेको मार्ग निर्माणका लागि  प्रदेश सरकारको सक्रियता आशा लाग्दो देखिएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा निर्माण गर्ने यो मार्ग अब भीमफेदीबाट चिसापानीगढी हुँदै कुलेखानी पुग्ने सडकको विकल्पमा मात्रै सुरुङमार्ग बनाउने प्रस्ताव छ । भीमफेदीबाट कुलेखानीसम्मको साढे तीन किलोमिटरको सुरुङमार्गका लागि करिब ११ अर्ब ५० करोड रुपैयाँ लाग्ने छ । प्रदेश सरकारले महत्व दिएको यो मार्ग निर्माण कुनै पनि बहानामा रोकिनु हुँदैन ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14807544 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top