21 Nov 2019   |   
logo
अन्तर्वार्ता

‘विद्यालयको पुनर्निर्माण समानरूपले भएको छैन’



अन्तर्वार्ता   55 पटक पढिएको   ज्योति न्यौपाने     
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले मकवानपुरका विद्यालयको पुनर्निर्माणको काम गरिरहेको छ । २०७२ को भूकम्पले क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निर्माणको काम भइरहेको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले मकवानपुरका २८ वटा विद्यालयको भवन पुनर्निर्माणका लागि केही दिनअघि सम्झौतासमेत गरेको छ । यसै सन्दर्भमा जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा० प्रमुख बद्रीबहादुर पाठकसँग ज्योति न्यौपानेले गर्नु भएको कुराकानीः

‘विद्यालयको पुनर्निर्माण समानरूपले भएको छैन’


बद्रि पाठक, प्रमुख

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुर

जिल्ला आयोजना कार्यान्वयन इकाईले मकवानपुरका विद्यालयको पुनर्निर्माणको कामलाई कसरी अगाडि बढाइरहेको छ ?

पाठकः २०७२ वैशाख १२ गते र २९ गतेको भूकम्पबाट क्षति भएको विद्यालयहरूको पुनर्निर्माणको लागि इकाई एकदम क्रियाशील छ । यो इकाई पहिले १४ वटा जिल्लामा थियो तर अहिले ३१ जिल्लामा पुगेको छ । यसले अहिले विद्यालयको पुनर्निर्माणमा एकदमै सक्रिय भएर काम गरिरहेको छ । मकवानपुरमा जम्मा ५ सय १६ वटा विद्यालयहरू छन् तिमध्ये ४ सय ९ वटा प्रभावित भएका थिए । त्यसमा पूर्णक्षति भने २ हजार ३ सय १० वटा कक्षा कोठाहरू भएका थिए । त्यसमा हामीले अनुगमन गरेर पूर्णक्षति भएकोमा रातो स्टिकर लगाउनु पर्ने कति र हरियो स्टिकर लगाउनु पर्ने कति भनेर छुट्याएर त्यही अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सुरु भएर काम गरिरहेका छौँ । २०७३—७४ मा पहिलो वर्ष ७४—७५ मा दोस्रो वर्ष र अहिले हामी तेस्रो वर्षमा आईपुगेका छौँ । हाम्रो पहिलो वर्ष २ सय २० कक्षा कोठाको निर्माण गर्ने योजना थियो । त्यस्तै गर्दै आएर अहिले २ सय ५२ विद्यालय र ८ सय २५ कक्षाकोठा निर्माणाधिन अवस्थामा छ ।

पुनर्निर्माण गर्दै गर्दा पठनपाठनमा कतिको असर पर्छ ?

पाठकः सर्वप्रथम पुनर्निर्माण गर्नुभन्दा पनि सुरुमा हामीलाई अस्थायी कक्षाकोठा बनाउन हामीलाई सहयोगहरु आउँथे । हामीले भूकम्प गएको ३ महिना भित्र सबै विद्यालयहरूमा अस्थायी कक्षाकोठा निर्माण गरिसकेका थियौँ । हाम्रो जिल्लामा विद्यालय व्यवस्थापनबाट निर्माण हुने कक्षा कोठा चाहिँ ८ सय २५ र जापान सरकारको ऋण सहयोगमा ४१ विद्यालयहरू छनोट भएका छन् । त्यसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट टेन्डर भएर अहिले ४ सय ७२ कक्षाकोठा निर्माण भएको छ । यस्तै गरेर विभिन्न संघ, संस्थाहरूको सहयोगमा सबै गर्दा जम्मा १ हजार ५ सय जति कक्षा कोठा निर्माण भएका छन् । कोही निर्माण भइसके र केही हुँदैछन् । यो सबै पुरा हुन अब २ वर्ष लाग्छ । यो पुनर्निर्माणको अवधि नै ५ वर्ष हो ३ वर्ष सकियो अब २ वर्ष नै बाँकी छ ।

शिक्षाको लागि सहयोग कहाँ कहाँबाट आउने गरेको छ ?

