14 Oct 2019   |   
logo
सम्पादकीय

सबैको शुभ होस्



सम्पादकीय   18 पटक पढिएको   सम्पादकीय   २०७६ असोज १७ शुक्रवार  
नेपालीहरुको विशेष पर्व मध्ये दसैं महत्वपूर्ण चाड हो । सत्यको विजय भएको रुपमा यो चाड मानिन्छ । आफ्ना नाता कुटुम्ब, ठुलाबडा, मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने यसको विशेषता हो । आफ्नो क्षमता अनुसार मिठो खाने खुवाउने, राम्रो लाउने, घर आँगन, बाटो घाटो, गाउँ टोल सफा सुग्घर राख्ने जस्ता कार्य दसैंमा गरिन्छ ।

सबैको शुभ होस्


 विभिन्न किसिमका रमाइलो गर्ने पिङ खेल्ने साथी संगी आफन्तसँग भेटघाट गर्ने हुँदा एक अर्का बीच भाईचाराको सम्बन्ध विकास गराउने पर्व हो । विजयादशमी विशेष चाड भएकोले धेरै टाढा रहेका आफन्तहरु घर फर्कने गर्दछन् । त्यसैले यो पर्वमा केही बढी दिन सार्वजनिक विदा दिने गरिएको छ । परिवारसँग पुनर्मिलनका रुपमा दसैंले महत्व पाएको छ । पारिवारिक मिलन गराउनेदेखि ठूलालाई आदर गर्ने र सानाले आशिर्वाद लिने संस्कारको विकास गराउँदछ । पारिवारिक अनुशासन सिकाउने पर्वका रुपमा पनि लिन सकिन्छ ।  यस्तै व्यावहारिक रुपमा भएका असमझदारी र मनमुटाबलाई बिर्सिएर सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने चाडका रुपमा पनि दसैंको महत्व छ ।

असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म पूजापाठ, ब्रतसाथ नवरात्री मनाईन्छ । घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती चण्डी पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र सरस्वतीको विशेष पूजा आराधनासहित प्रसादका रुपमा टीका लगाउने परम्परा छ । तर यो परम्परालाई केही समुदायले अस्विकार गर्दै आएका छन् । जे भए पनि दसैंले देशका सबै समुदाय, सम्पदाय प्रभावित हुँदै आएको छ । धार्मिक सहिष्णुताका रुपमा पनि यो दसैंलाई उपयोग गर्न सकिन्छ । यस्तै आम नागरिकहरु बीच स्थानीय रुपमा गरिने शुभकामना आदान प्रदानले सवै समुदाय र सम्प्रदाय बीचको भाईचारा विकास गर्दै आएको छ । व्यक्तिगत तनाव समेतलाई बिर्सिएर पर्व मनाउने गरिन्छ । यसरी हेर्दा यो पर्वले नेपाली समाजमा गहिरो सम्बन्ध राखेको छ । मानव सभ्यतासँग जोडिएको दसैं मनाउने क्रममा अन्धविश्वासपूर्ण विचारधारालाई भने परिमार्जन गर्दै जानु पर्दछ ।

पछिल्लो समयमा दसंै पर्वलाई फरक शैलीले मनाउन थालिएको छ । वलि प्रथाको विरोध सुरु भएको छ यो अत्यन्त सकारात्मक पक्ष हो । कुनै पनि देवदेवीलाई कसैको रगत दिँदा कुनै फल प्राप्त हुन्छ भन्नु अन्धविश्वास मात्रै हो । त्यसैले यो प्रथाको अन्त्य हुनुपर्ने भन्दै अभियान सुरु भएका छन् । घुमफीर गरेर आन्तरिक पर्यटनमा टेवा पुराउने युवाहरु पनि छन् । दसैंमा हुने सार्वजनिक विदालाई सदुपयोग गरी देश विदेश घुम्ने र अध्ययन आवलोकनको संस्कारको विकास हुँदै गएको छ । यता केही नकारात्मक परम्पराको सुरुवात पनि हुँदै गएको छ । विगतमा दसैंको विशेषताका रुपमा रहेका रोटे तथा लिंगे पिङहरु हराउन थालेका छन् । दसैं भन्ना साथ बढी खर्च गर्नुपर्ने देखासेखी र खर्चमा प्रतिस्पर्धाको विकास भएको छ । यसले हुँदा खाने र हुने खाने बीचको सम्बन्ध थप गहिरो बन्ने खतरा छ । त्यसैले यसपटकको दसैंमा अन्धविश्वासी परम्परा र आधुनिकताका नाममा हुने अस्वस्थ प्रतिस्पर्धाको अन्त्य होस् र असल परम्पराले निरन्तरता पाउन् । देश विदेशमा रहेका सबै नेपालीको जय र मंगल होस् वडा दसैंको शुभकामना ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803104 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top