21 Aug 2019   |   
logo
खेलकुद / मनोरञ्जन

आयोजकविरुद्ध गोलवर्षा



खेलकुद / मनोरञ्जन   43 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वनविज्ञान क्याम्पसमा स्नातक तह दोश्रो वर्ष पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी समूहले आयोजना गरेको फुटबल प्रतियोगितामा आयोजक स्नातक तह दोस्रो वर्ष पहिलो सेमेस्टर बी विरुद्ध गोलवर्षा भएको छ । बुधबार भएको उद्घाटन खेलमा त्रिभूवन विश्वविद्यालयअन्तर्गत स्नातक तह चौथो वर्षको टिमले १ विरुद्ध ११ गोल गरेको छ ।



क्याम्पसकै खेलमैदानमा निर्धारित ७० मिनेटको खेलको पहिलो हाफमा ५–१ गोलअन्तरको अवस्था थियो । दोस्रो हाफमा थप ६ गोल गर्दै उद्घाटन खेलमा आयोजक विरुद्ध त्रिवि स्नातक तह चौथो वर्षको टिमले शानदार जीत दर्ता गरेको हो । म्यान अफ दि म्याच विजयी टिमका जीवन सिंह घोषित भए । आयोजकका लागि सादन राईले सान्त्वना गोल गरेका थिए । प्रतियोगितामा आज बिहिबार ४ खेल हुनेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालय, वन संकायका डीन डा. बलराम भट्टको पनि उपस्थिति रहेको थियो ।

निरन्जन ढुंगाना स्मृति फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगितामा १० वटा पुरुष टिम र ७ वटा महिला टीमको सहभागिता रहको छ । महिला फुटबल ९ ए साइड हुनेछ । वनविज्ञान विषयका प्राध्यापक निरन्जन ढुंगानाको दुर्घटनामा परी निधन भएपछि विद्यार्थीले प्राध्यापकको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । पुरुषतर्फ विजेताले २० हजार १ सय १ रुपैयाँ र उपविजेताले १२ हजार १ सय १ रुपैयाँ नगद प्राप्त गर्नेछ । यस्तै महिलातर्फ विजेताले १२ हजार १ सय १ रुपैयाँ र उपविजेताले ८ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । लिगकम नकआउट प्रणालीमा प्रतियोगिता आयोजना गरिने बताइएको छ । प्रतियोगितामा हेटौंडास्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालय दुबै क्याम्पसका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, मिडफिल्डरलाई पनि ट्रफी प्रदान गरिनेछ । प्राध्यापक तथा कर्मचारीबीच पनि मैत्रीपूर्ण खेलको आयोजना गरिने छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7367573 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top