21 Nov 2019   |   
logo
समाज

नदिजन्य वस्तु उत्खनन् गर्न १२ करोड कबोल चुरे क्षेत्र संरक्षण गरिने



समाज   11 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २२ शुक्रवार  
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडाको बोकेदहदेखि १९ नम्बर वडाको रजैयासम्म राप्तीखोलाको बगरक्षेत्रबाट नदिजन्य वस्तु उत्खनन् गर्न उपमहानगरपालिकाले सिलबन्दी दरभाउपत्र आव्हान गरेकोमा व्यवसायीले १२ करोड रुपैयाँमा ठेक्का कबोल गरेको छ । चालु आर्थिक वर्षका लागि ३ लाख १५ हजार घनमिटर नदिजन्य पदार्थको उत्खनन् गर्न चितवन जिल्लाको भरतपुर महानगरपालिका–१२ स्थित हिरोज कन्स्ट्रक्सन प्रालिले १२ करोड रुपैयाँमा ठेक्का कबोल गरेको छ । ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनमै सम्झौता हुने हेटौंडा उपमहानगरपालिकाको राजश्व महाशाखा प्रमुख गंगा कुमारी चौलागाईले जानकारी दिनुभएको छ ।



ठेकेदार कम्पनिले भ्याट बाहेक १२ करोड रुपैयाँमा ठेक्का कबोल गर्न लागेको हो । यसअघि गत आर्थिक वर्ष भ्याट बाहेक ९ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हेटौंडा उपमहानगरपालिकाको प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको नदिजन्य पदार्थको उत्खनन्बाट यस वर्ष २ करोड २९ लाख रुपैयाँ बढी आम्दानी हुने भएको छ । उपमहानगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरी उत्खनन् गरिने मात्रा तय गरिएको राजश्व महाशाखा प्रमुख चौलागाईले स्पष्ट पार्नुभयो । राप्तीखोलाको बगरबाट नदिजन्य वस्तु व्यवस्थित रुपमा उत्खनन् गर्ने तयारी गरेको उपमहानगरपालिकाले चुरेक्षेत्रको भने संरक्षण गर्ने जनाएको छ ।

चुरे क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिकाको ६, ७, ८, ९, १४, १५, १६, १७ र १८ नम्बर वडाका खहरेहरुबाट नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् हुने गरेको छ । चुरेक्षेत्रको संवेदनशीलताका कारण उपमहानगरपालिकाले संरक्षण गर्ने नीति लिएको महाशाखा प्रमुख चौलागाईले बताउनुभयो । उहाँका अनुसार गत वर्ष पनि चुरेक्षेत्रमा उत्खनन् निषेध गरिए पनि चोरी निकासी गर्नेलाई कानूनबमोजिम जरिवाना गर्दा उपमहानगरपालिकालाई ८१ लाख रुपैयाँ राजश्व आम्दानी भएको थियो । यस वर्ष कडाईका साथ नियमन गरिने चौलागाईले दावी गर्नुभयो ।

ठेक्का कबोल गर्ने व्यवसायीलाई सम्झौता गर्न आउन पत्राचार गरिसकेको छ । व्यवसायीले कबोल गरेको रकम अग्रिम भुक्तानी गरे १० प्रतिशत छुट हुनेछ । व्यवसायीले ठेक्का कबोल गरेको रकम किस्तामा पनि बुझाउन पाउनेछ । किस्तामा बुझाउँदा भने सम्झौता गर्ने समयमा कबोल गरेको रकमको २५ प्रतिशत भुक्तानी गरेको हुनुपर्नेछ भने बाँकी ७५ प्रतिशत रकमको पनि बैंक ग्यारेन्टी बनाएर राजश्व दाखिला गर्ने किस्ताको ढाँचाको विषयमा ठेकेदार पक्ष र उपमहानगरपालिकाबीचको सहमतिअनुसार हुनेछ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17556556 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top