17 Oct 2019   |   
logo
सम्पादकीय

कृषिको आम्दानी



सम्पादकीय   1587 पटक पढिएको   सम्पादकीय     
वैदेशिक रोजगारी तथा सरकारी जागिरबाट मात्र आम्दानी हुन्छ भन्ने मन्यतामा अब परिवर्तन आउन थालेको छ । आफैँ उद्यम गरेर पनि राम्रो मुनाफा लिन सकिने धेरै उदाहरणहरु छन् । त्यस मध्ये पनि पछिल्लो केही वर्षदेखि कृषि क्षेत्र नेपाली युवाको रोजाईमा पर्दै गएको छ । केही दशकसम्म युवाहरु कृषि क्षेत्रबाट पलायन जस्तै भए । जसकारण खाद्यान्न निर्यात गर्ने नेपालले खाद्यान्न आयात गरिरहनुपरेको यथार्थ हो । तर अब परिस्थिति बदलिएको छ । विचार, कल्पना र सिर्जनशीलताका पर्याय युवाको कला र क्षमतालाई राष्ट्रको समृद्धिमा लगाउनु आवश्यक छ । यही युवा यतिबेला कृषिप्रति आकर्षित हुनुले स्वरोजगारको सम्भावना पनि उत्तिकै बढेको छ । नेपालको कृषि पेशा ठूलो आर्थिक सम्भावनाको क्षेत्र हो । यसले अधिकतम जनशक्तिलाई स्वरोजगार बनाउन सक्छ । यसका लागि केवल राज्यको नीति स्पष्ट र युवामैत्री हुन आवश्यक छ । तबमात्र बृहत् रोजगारीको अवसर पनि उपलब्ध हुनेछ ।

कृषिको आम्दानी


आत्मनिर्भर र स्वरोजगार बन्ने क्रममा मकवानपुरगढी गाउँपालिका–३ धमिलेफाँटका किसान बद्रीप्रसाद तिमल्सिना व्यावसायिक कृषि क्षेत्रमा लागेका छन् । १८ वर्षदेखि कृषि पेशामा लागेका तिमल्सिनाले आफू मात्र हैन कि परिवारका सदस्यसहित अन्य युवालाई समेत रोजगारी दिएका छन् । कोही मानिस स्वरोजगार बन्नु भनेको परिवार तथा अन्य मानिसका लागि पनि अवसर हो । हेटौंडा बजारसँग नजिकै भए पनि उनको बजार जिल्ला बाहिरसम्म फैलिएको छ । कतिपय किसानहरु बजारको अभाव भएको गुनासो गर्दछन् । त्यसका लागि राज्यले व्यवस्थापनको जिम्मेवारी लिई दिनु पर्दछ । त्यसो भए युवाको मिहिनेत सार्थक हुनेछ । तिमल्सिनाले सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैया भन्दा बढी आम्दानी गर्नु विदेशिएका युवाका लागि उत्प्रेरण पनि हो । पसिना आफ्नै देशमा बगाएमा यही अवसर र आम्दानी मनग्य गर्न सकिने सम्भावनालाई नकार्नु हुँदैन । खेतीका लागि आफ्नै खेतबारी आवश्यक पनि पर्दैन । इच्छा र जाँगर भएमा जग्गा भाडामा समेत लिएर काम गर्न सकिन्छ । जुन काम तिमल्सिनाले गर्दै आएका छन् ।

अधिकतम उत्पादन गर्ने क्षमता छ कृषि क्षेत्रमा । तर यसलाई उचित व्यवस्थापन आवश्यक पर्दछ । कोही किसानले गरेको मिहिनेतलाई मात्र उदाहरण लिएर पुग्दैन । राज्यका तर्फबाट दिनुपर्ने सेवा र सुविधाका पक्षहरु धेरै छन् । कृषि पेशालाई व्यावसायिक बनाउने तर्फ सरकारी योजना आवश्यक छ । आम रुपमा हेर्ने हो भने कृषि कर्महरु निर्वाहमुखी छन् । थोरै मात्राका किसान मात्रै व्यावसायिक बन्दै गएका छन् । व्यावसायिक कृषिमा बढ्दो आकर्षण लोभलाग्दो छ । यस्तो पृष्ठभूमिमा राज्यले किसानलाई अनुदान दिने, मलखाद, बीउवीजन र बजारीकरणमा सहयोग गर्ने हो भने विदेशमा बगेको युवाको पसिनाले आफ्नै भूमि सिंचित हुने छ । त्यसो भए फेरी नेपालबाट कृषि उपज निर्यात हुने सम्भावना यथावत छ । पढेलेखेका युवाले कृषि पेशा अँगाल्ने हो भने पक्कै पनि परम्परागत खेती प्रणालीमा सुधार हुन जान्छ । जसले गर्दा उत्पादकत्वमा वृद्धि हुने पक्का छ । आफ्नो अध्ययनपछि कामको खोजीमा भौतारिएका युवा शक्तिलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गराउने योजना र कार्यक्रम ल्याउने र समाजका उदाहरण बन्दै गएकाहरुलाई उचित हौसला दिनु सबै तहका सरकारहरुको जिम्मेवारी हो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


15021194 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top