12 Dec 2019   |   
logo
खेलकुद / मनोरञ्जन

१३ औं सागको तयारी स्वर्णको दावीसहित कुस्तीको कडा तयारी



खेलकुद / मनोरञ्जन   97 पटक पढिएको   बिनोद कुमार बानियाँ     
हेटौंडाः आगामी मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै नेपाली कुस्ती टोलीको मकवानपुरको हेटौंडामा तयारी चलिरहेको छ । कुस्तीको महिला र पुरुष दुबै टिम हेटौंडामा बन्द प्रशिक्षणमा व्यस्त छ । १० जना महिला र १० जना पुरुषको टिम तयार पार्न बन्द प्रशिक्षण भइरहेको कुस्तीका प्रशिक्षक मुम्ताज अलीले जानकारी दिनुभएको छ । मकवानपुरमा भइरहेको कुस्ती खेलको तयारी क्रममा २० जना महिला र २० जना पुरुष गरी ४० जना सहभागी छन् ।



२ महिनापछि हुने छनोटमा १० महिला र १० पुरुष छानेर राष्ट्रिय टिम निर्माण गरिनेछ । राष्ट्रिय टिमलाई लिएर अभ्यासका लागि विदेश जाने योजना समेत रहेको प्रमुख प्रशिक्षक ब्रम्ह्दिक यादव बताउनुहुन्छ । प्रशिक्षक यादवले पहिलेको वर्षमा भन्दा यसपालिको तयारी अलि राम्रो र कडा चलिरहेको साथै नेपालमा हुन गइरहेको प्रतियोगितामा कम्तिमा कुस्तीबाट स्वर्णपदक प्राप्त गर्ने दावी गर्नुभएको छ । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका साथै उत्कृष्ट खेल प्रस्तुत गरेका प्रादेशिक तथा विभागिय खेलाडीहरु वन्द प्रशिक्षणमा सहभागि भएका छन । मुख्य तथा सहायक गरि कुल ५ प्रशिक्षकले प्रशिक्षण लिइरहेका खेलाडीहरुमा पदक जित्ने आत्मविश्वास रहेको छ । त्रिभुवन आर्मी क्लबका खेलाडी सुरेश चुनाराले यसपटकको साफमा कम्तिमा एउटा स्वर्णपदक पुरुष खेलाडीले प्राप्त गर्नेमा ढुक्क देखिन्छन् । त्यस्तै आत्मविश्वास महिला खेलाडी सृजासु गिरीको पनि रहेको छ । यसअघि महेन्द्रनगरमा भैरहेको बन्द प्रशिक्षण अत्यधिक गर्मी तथा कभर्डहलको साँघुरोपनले प्रभाव पारेको हुनाले हेटौंडा सारिएको राखेपका अधिकृत मुम्ताज अलि बताउनुहुन्छ । यस बन्द प्रशिक्षणबाट छनोट हुने खेलाडीलाई भारत वा इरान मा प्रशिक्षणको लागि लाने तयारी भैरहेको अधिकृत अलिले बताउनु भयो । यसै क्रममा गतसाता राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले हेटौंडामा सञ्चालन भैरहेको कुस्ती खेलको बन्द प्रशिक्षणको स्थलगत अवलोकन गर्नुभएको थियो । सिलवालले तेह्रौं दक्षिण एशियाली खेलमा कुस्तीले पदक दिलाउने विश्वास व्यक्त गर्दै खेलाडीहरुलाई प्रशिक्षणको समयमा राखेपले सबै प्रकारको सुविधा प्रदान गर्ने बताउनुभएको थियो । यसैगरी कुस्ती खेललाई देशव्यापी बनाउन आवश्यक क्रियाकलापहरु गर्ने योजना राखेपको रहेको बताउनु भयो । खेलाडीको भत्ता र पोशाक समयमा उपलव्ध नभएको गुनासो खेलाडीहरुबाट आउँदा प्रशासनिक कार्यमा ढिलाई भएको र अबका दिनमा यस्तो नदोहोरिने प्रतिवद्धता उहाँले प्रकट गर्नुभयो ।

नेपालका तराइ क्षेत्रमा केहि प्रचलनमा रहेको कुस्ती खेल हालका दिनमा मानिसहरुको रुचिको खेल वन्दै गैरहेको हुँदा सम्पूर्ण खेलप्रेमीहरुमा कुस्तीखेल हेर्न खेलाडीहरुले आग्रह गरेका छन् । अन्य खेलमा जस्तै कुस्तीमा पनि राज्यले उचित लगानि गर्न सके यस खेलको भविष्य राम्रो रहेका आँकलन गर्न सकिन्छ । भौतिक पूर्वाधारको रुपमा स्तरिय कवर्डहल निर्माण हुनु व्यवसायीक कुस्ती खेललाई प्रवद्र्धन गर्ने एउटा पाटो हुन सक्छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19195508 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top