21 Nov 2019   |   
logo
अन्तर्वार्ता

शिक्षण पेशासँगै कल्याण र सेवा



अन्तर्वार्ता   2147 पटक पढिएको   ज्योति न्यौपाने     
नेपाली शिक्षणमा आइपरेका समस्या समाधान गर्नेलगायतका उद्देश्य राखेर मकवानपुर जिल्लामा नेपाली भाषा शिक्षक समिति गठन भएको १९ वर्ष पूरा भइसकेको छ । समितिले वर्णविन्यास तथा नेपाली भाषा शिक्षणलगायतका विषयमा विशेषज्ञहरूसहितको गोष्ठीको आयोजना गरेको छ । यसैगरी नेपाली भाषा शिक्षणसम्बन्धी विभिन्न कार्यक्रम समेत गरिरहेको छ । मकवानपुरमा विगत १० वर्षदेखि रमेशमोहन अधिकारीले अध्यक्षको जिम्मेवारी सिंहालिरहनु भएको छ । यसै सन्दर्भमा ज्योति न्यौपानेले अध्यक्ष अधिकारीसँग गरेको कुराकानी

शिक्षण पेशासँगै कल्याण र सेवा


नेपाली भाषा शिक्षक समिति मकवानपुरले हाल केकस्ता कार्य गर्दैछ ?

अधिकारीः नेपाली भाषा शिक्षक समितिको स्थापना आजभन्दा १९ वर्ष अगाडि भएको थियो । त्यतिबेला समितिका मान्छेहरू फुर्सदिला थिए । त्यतिबेला धेरै कार्यक्रमहरू गरिएको थियो । राष्ट्रियस्तरका प्रशिक्षकहरू बोलाएर वर्णविन्यास सम्बन्धी, व्याकरण सम्बन्धी छलफल तथा सहजीकरण कार्यक्रमहरु गरिएको थियो । पछिल्लो समयमा आएर हाम्रो गतिविधि अलि कमजोर भएको हामीले महसुस गरेका छौँ । पहिले हामीले मकवानपुरका ४ क्षेत्रहरुमै गएर कार्यक्रम गर्ने गरेका थियौँ । अहिले बाहिर गएर गर्न नसकेको अवस्था छ । यसो हुनुमा समितिमा आर्थिक अवस्था कमजोर हुनु र तालिममा आउँदा शिक्षकहरूमा भत्ताको चाहना हुनु नै मुख्य कारणहरू बनेका छन् । समितिलाई भर्खरै मात्रै हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ अब भने कही गर्न सक्ने अवस्था बनेको छ ।

समितिमा भएका सदस्यहरुबाट कतिको सहयोग पाउनु भएको छ ?

अधिकारीः समितिका सदस्यहरू धेरै स्थानमा अध्यापन गर्ने हुनाले व्यस्तताको कारण बैठकमा उपस्थित नहुने समस्या छ । तर कार्यक्रममा भने उहाँहरू जसरी पनि सहभागी हुनुहुन्छ । उपस्थित नहुनाले बैठक गर्न गाह्रो भए पनि कार्यक्रममा उहाँहरूले आफ्नो भूमिका निभाउनु भएकै छ । अङ्ग्रेजी भाषाको नेल्टा भन्ने संघ जस्तो सक्रिय नहुनुको कारण नेल्टाको अन्तर्राष्ट्रिय संस्थाहरू पनि छ र केन्द्र पनि छ तर यो नेपाली भाषाको कुनै पनि केन्द्र र शाखाहरु केही पनि छैनन् । यस कारणले गर्दा पनि हाम्रो नेपाली भाषा समितिले सक्रिय भएर काम गर्न नसकेको हो । सबैलाई समेट्न नसक्नुको कारण भौगोलिक अवस्था पनि हो ।

नेपाली भाषा शिक्षणलाई पनि प्रविधिसँग जोड्न के गर्नु पर्ला ?

अधिकारीः त्यसका लागि सबै विद्यालयहरुले आवश्यक कम्प्युटर ल्याब, प्रोजेक्टर, मोनिटर आदिको व्यवस्था मिलाउनु पर्छ । त्यसका लागि विद्यालयले आवश्यक लगानी गर्न सक्नु पर्छ । कतिपय विद्यालयका एकमात्र कोठामा प्रविधि हुने र त्यहाँ लानको लागि हानथापको अवस्था सृजना हुने अवस्था पनि छ । अर्को कुरा विद्यार्थीलाई प्रविधिसँग जोड्नको लागि शिक्षकलाई आवश्यक तालिम र प्रविधिको बारेमा जानकारी हुन जरुरी छ ।

लामो समय नेपाली विषय शिक्षण गर्दै आउनुभएको छ । नेपाली भाषा पढाउन सहज या जटिल के छ ?