पाठकः हाम्रो मकवानपुरमा पनि नेपाल सरकार, जापान, एसियाली विकास बैंक, प्लान इन्टरनेशनल, इस्थर बेन्जामिन जस्ता संस्थाहरुले पनि सहयोग गरेका छन् । त्यस्तै ६ वटा विद्यालयहरूको यो पुनर्निर्माणको काम सकिएको छ । त्यस्तैगरी कोसान, केयर नेपालले पनि विद्यालय बनाइदिएका छन् । मकवानपुर जिल्लामा विद्यार्थीको आधारमा कक्षाकोठाहरू पर्याप्त छैन ।

सहरी क्षेत्रको विद्यालयमा जस्तै ग्रामीण क्षेत्रको विद्यालयमा पनि पुननिर्माण भएको छ ?

पाठकः सहरका विद्यालयमा र ग्रामीण विद्यालयमा पुनर्निर्माण समान रुपले भएको छैन । किनभने जुन ठाउँमा भवन बनाउँदै छ त्यहाँ मुख्य मोटरबाटो हुन जरुरी छ । त्यही अनुसार दक्ष जनशक्ति पनि हुनुपर्दो रहेछ । त्यसैले सुगम ठाउँको पुनर्निर्माण र दुर्गम ठाउँको पुनर्निर्माणमा एकदमै फरक छ । अहिले स्थानीय सरकारले यसलाई मुख्य कामको रुपमा हेरेको छ ।

भर्खर मात्रै सम्झौता भएको २८ वटा विद्यालयहरूको कहिलेसम्म काम सक्न निर्देशन दिनुभएको छ ?

पाठकः हामीलाई अहिले आएको जम्मा ५२ विद्यालयको कोटा हो । त्यसमा २३ वटा २ कोठे, ५ वटा ३ कोठे र २३ वटा ४ कोठे भवन छ । यसमा योजना अनुसार प्राविधिकहरूले काम सुरु गर्नु हुन्छ । अर्को वर्षको पुससम्ममा यी भवनहरू पुर्णरुपमा सम्पन्न हुन्छन् । हाम्रो जिल्लामा विद्यालय व्यवस्थापन समितिको पनि अत्यन्तै चासो छ । आफु अध्यक्ष भएको बेलामा विद्यालयको राम्रो अवस्था बनाउनमा स्थानीय सरकार पुर्ण रुपमा लागेको छ ।

स्थानीय तहलाई माध्यमिक शिक्षाको अधिकार दिएपछि शिक्षकहरूबाट आएको विरोधको स्वरलाई कसरी लिनुहुन्छ ?

पाठकः यसमा सबैको आ—आफ्नै तर्क छ । मेरो विचारमा अहिले दरबन्दीमा हुने शिक्षकहरु केन्द्रबाट दरबन्दी भएको हो । त्यसैले स्थानीय सरकारलाई त्यो सबै जिम्मेवारी दिएको छैन । तर जवाफदेहिता तल्लो तहमै हुनु पर्छ । अहिले हाम्रो जम्मा ७ सय ५३ वटा स्थानीय तहमध्ये सबैमा एकै किसिमको छ भन्न मिल्दैन । धेरै ठाउँबाट स्थानीय सरकारलाई जिम्मेवारी दिँदा शिक्षकमाथि राजनीति हुन्छ भन्ने सुनिन्छ । खासगरी स्थानीय तहमा जानसाथ सबै कुरा बिग्रन्छ भन्ने होइन । त्यसलाई समायोजन गरेर लैजानु राम्रो हुन्छ ।

मकवानपुर जिल्लाको शिक्षाको अवस्थालाई कसरी हेर्न सकिन्छ ?

पाठकः समग्र मकवानपुर जिल्लाको शिक्षाको कुरा गर्दा विगतको भन्दा धेरै नै पारदर्शी हँुदै गएको छ । विद्यालयमा पठनपाठन पनि राम्रो हुदै गएको छ । अरु जिल्लाको तुलनामा शिक्षामा राम्रो अवस्था छ । तर पछिल्लो समय यो स्थानीय तहको कुराले र व्यवस्थापन सम्बन्धी कुराले अलि असर पारिरहेको छ । पछिल्लो समय विद्यालय मर्ज गर्ने पनि गरियो । त्यसैले हाल मकवानपुरको शिक्षाको अवस्था सकारात्मक नै छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17555485 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top