20 Sep 2019   |   
logo
सम्पादकीय

साक्षरता अभियान



सम्पादकीय   835 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र २४ मंगलवार  
शिक्षामा सामाजिक निगरानी बढाउन सक्नु पर्दछ । तब मात्र शिक्षा र समुदाय बीचको सम्बन्ध मजबुत भई यस क्षेत्रमा हुने अनियमितता विरुद्ध नागरिक स्वयम् अग्रसर हुन सक्छन् । तर शिक्षा र नागरिकको सम्बन्ध टाढा बन्दै गएको छ । विद्यालयहरुमा कस्तो पाठ्यपुस्तक राख्ने, शिक्षण विधि र पद्दति, परीक्षा प्रणाली तथा शुल्क जस्ता विषयमा अभिभावक र समुदायलाई कुनै जानकारी पनि हुँदैन र समुदाय पनि चासो राख्दैन । जसले गर्दा शैक्षिक क्षेत्रमा केही वर्ग र समुदायको मनोमानी हुँदै आएको छ ।

साक्षरता अभियान


 यो सबै विधि र प्रक्रियामा देखिएका कमजोरीको जिम्मेवारी सरकारले लिनु पर्दछ । कसैलाई देखाएर सरकार जिम्मेवारीबाट भाग्न मिल्दैन । जहाँ कमजोरी छ त्यसलाई सुधार गर्न लगाउने दायित्व सरकारको हो । तर त्यही दायित्व निर्वाह नहुँदा शिक्षाको क्षेत्र थप कमजोर बन्दै गएको छ । त्यसले २१ औं शताव्दिमा पनि नेपाल सरकार शिक्षाको गुणस्तर वृद्धि हैन कि साक्षरता अभियानमा नै रुमलिनु पर्ने अवस्था छ ।

सबै विकासको पूर्वाधार भनेकै शैक्षिक उन्नति हो । जतिसुकै औद्योगिक क्रान्तिबाट रोजगारी श्रृजना भए पनि उद्योग सन्चालनको आवश्यक ज्ञान हुनै पर्दछ । उद्योग कलकारखाना खोलेर मात्र त्यसलाई सन्चालन गर्ने जनशक्ती नभएपछि बेरोजगारीको अवस्थामा कमी आउनै सक्दैन । त्यसैले हाल भईरहेको नेपाली शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ । व्यवहारिक र जीवन उपयोगी शिक्षाको विकास आजको खाँचो हो । तर जतिसुकै परिवर्तनका पक्षधरहरुले शिक्षाको नेतृत्व गरे पनि कुनै नयाँ कार्यक्रम तथा पाठ्यक्रम विकास वा अध्ययन पद्दतिको विकास भएको छैन । आधारभूत तहदेखि लक्ष्य हासिल गर्न सहायक हुने जनशक्ति तयार गर्ने पाठ्यक्रम लागू हुन पर्दछ । सार्वजनिक शिक्षा प्रणालीमा रहेका कमजोरीको पहिचान गर्दै गुणस्तरीय, प्रविधिमैत्री रोजगारमूलक र उत्पादनमुखी शिक्षाको विकास हुनु पर्दछ । विश्वले यस क्षेत्रमा निकै फड्को मारी सक्दा पनि नेपाल भने साक्षरता प्रतिशत बढाउने अभियानमा छ । हालसम्म पनि नेपालका ५१ वटा जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । यस्तो अवस्थामा प्राविधिक शिक्षाको विकास गरी उद्योगधन्दाका लागि जनशक्ति तयार कहिले हुने ?

नेपालमा ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । दिवसका रुपमा मनाउन थलिएको दशकौंको समय छोटो हैन । तर खोइ त नतिजा ? आज पनि साक्षरता अभियानका लागि भएको खर्चको तुलनामा नतिजा आउन सकेको छैन । एकातर्फ विद्यालय शिक्षालाई जोड दिइएको छ भने अर्को तर्फ साक्षरता अभियानमा पनि राज्यको ढुकुटी खर्च भईरहेको छ । तर प्राविधिक जनशक्ती आज पनि विदेशबाटै मगाउनु पर्ने र अध्ययनका लागि विदेशिनु पर्ने बाध्यता यथावत छ । अव नेपालको राजनीतिक स्थायित्वपछि केही आश गर्नु पर्ने हुन्छ । नेतृत्वमा शैक्षिक विकासका लागि ईच्छाशक्तिका साथै योजनाको खाँचो छ । शिक्षालाई अन्तर्राष्ट्रिय रुपमा प्रतिष्पर्धि बनाउन सक्नु पर्दछ । तब मात्र देशलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति स्वदेशमै उत्पादन भई समृद्धिको यात्रामा युवाहरु सहभागी हुन सक्छन् । कुनै एक मन्त्री वा नेताको लहडमा भन्दा विज्ञहरुको परामर्शमा नेपाली आवश्यकतालाई सम्बोधन गर्न सक्ने गरी शिक्षा नीति बनाईनु पर्दछ । तब मात्र शिक्षा र साक्षरता दिवसको औचित्य पुरा हुन सक्छ ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972989 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top