14 Oct 2019   |   
logo
सम्पादकीय

चिन्ता हैन समाधान खोजौं



सम्पादकीय   513 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र १५ आइतवार  
समाजमा पछिल्लो समय मानव बेचबिखनको घटना बढ्दै गएका छन् । यस विषयमा हेटौंडामा सरोकारवालाले व्यक्त गरेको चिन्ताले पनि प्रष्ट पार्दछ । तर चिन्ता गर्नु मात्र पनि निराकरण होइन । त्यसको अर्थ चिन्ता नै नगर्ने भन्ने पनि होइन । किन मानव बेचबिखन बढ्यो भन्ने कुराको गहन अध्ययन हुन आवश्यक छ । २१ औं शताव्दीमा पनि कसरी यस्ता कर्म हुने गर्दछन् भन्ने विषयको अनुसन्धानले मात्र समाधानका उपाय पत्ता लगाउन सकिन्छ । घटना भएपछि दुख मनाउ गर्नु भन्दा चेतनशील समाजले पहिला नै होशियारी अपनाउनु बुद्धिमानी हुन्छ । सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरले गरेको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले समाज विकृत बन्दै गरेको र देह व्यापारका लागि प्रोत्साहन गर्ने तथा बाध्यताका विषयमा तर्क गरेका छन् । समाजमा विकृती बढेको कुरामा सबै सहमत छन् । तर समाधानका लागि कुन निकायले कस्तो तरिकाबाट के काम गर्नु पर्दछ भन्ने सुझाव निकै कम आएका छन् । यसले समाजमा समाधान खोज्ने भन्दा पनि समस्यालाई भयावह रुपमा प्रस्तुत गर्ने प्रवृत्ती वढ्दै गएको देखिन्छ ।

चिन्ता हैन समाधान खोजौं


समाजमा अपराधपूर्ण काम भईरहेका हुन्छन् । नियन्त्रण तथा कारवाहीका लागि सम्बन्धित पक्षलाई दबाव हुनु स्वभाविक हो । तर कहिलेकहीँ अनुसन्धान फितलो हुँदा यस्ता घटनामा निर्दोषले सजाय भोग्नु परेकाका थुप्रै घटनाहरु सर्वजनिक भएका छन् । विशेष गरी गैरसरकारी संस्थाहरुको स्वार्थ र प्रतिशोधपूर्ण उजुर प्रमुख कारण भएको प्रतिवेदनहरुले देखाएका छन् । कतिपय गैरसरकारी संस्थाहरूको अनेक स्वार्थ र मानव बेचबिखनको घटना नियन्त्रणमा आफ्नो भूमिका देखाउने प्रतिस्पर्धाले गर्दा निर्दोषहरु पीडित भन्ने र वास्तविक पीडकहरुले उन्मुक्ती पाएका हुन्छ । यस विषयमा अनुसन्धानकर्ता निकाय र विशेषज्ञहरु विशेष चनाखो र सतर्क हुनु पर्दछ । हेटौंडाको कार्यक्रममा यस्ता घटनाबाट पीडित बनेकाहरुले व्यक्त अनुभव कम पीडादायी छैनन् । त्यसैले काम देखाउने होडमा निर्दोष व्यक्तिलाई दोषी प्रमाणित गराउने प्रयास भन्दा वैज्ञानिक तरिकाबाट अनुसन्धान हुनु आवश्यक देखिन्छ । यस्तै बिना कसुर सजाय भोग्न बाध्य भएकाहरुले कसरी न्याय पाउने भन्ने पक्षमा बहस हुन जरुरी छ ।

समाजको वेथिती, विकृती, कुरुती वा अपराध नियन्त्रणको जवाफदेही प्रहरीलाई मात्र ठान्ने गरिएको छ । आम नागरिक पनि बिना बर्दीका प्रहरी हुन भन्ने चेतनाले काम गरेको देखिँदैन । शान्ति सुरक्षाको पहिलो भूमिका प्रहरीको भए पनि त्यसलाई पुरा गर्ने वा गराउने स्थानमा आम नागरिकाको सकारात्मक भूमिका खाँचो पर्दछ । दोष देखाएर आफ्नो जिम्मेवारीबाट भाग्ने प्रवृत्ति अन्त्य नभएसम्म प्रहरीको एक्लो प्रयासले मात्र शान्ति सुरक्षादेखि मानव बेचविखन नियन्त्रण सम्भव छैन । अपराधजन्य घटनामा प्रहरीको निगरानी हुनु, मानव बेचबिखन तथा देहव्यापारमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन प्रहरी पूर्ण सफल छैन । तर यस काममा नागरिकका तर्फबाट सकारात्मक सहयोग कति गरिएको छ भन्ने प्रश्न पनि आफैँलाई प्रत्येक नागरिकले सोध्नु पर्दछ । समाजमा अपराध हुनाका कारणहरु पत्ता लगाई नियन्त्रणमा प्रहरीसहित आमनागरिक बीचको सहकार्य थप मजबुत हुन आवश्यक छ । त्यसैले मानव बेचविखन र अपराध वढेकोमा मात्र चिन्ता नभई समाधानका लागि पनि वहस जरुरी छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14804664 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top