21 Aug 2019   |   
logo
समाज

चौथो जिल्ला सभा सम्पन्न, जिससको भूमिका महत्वपुर्णः मुख्यमन्त्री पौडेल



समाज   12 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको चौथो जिल्ला सभा आइतबार भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको चौथो जिल्ला सभामा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जिसस मकवानपुरले हालसम्म गरेका काम तथा आगामी दिनमा गर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

चौथो जिल्ला सभा सम्पन्न, जिससको भूमिका महत्वपुर्णः मुख्यमन्त्री पौडेल


कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समिति (जिसस) को भूमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता सफल बनाउनमा जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण रहने बताउनुभएको हो । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको आइतबार हेटौंडामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले स्थानीय तहसँगको समन्वयको लागि पनि जिससको भूमिका महत्वपुर्ण हुने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिको सक्रियता र समन्वयमा काम गर्न प्रदेश र केन्द्र सरकारलाई समेत सहज हुने भएकाले महत्वपूर्ण भुमिका हुने बताउनुभएको हो । मुख्यमन्त्री पौडेलले प्रदेशभित्र रहेका जिल्ला समन्वय समितिको अधिकारहरु थप गर्दै लैजाने तयारी रहेको समेत बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरले गरेका कामको प्रशंसा गर्नुहुँदै मुख्यमन्त्री पौडेलले समन्वय समितिलाई बलियो बनाउनु पर्ने बताउनुभएको हो । समन्वय समितिलाई विशेष अधिकार दिनु पर्नेमा आफु सहमत रहेको मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा नै बनाउने पक्षमा आफु रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार सिंहदरबारको छायाँमा नबस्ने बताउनुभयो । उपत्यकामा राजधानी नहुने भन्दै मुख्यमन्त्री पौडेलले स्थायी राजधानी विकल्प हेटौंडबाहेक अन्यत्र नहुने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीको विषयमा विभिन्न कुरा उठेको सन्दर्भ जोड्दै काठमाडौं उपत्यकामा राजधानी बनाउँदा सिंहदरबारको छायाँ पर्ने तर्क गर्नुभयो ।

त्यस्तै २५ मिटरका सवालमा उहाँले १६-१६ मिटर कायम हुने बताउनुभएको छ । उहाँले राजमार्ग बजारबाट नहुने भन्दै बाइपासको व्यवस्था गरी १६÷१६ मिटर कायम गरिने बताउनुभएको हो । राजमार्गको हाइवे बजार क्षेत्रबाट नहुने भन्दै मुख्यमन्त्री पौडेलले बजार भत्काउन नहुने बताउनुभएको छ । सडक विस्तारको विषयमा केन्द्रीय सरकारलाई जानकारी गराएको भन्दै उहाँले वाइपास बनाएर हाइवे सञ्चालन गरी बजार १६-१६ मिटरमात्र भत्काउने बताउनुभयो । वाइपास निर्माणको लागि प्रदेश सरकारले बजेट समेत छुट्याइएको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।

कार्यक्रममा जिसस प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिको पहलमा जिल्लालाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको जानकारी दिनुभयो । त्यस्तै गत आर्थिक वर्षमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम, न्यायिक समितिका सदस्यहरुलाई क्षमता विकास तालिम, १० वटै स्थानीय तहको गतिविधि समेटिएको ‘मकवानपुर’ नामक पुस्तक प्रकाशन लगायतका काम गरेको जानकारी दिनुभयो । त्यस्तै उहाँले जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहका जनप्रतिनिधिहरुलाई जनताप्रति अझै जवाफदेही बनाउन योजना तथा कार्यक्रमको अनुगमन तथा आवश्यक सुझाव समेत प्रदान गरिएको बताउनुभयो । त्यस्तै नदिजन्य पदार्थको अनाधिकृत प्रयोग र दोहनलाई निरुत्साहित र व्यवस्थित गर्ने कार्य गर्दै नियम विपरित कार्य गर्नेलाई कारबाही समेत गरिएको बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहकोे पहिचान, प्रतिष्ठान र एकरुपताका लागि पोशाक र लोगो तयार पारेर लागु गरिएको, एक अर्को स्थानीय तहबीच समन्वय र सहकार्यका लागि हरेक महिनाको २५ गते समन्वय बैठक बस्ने व्यवस्था गरिएको, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको स्थानीय पुर्वाधार विकासका लागि प्रतिनिर्वाचन क्षेत्रको बजेटले प्रत्येक स्थानीय तहमा समान बा“डफा“ड गरिएको, जिल्ला समन्वय समितिमा रहेको मौजदात कोषको रकमबाट काम गरिएको, पर्यटन र पुर्वाधारका विकासका लागि प्रदेश सरकारलाई सिफारीस गरिएको जानकारी दिनुभयो । जिल्लास्थित वन, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा समन्वय गरिएको समेत जानकारी दिनुभयो । भूकम्प प्रभावितका सवालमा समन्वय गरिएको जसले भूकम्प प्रभावितका समस्या समाधान भएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयद्वारा स्थानीय तहमा संचालित लघु उद्यम कार्यक्रमलाई प्रभावकारी बनाईएको, जिल्लाका साझा सवालहरु र बहुसरोकारका विषयमा समय–समयमा छलफल, सहजीकरण तथा निर्देशन समेत दिईएको बताउनुभएको छ । उहा“ले यस बाहेक पनि जिल्लाको समग्र विकासमा टेवा पुग्ने काममा निरन्तर सहजीकरण र समन्वय गरिएको जानकारी दिनुभएको छ । जिल्ला समन्वय समितिले आगामी दिनमा समेत यस्ता समन्वय र सहजीकरणको कामलाई निरन्तरता दिँदै पालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत प्रमुख खुलालले व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले, प्रदेश सभा सदस्य सन्त बहादुर चेपाङ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मकवानपुरका राजनीतिक दलका नेताहरु, विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मकवानपुरका दसवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

