14 Oct 2019   |   
logo
सम्पादकीय

राजश्व संकलन र सदुपयोग



सम्पादकीय   590 पटक पढिएको   सम्पादकीय   २०७६ भाद्र ११ बुधवार  
हेटौंडा उपमहानगरपालिकाको वार्षिक आन्तरिक आम्दानीको मुख्य श्रोत उद्योग प्रतिष्ठान देखिएका छन् । सिमेन्टदेखि क्रसर उद्योगको उत्पादन तथा विक्री वापत स्थानीय सरकारले पाउने करबाट अघिल्लो गत वर्षको भन्दा गत वर्ष दोब्बर आम्दानी गरेको देखिएको छ । उद्योगहरुले दिने करमा मात्र स्थानीय तहहरु रमाउने भन्दा पनि थप लगानी भित्रने वातावरण बनाउनु आवश्यक छ । लगानी भिर्याउने र उद्योग स्थापना मात्रले पनि आम्दानी दिँदैन । त्यसलाई सन्चालन गर्ने र बढी भन्दा बढी उत्पादन गराई विक्री गर्न सकेमात्र स्थानीय तहले कर वापतको आम्दानी गर्दछ । तर सुरुमा उद्योग स्थापनाका लागि सहमति दिने र पछि उत्पादन सुरु भएपछि विवाद गर्ने पुरानो प्रचलन हेटौंडामा आज पनि कायम नै छ । उद्योगले आफ्नो क्षमता अनुसारको उत्पादन गर्नु पर्दछ । त्यसका लागि उसलाई कच्चा पदार्थको आपुर्तीदेखि कर्मचारीहरुको साथ र सहयोग अनिवार्य हुन्छ । उद्योग धन्दा नाफामा गए भने मात्र आफ्नो पनि रोजगारी सुरक्षित हुन्छ भन्ने मान्यता कमदारहरुले पनि राख्नु पर्दछ ।

राजश्व संकलन र सदुपयोग


हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा आन्तरिक आम्दानीतर्फ अघिल्लो आर्थिक वर्षको भन्दा दोब्बरभन्दा बढी आम्दानी गर्न सफल भएको छ । उपमहानगरले गत वर्ष ३४ करोड ७ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ । नदीजन्य वस्तुको उत्खनन्, उत्पादन तथा सिमेन्ट निकासी करका कारण उपमहानगरको आन्तरिक आम्दानीमा उल्लेख्य सुधार देखिएको हो । पहिला भन्दा गत वर्ष नदिजन्य पदार्थको उत्खनन् र विक्री वापत प्राप्त भएको आम्दानीले दोब्बर भन्दा बढी देखाएको हो । आम्दानी बढ्नुमा नदिजन्य पदार्थदेखि अन्य उद्योग प्रतिष्ठानहरुले नियमित उत्पादन गर्नु पनि हो । पछिल्लो समय हेटौंडाका कुनै पनि उद्योग कर्मचारी र व्यवस्थापनको बीचको विवादले बन्द भएका छै्रनन् । आफ्नो क्षमता अनुसार उत्पादन र विक्री वितरण गर्दा हुन आउने करका कारण पनि नगरपालिकाको आम्दानीमा उल्लेख्य सुधार भएको देखिन्छ । सेवा तथा वस्तु विक्रीमा लाग्ने कर भनेको उपभोक्ताले तिरेको रकम हो । त्यसैले आफ्नो रकम कहाँ र कसरी खर्च हुन्छ भनेर नागरिकले खबरदारी गरेका हुन्छन् ।

स्थानीय तहले गरेको आम्दानी प्रति नागरिकले अपनत्व लिने वातावरण बनाउनु पर्दछ । आफुले तिरेको कर सदुपयोग हुन्छ र भएको छ भन्ने विश्वास नागरिकमा पटक्कै छैन । जनताबाट कर उठाएर पदाधिकारीका लागि सेवा र सुविधा थपिएका धेरै उदाहरणहरु छन् । त्यसैले हेटौंडा उपमहानगरपालिकाले उठाएको करको सदुपयोग हुने छ भन्ने विश्वास दिनु आजको आवश्यकता हो । उपमहानगरपालिकाले नदिजन्य पदार्थ विक्री, उद्योगबाट उत्पादन भएका वस्तु तथा सेवा, सवारीसाधन कर, नगरको स्वामित्वमा रहेका संरचना तथा वस्तुहरु भाडामा लगाए वापत, सिफारिस दस्तुर, नक्सापास तथा  घरबहाल कर र व्यवसाय दर्ता शूल्कवापत वापत आम्दानी गर्ने गरेको छ । व्यवसायी वा उद्योग प्रतिष्ठान त केवल सेवा र वस्तु बेचेवापत नागरिकबाटै रकम उठाउँदछन् र त्यो रकम राज्यलाई दिने माध्यम मात्र बन्ने हो । यसरी हेर्दा आम उपभोक्ता नै राज्यको मुख्य श्रोत हो । अतः स्थानीय तहले पनि सोही अनुसार जनताकै पक्षमा खर्च गर्नु पर्दछ तब मात्र आम्दानीको औचित्य प्रमाणित हुन सक्छ । राजश्व संकलनका साथै सदुपयोगमा पनि हुनु पर्दछ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803242 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top