14 Oct 2019   |   
logo
सम्पादकीय

क्रसर व्यवसायीका गुनासा



सम्पादकीय   560 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र १३ शुक्रवार  
सरकार सबै नागरिकका लागि अभिभावक हो । उसले गर्ने व्यवहार सबैका लागि समान हुनु जरुरी छ । सरकार र सत्ताको नजर सबैमा समान हुनु पर्दछ । तर कसैलाई काखा र कसैलाई पाखाको अवस्था श्रृजना भयो भने त्यतिबेला विद्रोहको विजारोपण हुन जान्छ । नेपाली सत्ताले हिजोसम्म त्यस्तै व्यवहार गर्दै आएकाले आज नयाँ व्यवस्था स्थापित भएको हो । नागरिक आफैंले ल्याएको सत्तामा पनि सरकारबाट अन्याय भएको महशुस गर्नु परेको भन्दै फेरी आवाज उठ्न थालेका छन् । यस्ता आवाजलाई समयमै उचित सुनुवाई हुनु आवश्यक छ । यतिबेला क्रसर व्यवसायीहरुले आफुहरु अन्यायमा परेको गुनासोसहित सरोकारवाला निकायमा धाउन थालेका छन् । व्यवसाय गर्न पाउने अधिकारदेखि आम नागरिकको भौतिक पूर्वाधार निर्माणका विषयमा व्यवसायीहरुले चासोसहित प्रदेश सरकारसँग गुनासो गरेका छन् । किन यस्तो भयो, बुझाईमा कमजोरी हो वा साँच्चै सरकारको व्यवहार नै फरक हो ? विश्लेषण र छलफलको विषय बनेको छ । नागरिक आफैंले निर्वाचित गरेको सरकारबाट एउटै प्रकृतिको व्यवसायमा अलग अलग जिल्लामा फरक व्यवहार महशुस गर्नुपर्ने अवस्था आएको हो भने सरकारले तत्काल सच्याउनु पर्दछ ।

क्रसर व्यवसायीका गुनासा


मकवानपुरका क्रसर तथा बालुवा उद्योगीहरूले उपमहानगरपालिका मार्फत प्रदेश ३ कोे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएका छन् । लामो समयदेखि क्रसर उद्योग बन्द हुँदा व्यवसायीहरु मात्र हैन कि विकास निर्माणका काममा समेत प्रभाव परेको र मजदुरहरुको रोजगारी समेत गुमेको भन्दै व्यवसायीहरुले क्रसर उद्योगहरु सन्चालन गराउन माग गरेका छन् । असार मसान्तपछि मकवानपुरका क्रसर उद्योगहरु बन्द गरिएको छ । नियम विपरित क्रसर उद्योगहरु सन्चालन भएका भन्दै प्रदेश सरकारले उद्योगहरु बन्द गराएको थियो । तर अरु जिल्लाहरुमा यही प्रकृतिका उद्योगहरु निर्वाध रुपमा सन्चालन भएका भन्दै मकवानपुरका व्यवसायीहरुले गुनासो गरेका छन् । प्रदेश सरकारले अन्य जिल्लामा सन्चालन गर्न दिएको र आफुहरु मात्र मर्कामा परेको मकवानपुरे व्यवसायीहरुको भनाइ छ । यदि यसो भएकै हो भने यस विषयमा प्रदेश सरकारले स्पष्ट पार्नु जरुरी छ ।

व्यवसायीहरुले ज्ञापनपत्रमा प्रदेश सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । सरकारले प्रदेश ३ भित्र रहेका सबै क्रसर उद्योगहरु बन्द गराउन नसकेको र मकवानपुर जिल्लाका मात्रै क्रसर उद्योगहरु बन्द गराएको व्यवसायीहरूले आरोप छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेका २ दर्जन क्रसर उद्योगले जिल्लाका १ हजारभन्दा बढीलाई रोजगारी दिएको क्रसर उद्योगलाई राज्यले उपेक्षा गरेको उनीहरुको गुनासो रहेको छ । प्रदेश सरकार १५ करोड र संघीय सरकारलाई २० करोड भन्दा बढी रकम राजश्व बुझाउने क्रसर उद्योगहरुलाई सरकारले ध्यान नदिएको व्यवसायीहरुको आरोपलाई प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले गम्भीरतापूर्वक लिनु पर्दछ । स्पष्ट कारण नभई पक्कै पनि मकवानपुरका मात्रै उद्योग बन्द भएका होईनन् होला ? तर व्यवसायीले लगाएको आरोपमा सरकार स्पष्ट हुनै पर्दछ । व्यवसायीहरुले आफ्नो स्टकमा रहेको सामान विक्री गर्न पाउनु पर्ने बताएका छन् । आफ्नो अभिभावकसँग गुनासो राख्नु स्वभाविक हो । र सरकारले पनि सबैलाई समान व्यवहार गर्नु जिम्मेवारी हो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803222 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top