14 Oct 2019   |   
logo
सम्पादकीय

तीज पर्वको शुभकामना



सम्पादकीय   233 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र १६ सोमवार  
नेपाली महिलाहरु यतिबेला हरितालिका तीज पर्व मनाईरहेका छन् । संकल्पको पर्वका रुपमा रहेको हरितालिकामा विशेषगरी महिलाहरु उपवास र उपासनामा रमाउँदछन् । जतिसुकै आधुनिक भए पनि मानिसले जन्मैदेखिको संस्कार छाड्न सक्दैन । नेपाली हिन्दू समुदायले परम्परागत रुपमा मनाउँदै आएको यो पर्व पछिल्लो समय अन्य समुदाय र सम्प्रदायका नागरिकले पनि उत्तिकै महत्व दिन थालेको पाइन्छ । महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले तीजमा युवतीहरू बढी उत्साहित हुने गरेका छन् । विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भएर महिलाहरुले गीत गाउँथे । घरायसी दुख, पीडालाई गीतका माध्यमबाट व्यक्त गरिन्थ्यो । लामो समयसम्म भेटघाट नभएका माईती तथा दिदीबहिनी बीचको आत्मीयता प्रकट हुने तीजलाई पछिल्लो समय आधुनिक सञ्चारका माध्यमहरुले केही प्रभावित पार्न थालेको छ । अहिले रेडियो र टेलिभिजनमा दृश्यसहितका गीत गुञ्जिन थालेका छन् । पहिला छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुस्ख, ईश्र्या आदि विषयले स्थान पाउँथे भने अहिले अधिकार केन्द्रित हुन थालेका छन् ।

तीज पर्वको शुभकामना


विकृति होईन संस्कृतिलाई परिस्कृत तथा सुसंस्कृत बनाउनु पर्दछ । तीज पर्वको विशेषता पनि यही हो । धार्मिक दृष्टिकोणबाट महिला प्रधान मानिए पनि पर्व मनाउनका लागि पुरुष उत्तिकै जिम्मेवार बन्नु पर्दछ । संस्कारयुक्त बनाउन नसक्दा पछिल्लो समय तीज दिन प्रतिदिन खर्चालु, भड्किलो र सामाजिक रुपले विकृत बन्दै जाने खतरा पनि छ । तीजको भड्किलो दर कार्यक्रम, टिकट, एवम् कक्टेल दर तथा डिनर जस्ता कार्यक्रम सर्वग्राह्य विषय हैनन् । फजुल खर्चले प्रधानता पाएको र आफ्नो मौलिकपन हराउने खतरा पनि देखिँदै गएको छ । त्यसैले नेपाली मौलिकता बोकेका जुनसुकै पर्वहरुको संरक्षणका लागि राज्यका तर्फबाट पनि स्पष्ट नीति बन्नु आवश्यक छ । फजुल खर्च नियन्त्रणको कानून नै नभएको होइन । तर त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवार आम नागरिक पनि हो । प्रहरी प्रशासनले सबैका घरमा गएर कति खर्च गरेर पर्व मनायो भनी सोधखोज गर्ने विषय होइन । सबै नागरिकले आफ्नो गच्छे र सामाजिक मान्यता अनुसार पर्व मनाउनु पर्दछ । 

तीजलाई परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय र संस्कारयुक्त बनाउनेमा नेतृत्व लिनु आवश्यक छ । यसका लागि महिला अधिकारका लागि सचेतना बढाउने र अधिकार स्थापित गराउने उद्देश्यबाट पर्वको मान्यता स्थापित गर्नु पर्दछ । देखासिकी र प्रतिस्पर्धाका लागि भन्दा पनि परम्परागत मूल्य र मान्यताको जगेर्ना गर्ने उद्देश्यबाट प्रेरित हुन पर्दछ । प्रतिस्पर्धात्मक रुपमा गरगहनामा सजिने प्रचलनले कमजोर आर्थिक अवस्था भएकहरुलाई तीज चुनौती बन्दै गएको छ । यता पर्व मनाउनका लागि महिला भेला हुने मठमन्दिर तथा सर्वजनिक स्थानहरुमा सुरक्षा चुनौती पनि हुने गर्दछ । त्यसका लागि स्थानीय प्रशासन बढी सचेत हुनु जरुरी छ भने महिला स्वयम् पनि जिम्मेवार बन्नु आवश्यक हुन्छ । विशेषगरी अशक्त तथा विमारीहरुले अन्धविश्वासपूर्ण भक्ति भन्दा पनि आफ्नो ज्यानको ध्यान दिनु पर्दछ । आस्था, विश्वास र क्षमता अनुसार सवै नेपाली महिलाहरुले तीज पर्व मनाउन सकुन् हार्दिक शुभकामना ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14805992 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top