14 Oct 2019   |   
logo
सम्पादकीय

कृषिमा आधुनिक प्रविधि



सम्पादकीय   1182 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र १२ बिहिवार  
आधुनिक नेपालमा खेती प्रणाली भने पुरानै शैलीको छ । त्यसैले उत्पादकत्वमा वृद्धि हुन सकेको छैन । जतिसुकै व्यावसायिक खेती गरेको भनिए पनि निर्वाह भन्दा माथि जान सकेको देखिँदैन । किन यस्तो भईरहेको छ भन्ने प्रश्नको जवाफ कृषि मन्त्रालयदेखि सम्वद्ध वैज्ञानिक तथा जानकारहरुका लागि चुनौती हो । ६५ प्रतिशत नेपालीको पेशा कृषि हो । तर देशको कुल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशत मात्र कृषिले ओगटेको छ । यसरी हेर्दा उत्पादकत्व बढाउन सकिएका छैन । राज्यका तर्फबाट दिनुपर्ने योगदान, सहुलियत वा अनुदान तथा किसानका तर्फबाट गर्नुपर्ने लगानी वा अपनाउनु पर्ने प्रविधि आजको वहसको विषय हो । कृषि क्षेत्रलाई छुट्याएको बजेट र बनाएका कार्यक्रमहरु केन्द्रमै सीमित हुने र किसान समक्ष नपुग्ने पद्दतीले आज नेपाली कृषि क्षेत्र पछाडी छ । त्यसैले विगत केही वर्ष पहिलासम्म खाद्यान्न निर्यात गर्ने नेपाल आज आयात गर्नुपर्ने बाध्यतामा छ ।

कृषिमा आधुनिक प्रविधि


मकवानपुर जिल्ला कृषि भन्दा औद्योगिक क्षेत्रका लागि उपयुक्त वातावरण भएको क्षेत्र हो । तर केही निश्चित स्थानहरुमा राम्रो खेती वाली हुने गरेको छ । त्यसैले प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत मकवानपुरका विभिन्न स्थानहरुलाई उत्पादनका हिसावले विशेष प्राथमिकतामा राखिएको छ । सोही अनुसार पछिल्लो समयमा यस जिल्लाका कृषकहरु आधुनिक खेती प्रणालीतर्फ आकर्षित हुन थालेको छ । यस मध्ये गढी गाउँपालिकाका किसानहरु अहिले व्यावसायिक खेतीतर्फ आकर्षित भएको पाईन्छ । यही क्रममा उत्कृष्ट तरकारी खेती गरे वापत गढी गाउँपालिकाका एकजना किसानलाई जिल्ला समन्वय समितिले पुरस्कृत समेत गरेको छ । विश्वका कतिपय मुलुकहरुले खेती लगाउनेदेखि बाली थन्काउन समेत अत्याधुनिक प्रविधिको उपयोग गरेका छन् । त्यसको दाँजोमा नेपाली कृषि क्षेत्र आज पनि अठारौं शताव्दीकै अवस्थाबाट गुज्रेको छ । तर पनि केही आधुनिक प्रविधिहरु विस्तारै भित्रिन थालेका छन् । यसैक्रममा मकवानपुरगढी गाउँपालिकाका किसानहरुले मल बीउ समेत मेसिनबाटै हाल्ने गरेका छन् ।

गढीका केही किसानले नयाँ प्रविधिको प्रयोग गर्दा उदाहरणका रुपमा लिनु पर्ने दयनीय अवस्था हो नेपाली किसानको । सबै किसानले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने वातावरण बनाउनु आजको चुनौती र आवश्यकता पनि हो । आफ्ना क्षेत्रको कृषिलाई आधुनिकीकरण गर्न अब संघीय सरकारको मात्र मुख ताक्नु पर्ने अवस्था छैन । स्थानीय सरकारले पनि किसानहरुलाई आवश्यक सहुलियत दिने वा तालिम वा आधुनिक औजारका लागि अनुदान जस्ता कार्यक्रम ल्याउनु पर्दछ । स्थानीय तहको बजेट निर्माणदेखि नै किसानहरुलाई प्राथमिकतामा राख्नु पर्दछ । नीति घोषणा गर्ने भन्दा पनि त्यसालाई पुरा गर्ने गरी कार्यक्रम र बजेट आजको आवश्यकता हो । पछिल्लो समय खेतीमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढ्न थालेको छ । परम्परागत रूपमा खेती हुँदै आएको अवस्थामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएसँगै केही सुधार भएको छ । तर किसानका आवश्यकता पुरा भएका छैनन् भने कृषिमा चाहिने आधुनिकीकरण अझै बाँकी छ । प्रविधिको समुचित प्रयोग गर्दै कृषि क्षेत्रको व्यावसायीकरणपछि मात्र नेपालले खेतीबालीबाट पुनर्जीवन पाउने छ । यसका लागि तीनै तहका सरकारहरु थप जवाफदेही हुन आवश्यक छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14808205 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top