अधिकारीः मैले लामो समय गाउँमा पढाएँ । गाउँमा बोर्डिङहरू हुँदैनन् । गाउँका विद्यार्थी मिहिनेती हुन्थे र वातावरण पनि पढ्नको लागि अनुकूल थियो । त्यतिबेला गाउँमा टेलिभिजन र मोबाइलहरू थिएनन् । पछिल्लो समय सहरमा आएर पढाउन थालियो । यहाँ विद्यार्थीहरू धेरै टेलिभिजन, मोबाइल लगायतमा व्यस्त हुने कक्षामा सुनेको भरमा उत्तर दिने गरेको पाइएको छ । कतिपय उत्तरहरू अन्दाजमा नै दिने गरेको पाइएको छ । विद्यार्थीहरूमा मौलिकता हुनुपर्छ तर प्रश्नसँग नमिल्ने उत्तर दिँदैमा मौलिकता हुँदैन । त्यसलाई बोक्रे मौलिकता भनिन्छ । मैले ग्रामीण भागमा शिक्षण गर्दा धेरै ठाउँमा मातृभाषा अरु नै भएको विद्यार्थीहरूलाई पढाएको छु तर मातृभाषा अरु भए पनि ति विद्यार्थीहरू अरू विद्यार्थी जतिकै यो विषयमा पनि सचेत नै हुन्थे । उनीहरूलाई मातृभाषाले कुनै पनि प्रभाव पारेको थिएन । यसले के प्रष्ट हुन्छ भने यदि विद्यार्थीमा सिक्ने चाहना छ भने उसलाई कुनै पनि कुराले असर गर्दैन ।

पहिलेको पाठ्यक्रम र अहिलेको पाठ्यक्रममा कस्तो फरक पाउनुभएको छ ?

अधिकारीः पढाउनलाई सहज त मलाई अहिलेकै पाठ्यक्रम लागेको छ । केही जटिल पाठहरू छन् । विद्यार्थीको बौद्धिक क्षमताले नभ्याउने किसिमका पाठहरू जस्तै कक्षा ६ को गुरु कविता विद्यार्थीलाई बुझाउन नै मुस्किल हुन्छ त्यस्तै कक्षा ९ मा पनि केही कविताहरु त्यस्तै विद्यार्थीको बौद्धिक क्षमताले नभ्याउने किसिमको छ । त्यसो हुँदाहुँदै पनि अहिलेको पाठ्यपुस्तकले विद्यार्थीलाई सहज बनाएको छ । वर्तमान समयमा विद्यार्थीहरू नपढ्ने गरेका पनि छ । कतिपय विद्यार्थीलाई व्याकरणहरू अप्ठ्यारो लाग्ने गरेको प्रसङ्गहरु पाइन्छ तर यसमा शिक्षकको पढाउने शैलीमा पनि भर पर्छ । व्यवहारिक र सहज तरिकाले पढाउने हो भने यसमा कुनै गाह्रो हुँदैन ।

यहाँले जहाँजहाँ गएर पढाउनु त्यहाँत्यहाँ साहित्यिक माहोल सिर्जना गरिदिनु भएको छ कारण के हो ?

अधिकारीः मेरा बुवा चाँडै बित्नुभएकोले म मेरी आमाको भावना र विचारले धेरै प्रभावित छु । आमाको एकदमै कल्याणको भावना थियो र मलाई पनि उहाँले त्यस्तै सिकाउनु भयो । यो शिक्षण पेशामा आएपछि मलाई आमाको उपदेश प्रयोग गर्ने मौका मिल्यो । शिक्षण पेशा आफैमा कल्याण र सेवाको पेशा हो । यस पेशामा आएपछि कहिल्यै पनि जागिरको दृष्टिले मात्र हेर्नु हुँदैन । अर्को कुरा म आफैं पनि साहित्य लेख्ने भएकोले पनि विद्यार्थीलाई आकर्षण गर्न सहज भएको हो । त्यस्तै विद्यार्थीलाई साहित्यप्रति रुचि भयो भने नेपाली विषयलाई धेरै नै सहयोग पुग्छ । साथै अंग्रेजी लगायत अन्य विषयहरूलाई पनि यसले सहयोग पुगेको हुन्छ । विद्यार्थी साहित्यमा राम्रो हुनु नै भाषामा पनि राम्रो हुनु हो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17556589 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top