08 Dec 2019   |   
logo
सम्पादकीय

अस्पतालमा विश्वास बचत गरौं



सम्पादकीय   1167 पटक पढिएको   सम्पादकीय     

हेटौंडा अस्पताल पछिल्लो समय निकै सुधारोन्मुख देखिएको छ । अस्पतालले प्रवाह गर्ने सेवा गुणस्तरीय र विश्वसनीय हुन थालेको सर्वसाधारणले पनि महशुस गरेको पाइन्छ । तर हेटौंडा अस्पतालले आजसम्म धेरै फड्को मारी सक्नुपर्ने थियो । जानेर वा नजानेर हेटौंडा अस्पताल पनि राजनीतिको शिकार बन्दै आएको छ । जिल्ला अस्पतालहरुको संरचनागत अवस्थाले राजनीतिक नियुक्ती हुनु स्वभाविक नै हो । अघिल्लो व्यवस्थापन समितिले थालेका काम पछिल्लोले निरन्तरता दिने वा थप सुधारका लागि पहल हुनुपर्ने थियो । तर त्यस्तो गरेको, भएको देखिँदैन । जसको मार अस्पताल र सेवाग्राहीले भोग्नु परिरहेको छ । त्यतिमात्र होईन कि अञ्चल अस्तालको वोर्ड समेत राजनीतिक दाउपेचका कारण जिल्ला अस्पतालमा रुपान्तरण भएको चर्चा बेलाबेलामा हुने गरेको छ । यही राजनीतिक खिचातानी बीच पनि पछिल्लो समय हेटौंडा अस्पतालको विकास र विश्वसनीयतामा आशालाग्दो सुधार हुँदै गएको पाईन्छ ।

हेटौंडा अस्पतालमा गत आर्थिक वर्षमा साढे ६६ लाख रुपैयाँ बचत भएको भएको छ । आर्थिक वर्ष २०७२/०७३ मा भन्दा गएको आर्थिक वर्ष २०७३/७४ मा करिब साढे सात लाख रुपैयाँ कम बचत भएको देखिएको छ । सडक विस्तार सँगै अस्पतालका व्यावसायिक सटर भत्किएपछि सटरभाडावापत हुने आम्दानीमा कमी भएको हो । सटर नभत्किएको भए अस्पतालको बचत ८० लाख रुपैयाँ भन्दा बढी हुने अनुमान गर्न सकिन्छ । तर जति बचत भएको छ त्यो पनि कम होईन । किनकी अस्पताल भनेको आम्दानी गर्ने भन्दा पनि सेवा प्रवाह गर्ने निकाय हो । उसले जति आम्दानी गर्दछ सोही अनुसारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्नु पर्दछ । अस्पतालले गत आर्थिक वर्षमा सेवा प्रवाह वापत ४ करोड भन्दा बढी खर्च गरेको जनाएको छ । यो खर्च अघिल्लो वर्ष भन्दा ६० लाख बढीे देखिन्छ । अस्पतालको अन्य आम्दानी भन्दा पनि सेवा प्रवाह वापतको आम्दानी महत्वपूर्ण हुन्छ । अस्पतालले वहिरंग सेवा, एक्सरे, प्रयोगशाला, अल्ट्रसाउण्ड, एम्बुलेन्स सेवा आदिबाट गरेको आम्दानी र खर्चले अस्पतालको सेवा विस्तारलाई मापन गर्दछ । त्यसैले आम्दानी बढी भन्दा पनि गुणस्तरीय सेवा विस्तार हुन सक्नुपर्छ ।

अस्पताल विकास समितिमा आम्दानी र खर्चको हिसाव भन्दा पनि आम नागरिकको सन्तुष्टिको हिसाव महत्वपूूर्ण हुन जान्छ । रकम बचत गर्नु भनेको व्यावसायिकता हो । तर अस्पतालले बचतलाई भन्दा पनि सेवा प्रवाह र त्यस वापतको खर्चलाई ध्यान दिनु पर्दछ । उसको बचत भनेको जनताको विश्वास नै हो । यतिबेला हेटौंडा अस्पताल रिफर सेन्टरबाट सुधार हुँदै अस्पतालको स्वरुप लिन लागेको अवस्था छ । यसमा थप विशेषज्ञहरुको व्यवस्थापन, आधुनिक उपकरणहरुको उपलव्धता र प्रशासनिक चुस्तताले नै सेवाग्राहीले गुणस्तरीय सेवा पाउन सक्छन् । सकेसम्म सबै प्रकारका विरामीलाई हेटौंडा अस्पतालले सुलभ तरिकाबाट सेवा दिन सकेमा नै आमनागरिकको विश्वास बढ्ने छ । जनताको विश्वास नै अस्पतालको सबैभन्दा धेरै र दीर्घकालिन आम्दानी हो । समयानुकुल गुणस्तरीय सेवाप्रवाह गर्दै जनसेवामा समर्पित रहँदै जनविश्वास आर्जन गर्नेतर्फ हेटौंडा अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीले ध्यान पु¥याउनु पर्नेछ । जसका लागि अस्पताल विकास समिति सहयोगी र अगुवा हुनु अनिवार्य छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18977652 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top