20 Sep 2019   |   
logo
स्वास्थ्य

भीमफेदीमा ३ वटा सामुदायिक स्वास्थ्य इकाई थपिँदै



स्वास्थ्य   30 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २० शुक्रवार  
हेटौंडाः भीमफेदी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहूँचमा ल्याउने गरी ३ वटा सामुदायिक स्वास्थ्य इकाई थप गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेर गाउँपालिकाले १ नम्बर वडाको सानुटार, ३ नम्बर वडाको इचुङ र ५ नम्बर वडाको सुपिङमा स्वास्थ्य इकाई स्थापना गर्दैछ । भौतिक संरचनाको मर्मत गरेर दसैं लगत्तै स्वास्थ्य इकाई सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुब लामिछानेले जानकारी दिनुभयो ।

भीमफेदीमा ३ वटा सामुदायिक स्वास्थ्य इकाई थपिँदै


गाउँपालिकाले १ नम्बर वडाको सानुटारस्थित राष्ट्रिय माविको भवनमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको छ । यस्तै ३ नम्बर वडास्थित खोपकेन्द्रको भवन र ५ नम्बर वडाको सुपिङमा महालक्ष्मी माविको भवनमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको संयोजक लामिछानेले जानकारी दिनुभयो । स्वास्थ्य इकाईमा एकजना अहेव र एकजना अनमीको दरबन्दीअनुसार पदपूर्ति गरिनेछ । भीमफेदी गाँपालिकाको केन्द्रमा प्राथमिक स्वास्थ्य चौकी मेडिकल अधिकृतको नेतृत्वमा सञ्चालनमा रहेको छ । प्राथमिक स्वास्थ्य चौकीमा १० जनाको दरबन्दीमध्ये ९ जना कार्यरत छन् । यस्तै भीमफेदी गाउँपालिका–२, भैंसे, ४ नम्बर वडाको निबुवाटार, ७ नम्बर वडाको कोगटे र ८ नम्बर वडाको ईपामा स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ । एउटा प्राथमिक स्वास्थ्य चौकी र ४ वटा स्वास्थ्य चौकीमा ३४ जनाको दरबन्दी मध्ये ३२ जना कार्यरत छन् । यस्तै ९ नम्बर वडामा यसअघि नै सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आइसकेको छ ।

भीमफेदी गाउँपालिकाको भवन निर्माण शुरु

हेटौंडाः भीमफेदी गाउँपालिकाको भवन निर्माण कार्य शुरु भएको छ । पालिका भवन निर्माणका लागि ४ करोड १२ लाख ८२ हजार रुपैयाँमा निर्माण कम्पनिसँग ठेक्का सम्झौता भएर काम शुरु भइसकेको गाउँपालिकाका अध्यक्ष्ँ हिदम लामाले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी चालु आर्थिक वर्षमा गाउँपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर एण्ड सी नेचुरल जेभीले भवन निर्माणको ठेक्का पाएको छ । साउन १४ गतेदेखि एक वर्षको निर्माण अवधि रहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेर प्रदेश सरकार र संघीय सरकारसँग पनि बजेटका लागि प्रस्ताव गरेको अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिकाको केन्द्र ६ नम्बर वडामा भवन निर्माण कार्यको शिलान्यास केही दिनै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुहुने अध्यक्ष लामाले बताउनुभयो । साविक जिल्ला विकास समितिको स्वामित्वमा रहेको ८ रोपनी जमिन गाउँपालिकाको स्वामित्वमा प्राप्त गरेर गाउँपालिकाले भवन निर्माण थालनी गरेको हो ।

भवनको अभावमा अहिले कार्यसम्पादनमा समस्या भइरहेको बताइएको छ । प्रदेश सरकारले सबै कानुन नबनाइसकेकोले कानुन निर्माणमा समेत ढिलाई भइरहेको उल्लेख गर्दै गाउँपालिकाका अधिकारीले दरबन्दीअनुसारको कर्मचारी नहुनुले पनि सेवा प्रवाहमा समस्या भइरहेको जनाएको छ । गाउँपालिकामा ४३ जना कर्मचारीको दरबन्दी रहे पनि १७ जना मात्रै पूर्ति भएको बताइएको छ । यस्तै करार सेवामा ३ जना ईन्जिनियर, ३ जना कृषि प्राविधिक र ५ जना स्वास्थ्यतर्फ जनशक्ति रहेको गाउँपालिकाका सूचना अधिकारी बद्रि सापकोटाले जानकारी दिनुभयो । प्राविधिक जनशक्ति नहुँदा भने गाउँपालिकामा निक्कै समस्या भइरहेको सापकोटाको भनाइ छ ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11970297 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top