18 Nov 2019   |   
logo
स्थानीय तह

कानूनी सहजकर्तालाई अभिमुखीकरण



स्थानीय तह   135 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २५ बुधवार  
हेटौंडाः ३ नम्बर प्रदेशका ६ जिल्लाका स्थानीय तहमा खटिने कानूनी सहजकर्ताहरुलाई हेटौंडामा मंगलबारबाट अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दोलखा, रामेछाप, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा र काभ्रेसहित ५९ स्थानीय तहमा नियुक्त कानूनी सहजकर्ताका लागि २ दिने अभिमुखीकरण सुरु भएको हो ।

कानूनी सहजकर्तालाई अभिमुखीकरण


पहिलो चरणमा ५९ स्थानीय तहको नगर तथा गाउँपालिका उपप्रमुख र जिल्ला समन्वय समितिका उपप्रमुख सहितलाई अभिमुखीकरणमा सहभागी गराइएको छ । ७ जिल्लाको अन्य कानुनी सहजकर्ताहरूलाई अर्को पटकको अभिमुखीकरणमा सहभागी गराइने भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहमा कानूनी सहजकर्ता नहुँदा र भएपछिको फरकपन महसुस हुने गरी कार्य गर्न सहजकर्ताहरुलाई आग्रह गर्नुभएको छ । स्थानीय तह सुदृढ र व्यवस्थित नभएसम्म संघीयता बलियो नहुने भन्नुहुँदै स्थानीय तहलाई बलियो बनाई व्यवस्था बलियो बनाउन प्रदेश सरकार लागी परेको समेत उहाँले बताउनुभयो ।

अहिलेको संघीयतामा स्थानीय सरकार धेरै बलियो हुने भन्नुहुँदै स्थानीय तहलाई व्यवस्थित बनाउन कानुनी सहजकर्ता स्थानीय तहमा प्रदेशको प्रतिनिधी बनाई पठाउन लागेको जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले नियुक्त भएका कानुनी सहजकर्ताहरुलाई स्थानीय तहमा आउने सेवाग्रहिहरुलाई सहयोग गर्ने, स्थानीय न्यायिक समितिलाई सहयोग गर्ने मुख्य जिम्मेवारी रहेको बताउनुभयो । स्थानीय तहमा आफ्नो भूमिका आफैंले खोज्नुपर्ने भन्नुहुँदै सहजकर्ताहरुले गाउँपालिका तथा नगरपालिकाको निगरानी राख्न पनि निर्देशन दिनुभयो । उहाँले अब कामको मूल्यांकन हुने भन्नुहुँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कार गर्ने तथा कुनै भ्रष्टाचार र लोभलालच पर्नेमाथि सरकार कठोर बन्ने बताउनुभयो । सरकार भ्रष्टाचार विरोधी रहेको बताउनुहुँदै उहाँले कानूनी सहजकर्तालाई त्यसतर्फ संवेदनशील बन्न पनि मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो ।

३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका ११६ वटै स्थानीय तहका लागि अन्तर्वार्ताको प्रक्रियाबाट कानूनी सहजकर्ताहरुको निष्पक्ष छनौट गरेको कानुन मन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभएको छ । उहाँले आफु स्वम् पनि अनुगमनमा जाने र जिल्ला समन्वय समितिको उपप्रमुखलाई अनुगमनको जिम्मेवारी दिइएको जानकारी दिनुभयो । उहाँले पहिलो वर्षको भन्दा अहिले फरक ढंगले अगाडि बढेको भन्नुहुँदै काम गर्नेले अवसर पाउने र नगर्नेलाई जुनसुकै समयमा पनि हटाइने बताउनुभयो ।

नेपालको संविधानमा नागरिकको अधिकार धेरै भएतापनि सबैलाई त्यसबारे थाहा नभएको भन्नुहुँदै राज्यले जनतालाई सिकाउन लगानी गरेको पनि बताउनुभयो । उहाँका अनुसार द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने कार्यविधि अनुसार २६१ नागरिकले छात्रवृति, ४८१ जनाले औषधीउपचार र १५३ जनाले सीपमुलक तालिम प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहका उपप्रमुखहरुलाई प्रदेश सरकारले बनाएको कार्यक्रमहरुलाई लागु गरिदिन पनि आग्रह गर्नुभएको छ । प्रदेश सरकारले बनाएको कानुन स्थानीय तहले पालना गर्नुपर्ने बताउनुभयो । स्थानीय तह, प्रदेश र संघको सम्बन्ध बलियो भएमा संघीयता बलियो हुने उहाँको धारणा थियो । मन्त्री जम्मकट्टेलको अध्यक्षता भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्य न्यायाधीवक्ता ओम थपलिया, मकवानपुर जिल्ला अदालतका न्यायाधीश दिल्लीरत्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362842 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top