08 Dec 2019   |   
logo
शिक्षा

पशुपतिनाथ मावि ४५ औं वर्षमा जनप्रतिनिधिद्वारा विद्यालयलाई सहयोग



शिक्षा   100 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविले आइतबार ४४ औं वार्षिकोत्सव मनाएको छ । सिमान्तकृत समुदाय वनकरियाका बालबालिका अध्ययन गर्ने नेपालकै एकमात्र विद्यालयको रुपमा रहेको पशुपतिनाथ माविको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले पशुपतिनाथ माविलाई नमूना विद्यालयको रुपमा विकास गर्न आग्रह गर्नुभयो । आफूले प्राथमिक शिक्षा पशुपतिनाथ माविबाटै लिएको बताउनुहुँदै उपाध्यक्ष बिष्टले विद्यालयको भौतिक सुबिधासँगै गुणस्तरीय शिक्षामा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।



गाउँ शिक्षा प्रमुख हरिश्चन्द्र सापकोटाले तहगत दरबन्दी अभावका बीच पनि पशुपतिनाथ माविले बालबालिकालाई गुणस्तरीय शिक्षाका साथ रचनात्मक क्रियाकलापमा पनि जोड दिइरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष ध्रुब खड्काले विद्यालयमा आवश्यक दरबन्दी अभावबीच पनि गुणस्तरीय शिक्षा दिन अग्रसर भएकोमा खुशी व्यक्त गर्नुभयो । आफ्नो एक महिनाको तलबभत्ता विद्यालयका गरिब तथा जेहेन्दार २० जना बालबालिकाको अध्ययनमा खर्च गर्ने पनि उहाँले घोषणा गर्नुभयो । अध्यक्ष खड्काले वनकरिया समुदायका ११ जना बालबालिकाको शिक्षामा सहयोग गर्न वडाका जनप्रतिनिधि भीमलाल रुम्बा, बिष्णु प्रजा, सृजना सुनार, गोमा गौतमसहित आफ्नो एक महिनाको तलबभत्तावापतको ३७ हजार रुपैयाँ विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यलाई चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयले आयोजना गरेको विविध खेलकुद प्रतियोगिताका विजेता छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । पशुपतिनाथ मावि पूर्वविद्यार्थी संगठनले विद्यालयको ४५ औं स्थापना दिवसको अवसरमा मनहरी गाउँपालिकाभित्रका ८ वटा माविका विद्यार्थीबीच सय मिटर, तीन सय मिटर दौड, सटपुट थ्रो, ज्याभलिङ थ्रोलगायत प्रतियोगिता आयोजना गरेको थियो ।

मनहरी गाउँपालिकाभित्रका विद्यालयस्तरमा पहिलोपटक आयोजना गरिएको सो प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयलाई पनि पुरस्कृत गरिएको थियो । यसैबीच पूर्वविद्यार्थी संगठनले आइतबार बिहान विद्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको संगठनका अध्यक्ष पुष्कर रेग्मीले जानकारी दिनुभयो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18978842 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top