सभाबाट १० वटा प्रस्ताव पारित

जिल्ला समन्वय समिति मकवानपुरको चौथो सभाबाट विभिन्न १० वटा प्रस्ताव पारित गरेको छ । आइतबार बसेको जिल्ला सभाले जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम परिमार्जनसहित पारित गरेको हो । त्यस्तै जिल्ला समन्वय समितिको २०७५ असोज १७ गते देखि २०७६ साउन ५ गतेसम्म बसेको जिसस बोर्ड बैठकका निर्णय, जिल्ला समन्वय समितिको आय–व्यय पारित गरेको छ । साथै जिल्ला सभाबाट ३ वर्ष भित्र बालमैत्री स्थानीय तह बनाउने निर्णय पारित गरेको छ ।

३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा र प्रदेशको नाम शिघ्र टुंगो लगाउन ३ नम्बर प्रदेश सभालाई आग्रह गर्ने निर्णय पारित गरेको छ । कर्मचारी समायोजन ऐनले स्थानीय तहको परिभाषामा जिल्ला समन्वय समितिलाई नसमेटेकोप्रति असहमति व्यक्त गर्ने, स्थानीय तहमा आवश्यक जनशक्ति यथाशिघ्र व्यवस्थापन गर्न संघीय सरकारलाई आग्रह गर्ने, जिसस सदस्यको मर्यादाक्रम तोक्न संघीय सरकारलाई आग्रह गर्ने, जिससलाई संविधान प्रदत्त अधिकारको कार्यलाई प्रभावकारिताका साथ कार्यान्वयनका लागि आवश्यक ऐन कानुन कार्यविधिको तर्जुमा गर्न प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने निर्णय पारित गरेको छ ।

बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता क्षमता अभिबृद्धिका लागि विशेष कार्यक्रम ल्याउन प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने, स्थानीय तहमा प्रशासकीय भवन निर्माणका लागि आवश्यक स्रोत, साधन तथा जग्गा उपलब्ध गराउन संघ तथा प्रदेश सरकारसमक्ष आग्रह गर्ने, ऐलानी जग्गाको लालपुर्जा प्रदान गर्न नापीको व्यवस्था गर्न अनुरोध गर्ने, जिल्ला भित्रकै तथा अन्तरप्रादेशिक रुपमा रहेको स्थानीय तहको सीमा विवाद समाधानका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गर्ने र सामाजिक सुधार ऐनलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

मजदुर नेता, कृषक र कर्मचारीलाई सम्मान

जिल्ला समन्वय समिति मकवानपुरले चौथो जिल्ला सभाका अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । समन्वय समितिले जिल्ला सभाका अवसरमा मकवानपुरको स्थानीय तह मध्येमा उत्कृष्ट काम गर्ने थाहा नगरपालिकालाई सम्मान गरेको हो । त्यस्तै मजदुर क्षेत्रमा लामो समय सम्म योगदान पु¥याउनुभएका हेटौंडा–४ का मजदुर नेता पूर्व सांसद ललित बस्नेत, मकवानपुर गढीका तरकारी किसान बद्री तिमल्सिना, हेटौंडाका बाख्रापालक किसान गोविन्द सुवेदी, रात्रीकालिन महिला गस्ति गर्ने हेटौंडा–९ को पुष्पाञ्जली आमा समुहलाई सम्मान गरेको हो । त्यस्तै जिल्ला सभाका अवसरमा जिल्ला समन्वय समितिमा लामो समयदेखि काम गर्नुभएका कर्मचारीहरु रामकृष्ण थापा, बिना थिके, डिल्लीराम रेग्मी र श्याम थापालाई सम्मान गरेको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7370742 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top