19 Jan 2020   |   
logo
समाज

विद्युत प्रसारण आयोजनामा नागरिकको आक्रोश



समाज   81 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १७ मंगलवार  
हेटौंडाः नेपाल विद्युत प्रसारण आयोजनाको लागि गरिएको सार्वजनिक सुनुवाईमा प्रसारण लाइनको खण्डमा परेका थानाभर्याङका नागरिकहरुले आक्रोश पोखेका छन् । सोमबार जिल्ला समन्वय समिति परिसरमा भएको कार्यक्रममा चराचुरीङिगको क्षतीको बारेमा मूल्यांकन गरिएको तर मानवीय क्षतिको बारेमा कुनै विकल्प नखोजिएको भन्दै सार्वजनिक सुनुवाइमै आयोजनाबाट प्रभावित व्यक्तिहरु आक्रोशित भएका हुन् ।

विद्युत प्रसारण आयोजनामा नागरिकको आक्रोश


मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) को आयोजनामा भएको विद्युत प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तथा सार्वजनिक सुनुवाई कार्याक्रममा वडा नम्बर ११ का नागरिकले विरोध गरेका छन् । आयोजनाका नाममा थानाभर्याङमा निजी व्यक्तिको जग्गामा किल्ला गाडिएको र जग्गाधनीलाई, स्थानीय वडा कार्यालयलाई थाहै नदिई कार्य अगाडि बढाएकोप्रति स्थानीयले आक्रोश पोखेका थिए । वातावरणीय प्रभावको मुल्यांकन, लाइन प्रसारण गर्न वडाबासीहरुमा कुनै सहमति, सरसल्लाह नगरिकनै जबरजस्ती किल्ला गाडिएको र  मानवीय क्षतिको मूल्यांकन नगरी घना मानववस्तीलाई जोखिम पार्ने गरी विद्युत प्रसारण लाइन अगाडि बढाउन खोजिएको भन्दै प्रभावित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, ३, ११ र १९ का नागरिकहरुले आयोजनालाई विस्थापित गर्नुपर्ने माग राखेका हुन् । सार्वजनिक सुनुवाईमा एमसिए नेपालले ४०० केभिएको विद्युतलाई प्रसारण ३१२ किलोमिटर अर्थात भारतको सीमादेखि उत्तरतर्फ तराईमा नवलपरासी जिल्लाको बुटवल सवस्टेशन हुँदै उत्तरपूर्वको चुरे पहाड हुँदै तनहुँको दमौली सवस्टेशन एवम् नुवाकोटको रातोमाटेमा सबस्टेशन विस्तार गर्न लागेको हो । सोहि अनुरुप रातोमाटेबाट दक्षिण पूर्व हुँदै मकवानपुर जिल्लाको नयाँ हेटौंडा सबस्टेशनसम्म र अर्को खण्ड पूर्व हुँदै काठमाडौंको लप्सीफेदी सबस्टेशनसम्म पुयौउने बताएको छ । यस अनुसार मकवानपुर जिल्लाको थाहा थाहा नगरको ८ नम्बर वडा, कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ यस्तै राक्सिरा·–१ र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, ३, ११, १९ मा आयोजनाले प्रभाव पार्नेछ । मकवानपुर जिल्लासहित आयोजनाले १० जिल्लाका ३० स्थानीय तहलाई प्रभावित गर्ने एमसिए–नेपालले जनाएको छ ।

हाइटेन्सनले निजी व्यक्तिको जग्गाको मूल्यांकनमा वर्षेनी गिरावट ल्याउने, बैंकिङ गर्न नमिल्ने, तथा महिला बालबालिकाहरुलाई तथा मानवीय स्वास्थ्यमा सोझै असर गर्ने भन्दै प्रभावित पर्ने वडाका बासिन्दाहरुले सार्वजनिक कार्यक्रममा मानव बस्तीबाट प्रसारणलाई बिस्तार नगरी एक सय मिटर परबाट गर्न विकल्प खोज्नुपर्ने बताएका छन् । उनीहरुले आफ्नो पैतृक सम्पत्तीको रक्षा गरेको भन्दै खाली जमिन देखेर विद्युत लाइन रुट नबनाउन आग्रह गरेका छन् । नेपाल सरकार र आयोजनाको कुनै कर्मचारीले पनि प्रभावित स्थानमा छलफल नगरी यस्तो कार्य अगाडि बढाएकोमा स्थानीय बासिन्दाहरुले दुःख व्यक्त गरे । उच्च भोल्टेजको विद्युत प्रसारण लाइनको ४६ मिटर भोगाअधिकार हुने तथा टावरहरु ४० देखि ९० मिटरसम्म हुने जनाएको देखिएको छ । जसमा हाइटेन्सनले गर्दा उच्च विद्युतका कारण पर्ने मानवमा दिर्घकालीन रोगहरुसहित बेफाइदाका बारेमा स्थानीयले आयोजनालाई जानकारी गराएका छन् ।

