14 Oct 2019   |   
logo
सम्पादकीय

जिम्मेवार भएर निर्णय गर



सम्पादकीय   1117 पटक पढिएको        

सम्पादकीय दुई दशकपछि स्थानीय तहमा अधिकार सम्पन्न नयाँ नेतृत्व निर्वाचित भएका छन् । स्थानीय तहमा जनप्रतिनिधिको उपस्थितिले आम रुपमा उत्साह थपिएको छ । जनताको उत्साह देखेर जनप्रतिनिधि पनि उत्साहित हुनु स्वभाविक हो । निर्वाचनको समयमा प्रसस्त तनाव व्यहोर्दै नतीजा आफ्नो पक्षमा प्राप्त गरेका विजयी उम्मेदवारहरु यतिबेला वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामा प्रवेश गरेर सुरुवाती निर्णयहरु गर्न सुरु गरेका छन् । जनप्रतिनिधिको निर्णय के, कस्तो हुने भन्ने चासो आम रुपमा रहँदै आएको छ । हिजोका दिनमा कर्मचारीले सञ्चालन गरेको स्थानीय निकाय अहिले अधिकार सम्पन्न स्थानीय तहको रुपमा रुपान्तरिक भई निर्वाचनबाट पदबहाली भएका जनप्रतिनिधिले प्रभावशाली काम प्रदर्शन गर्ने योजना बनाउनु स्वभाविक हो ।

जननिर्वाचितहरुको सुरुवाती चरणका निर्णयहरु महत्वपूर्ण हुनेछन् । सुरुवातका निर्णयहरुले आगामी ५ वर्ष कस्तो काम गर्नेछन् जनप्रतिनिधिले भनेर नागरिकले आँकलन गर्न सक्नेछन् । जनप्रतिनिधिले आवेगमा र सस्तो लोकप्रियताका लागि नभई उपयुक्त र कार्यान्वयन गर्न सकिने, आवश्यक किसिमका निर्णय गरेर अगाडि बढ्नु राम्रो हुन्छ । कानुनको परिधिमा रहेर तत्कालिन, अल्पकालिन र दीर्घकालिन लाभ हानीलाई सुक्ष्म रुपमा केलाएर निर्णय लिनेतर्फ ध्यान पु¥याउनुपर्छ । स्थानीय तहमा फरक राजनीतिक दलका उम्मेदवारहरु विजयी भएर गएका छन् । उनीहरुबीच वैचारिक असहमति स्वभाविक जस्तो लाग्न सक्छ । तर, अब फरक राजनीतिक समूह भन्दा पनि नागरिकको सेवा गर्नुपर्ने जिम्मेवारीका आधारमा सबैको समान अधिकार र भूमिका रहनुपर्नेमा स्पष्ट हुनुपर्छ ।

वडा, गाउँ, नगरका प्रमुखहरुले निर्णयको प्रक्रियालाई पनि एकल नभई सामूहिक निर्णय र जिम्मेवारीमा आधारित भएर कामलाई अगाडि बढाउनु बुद्धिमतापूर्ण हुनेछ । लोकप्रियताका लागि तत्काल र ठूला निर्णय गर्नुभन्दा ढिलो तर, कार्यान्वयन गर्न सकिने र निर्णय भएलगत्तै कार्यान्वयनमा ल्याउन सकिने किसिमको निर्णयहरु गरिनु पर्छ । कुनै पनि सन्दर्भमा निर्णय गर्दा जनप्रतिनिधिले विज्ञ समूहको परामर्श लिनु उचित हुनेछ । आवश्यक्ताअनुसार सरोकारवालासँग अन्तरक्रिया, परामर्श पनि गरिनुपर्छ । अहिलेका जनप्रतिनिधिहरु प्राविधिक ज्ञान भएका छैनन् । यसर्थ प्राविधिक विषय वा विषयगत क्षेत्रसँग आवश्यक परामर्श गरेर मात्रै निर्णय गरेर अगाडि बढ्न सक्नुपर्छ । डेढ दशकदेखि जनप्रतिनिधिविहिन रहेको अवस्थामा स्थानीय तहमा धेरै समस्याहरु चाङ लागेर बसेका छन् । कतिपय समस्या रोगकै रुपमा जकडिएर बसेका छन् । त्यस्ता समस्यालाई तुरुन्तै र तत्कालै समाधान गर्छु भनेर महत्वाकांक्षी पनि बन्नु हुन्न । समस्या र अवसर दुबैको विस्तृत अध्ययन गरेर सापेक्ष रुपमा समस्या समाधान र अवसरलाई आत्मसात गर्ने गरी निर्णय गर्नुपर्छ । लोकप्रियताका लागि निर्णय गर्ने गलत प्रवृत्ति भन्दा पनि कार्यान्वयनमा ल्याउन सक्ने निर्णयहरु गरेर निर्णयको कार्यान्वयनपछि प्राप्त हुने दीगो लोकप्रियताका लागि जनप्रतिनिधिहरुको जिम्मेवारीपूर्ण भूमिका आवश्यक छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14807453 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top