19 Jan 2020   |   
logo
समाज

पुरुषकै साथमा लैंगिकमैत्री समाज



समाज   51 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १८ बुधवार  
हेटौंडाः अधिकांश लैंगिक हिंसाका घटनामा महिला पीडित र पुरुष पीडकको रुपमा रहने गरे पनि लैंगिकमैत्री समाज बनाउन पुरुषकै साथ र सहयोग जरुरी रहने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सिविन मकवानपुरले मंगलबार हेटौंडामा आयोजना गरेको लैंगिक समानताका लागि पुरुष सहभागिता एवम् पुरुष सहभागिता रणनीति २०७५ सम्बन्धी अन्तरक्रियामा सहभागीले महिलालाई सशक्त बनाउन पनि पुरुषकै साथ र सहयोग जरुरी हुने औँल्याएका हुन् ।

पुरुषकै साथमा लैंगिकमैत्री समाज


अन्तरक्रियामा सहभागी वक्ताहरु ।

प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले लैंगिक हिंसा दण्डनीय अपराध भएको भनी कानुनमा व्यवस्था भए पनि सोचाई र व्यवहारमा परिवर्तन हुन नसक्नुले लैंगिक हिंसाका घटना भइरहेको उल्लेख गर्नुभयो । सृष्टिमा नभई दृष्टिमा दोष भएको तथ्यलाई बुझ्नुपर्नेमा उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले महिला सशक्तीकरणमा साथ र सहयोेगका लागि सहयोगी पुरुष समूह निर्माण गरेको स्मरण गर्नुहुँदै टोल विकास समूहलाई परिचालन गरेर लैंगिक हिंसाका घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो । जनप्रतिनिधि महिला र पुरुषलाई एकैथलोमा राखेर लैंगिक हिंसाका बारेमा जानकारी गराउनुका साथै जिल्लाको समग्र रणनीति बनाएर काम गर्नुपर्ने पुडासैनीले धारणा राख्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले भने लैंगिक हिंसा जस्तै अन्तरपुस्ता हिंसाका घटना अझ गम्भीर बन्दै गएको भनी चिन्ता व्यक्त गर्नुभयो । न्यायिक समितिकी संयोजक समेत रहनुभएकी उपमेयर लामाले बुढो बाउले छोरा–बुहारीले हेरेनन् भनेर दुख पोख्न आउने गरेको बताउनुभयो । उपमहानगरपालिकाले राष्ट्रिय रणनीतिलाई हेरेर स्थानीय वस्तुस्थितिका आधारमा लैंगिक हिंसा न्यूनीकरणको रणनीति तयार पारिने बताउनुुभयो । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष्ँ पार्वती रानाले हिंसाका घटनामा महिलाहरु सहजै खुले पनि पुरुषहरु खुलेर आफ्ना समस्या राख्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । लैंगिक हिंसाका विषयमा जनप्रतिनिधिका श्रीमान्-श्रीमतिबीच नै अन्तरक्रिया गर्नुपर्ने सुझाव उपाध्यक्ष लामाको थियो । हरेक दिन राजनीतिक, सामाजिक क्षेत्रमा सक्रिय हुनुपर्ने राजनीतिकर्मी, समाचार लेख्न हिँड्ने पत्रकारको घरमा पनि श्रीमान्-श्रीमतिबीच असन्तुष्टिका विषय रहने भन्दै उहाँले आपसमा अन्तरक्रिया गराउन सके पनि हिंसाका सम्भावनालाई घटाउन सकिने बताउनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधीवक्ता हरि भट्टले विद्यालयको पाठ्यक्रममै राखेर लैंगिक हिंसाबारे सचेतना अभिवृद्धि गर्न सके बालबालिकाकै अवस्थामा लैंगिक रुपमा विभेदको दृष्टिकोण हटाउन सकिने बताउनुभयो । वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले शिक्षित-अशिक्षित दुबै परिवारमा हिंसाका घटना भएको भनी प्रहरीमा उजुरी दर्ता हुने गरेको जानकारी गराउनुभयो । पछिल्लो ३ वर्षको तथ्यांकले पुरुष पनि हिंसामा परेको घटना बढ्दो क्रममा रहेको भण्डारीले उल्लेख गर्नुभयो । कार्यक्रममा सिविनका कार्यक्रम व्यवस्थापक ध्रुब गौतमले लैंगिक समानताका लागि पुरुषको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23857400 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top