चराचुरुगिङ, जंगलको विषयमा विकल्प खोजिने तर मानवीय क्षतिमा कुनै विकल्प नखोजेको भन्दै त्यसको विकल्प खोजेर आयोजना अगाडि बढाएमा आयोजना पुरा गर्न सक्दो सहयोग गर्ने समेत स्थानीयहरुले सुझाएका हुन् । एमसिए नेपालका मधुकर खड्काले वातावरणीय प्रभावबारे जानकारी गराउँदै गर्दा स्थानीयहरु आफ्नो आक्रोश राख्दै फिल्डमा पुगेर अध्ययन गरी समस्या, समाधान खोज्न आवश्यक रहेका औँल्याएका हेटौंडा–११ निवासी अजय विडारीले बताउनुभयो । आयोजनाले निजी जग्गामा आएर किल्ला गाडेको वैज्ञानिक नभएको भन्दै वैज्ञानिक पद्दतीबाट अध्ययन गर्न जरुरी रहेको स्थानीयहरु पीडितहरुको भनाइ थियो । यस्तै हेटौंडा–११ का वडाअध्यक्ष गोकर्ण पराजुलीले पनि शून्यबाट आयोजनाका कामहरु सुरु गर्नुपर्ने बताउनुभयो । पहिले भएको कामहरु विस्थापित गरेर शुल्यदेखि सुरु गर्नुपर्ने बताउनुभयो । आफुहरु जनप्रतिनिधी भएर आएपछि जनताको चाहाना र देशको विकासमा सहयोग पुर्याउने भन्दै प्रभावित हरेक वडाका स्थानीय टोलमा पुगेर यस्तो सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने बताउनुभयो । छलफलकै माध्यमबाट समस्या समाधान हुने भन्दै मानवीय क्षति नहुने स्थानबाट मात्र उच्च भोल्टेजका विद्युतलाइन प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । वडाअध्यक्ष पराजुलीले अयोजनाको आधिकारिक मान्छेसँग भेट नभएको भन्दै आधिकारी कार्यालय स्थापना गर्न पनि आग्रह गर्नुभयो । यस्तै हेटौंडा–१९ का वडाअध्यक्ष नमराज सुवेदीले पनि विद्युतलाइन प्रसारण गर्दा सबैभन्दा बढी १९ नम्बरमा प्रभावित हुने बताउनुभयो ।

विद्युत लाइन प्रसारणले वन जंगलका पंक्षि, रुखहरु विनाश हुने भन्दै त्यसको लागि आवश्यक कार्यविधि बनाउनुपर्ने बताउनुभयो । रुखहरु कटान हुने तथा मानवीय क्षति नहुने स्थानबाट मात्रै टावर निर्माण गरी आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । यस्तै गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालले पनि कुन–कुन क्षेत्रमा प्रभाव पार्ने हो सोहि स्थानमा पुगेर छलफल गर्नुपर्ने बताउनुभयो । सार्वजनिक सुनुवाईको प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले आयोजनाले ध्यान दिनुपर्ने स्थानमा ध्यान दिन नसकेको बताउनुहुँदै अप्ठेरो परेको स्थानको पहिचान गरी, बाधा के हो र त्यसको समाधान कसरी गर्ने भनी प्रभावित वडाहरुमा गएर छलफल गरी निष्कर्ष निकाल्नु पर्ने बताउनुभयो । प्रमुख खुलालले स्थानीय समुदायलाई कुनै पनि जानकारी नदिई आयोजना अगाडि बढ्न नसक्ने भन्दै फिल्डमा गएर समस्या समाधान गर्न आयोजक एमसिए नेपाललाई आग्रह गर्नुभयो । यस्तै प्रभावित भएका वडाबासीहरुलाई आयोजनालाई विकासको सकारात्मक रुपमा लिन आग्रह गर्दै मानव वस्तीलाई समस्या नपर्ने स्थानहरुको विकल्प खोजिने बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा जिसस उपप्रमुख भगवती पूडासैनी, हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपाने, ३ नम्बर वडा अध्यक्ष रामकुमार पूडासैनि, पूर्व जिसस सभापति रामेश्वर राना, समन्वय अधिकारी कपिल उपाध्याय लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23860228 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top