14 Oct 2019   |   
logo
सम्पादकीय

सुनौला होइन, सुनसान हजार दिन



सम्पादकीय   1104 पटक पढिएको   सम्पादकीय     

मातृ–शिशु स्वास्थ्यका दृष्टिकोणले अत्यन्त संवेदनशील समय हो गर्भावस्था र सुत्केरी भएको करिब दुई वर्ष । यही संवेदनशीलतालाई मध्यनजर गरेर नै एउटी महिला गर्भवती भएपछि सुत्केरी भएको दुई वर्षको अवधिसम्म उसको उचित स्याहार जरुरी रहने भन्दै दाताको सहयोगमा सरकारले ‘सुनौला हजार दिन’ कार्यक्रम सञ्चालन गरेको छ । समुदायमा आधारित भएर मातृ–शिशु स्याहारका लागि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा गर्नु पर्ने कार्यलाई सुक्ष्म रुपमा पहिचान गरी सुनौला हजार दिन कार्यक्रमले महत्वपूर्ण कार्य हुनुपर्ने निक्र्योल गरेको छ । जसले गर्भवती महिला र उसले जन्मदिने सन्तानको सुरक्षित अवस्थालाई सुनिश्चित गर्ने अपेक्षा गरेको छ । सुनौला हजार दिन मकवानपुरका दुर्गम ग्रामीण क्षेत्रमा कार्यान्वयनमा आएको छ । तर, सुनौला हजार दिन कार्यक्रम प्रभावकारी भने हुन सकेको छैन ।


परियोजनाको रुपमा सञ्चालित कार्यक्रम भएकोले मुख्यतः कार्यान्वयन गर्ने इकाई नै सक्षम र जिम्मेवार हुन नसकेको देखिन्छ । जिल्ला विकास समितिमा रहने एउटा युनिटले ग्रामीण क्षेत्र लक्षित कार्यक्रम कार्यान्वयनको जिम्मेवारी दिइनु नै गलत अभ्यास हो । ग्रामीण क्षेत्रमा लक्षित क्षेत्रको पहिचान, उनीहरुलाई अभिमुखीकरण गर्ने, व्यवहारमा परिवर्तन गर्ने काम सजिलो हुन्न । ग्रामीण क्षेत्रमा गर्भधारण भएको पहिचान हुन र त्यसलाई खुला रुपमा चर्चाका लागि सहभागी गराउन सजिलो छैन । स्वास्थ्य संस्थाको पहुँच पनि सहज हुन्न । गर्भवती महिलाले अपनाउनुपर्ने सतर्कता, प्राप्त गर्नुपर्ने पोषण, आराम र उचित परामर्शको सम्भावना पनि ग्रामीण क्षेत्रमा हुन्न । यस्तै समस्याका कारण नै सुनौला हजार दिन कार्यक्रमको परिकल्पना गरिएको हो । यस्तोमा कार्यान्वयन गर्ने तह नै समुदायसम्म पुग्न नसक्दा समस्या हुने हो ।

सुनौला हजार दिन कार्यक्रमबाट लक्षित समुदायले लाभ लिन पाउने अवस्था नबन्नुमा जिम्मेवार अधिकारीलाई सचेत गराइनुपर्छ । राज्यले एउटा समस्यालाई सम्बोधन गर्ने गरी तय गरेको योजनालाई नै असफल बनाइनु सामान्य विषय होइन । लक्षित उद्देश्य स्वभाविक रुपमा पूरा गर्ने, अझ लक्षित समय भन्दा छिटो र लागत भन्दा कममै योजना सम्पन्न गरेर समुदाय र मुलुकका लागि लाभको अवस्था सिर्जना गर्नुपर्नेमा सम्बन्धित अधिकारीहरु गैरजिम्मेवार भएर राज्यको लगानी समेत खेर जाने गरी भइरहेको मि कमजोरीलाई दण्डित नगर्ने, जवाफदेही नबनाउने हो भने भावी दिनमा यस्ता गलत प्रवृत्तिहरु दोहोरिने खतरा रहन्छ । यसर्थ महत्वपूर्ण सुनौला हजार दिनलाई सुनसान हजार दिनको रुपमा असफल बनेको अवस्थाले भावी दिनमा जिल्लाकै विकासमा बाधा पुगेको बुझ्नुपर्छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803167 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top