12 Dec 2019   |   
logo
स्वास्थ्य

मकवानपुरमा डेंगुको प्रकोप बढ्दै, शुक्रबारसम्म ३० जना सङ्क्रमित



स्वास्थ्य   169 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुरमा डेँगु रोगको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म जिल्लाका ३० जनामा डेंगुको सङ्क्रमण फेला परेको छ । साउन ६ गते यता शुक्रबारसम्म हेटौंडामा ३० जनामा डेंगुका रोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंहका अनुसार हेटौँडा अस्पतालबाट रगत परीक्षणका लागि सिफारिस भएकामध्ये १२ जना, मकवानपुर सहकारी अस्पतालमा १४ जना र हेटौंडा रेफरेन्स ल्याबमा ४ जना गरी ३० जनामा डेंगुको लक्षण देखा परेको हो ।

मकवानपुरमा डेंगुको प्रकोप बढ्दै, शुक्रबारसम्म ३० जना सङ्क्रमित


हालसम्म हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कमलडाँडामा सबैभन्दा बढी ६ जनामा डेंगुको बिरामी फेला परेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिनुभएको छ । हेटौंडामा डेंगुको सङ्क्रमण बढेपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विशेष चासो दिनुभएको छ । उपमहानगरपालिकाले यसको बिषयमा सर्वसाधारणलाई जानकारी दिँदै सचेतना अभियानलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य संयोजक कार्कीले लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्नुपर्ने आवश्यकता औंल्याउँदै सचेतनाको लागि उपमहानगरभित्र माइकिङसंगै डेंगु देखिएका क्षेत्रमा लामखुट्टे मार्न सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरी औषधी छर्ने काम अघि बढाइएको जानकारी दिनुभयो । यस्तै डेंगु परीक्षणको लागि निशुल्क परीक्षण कीट समेत ल्याइसकेको उहाँले जानकारी दिनुभएको छ । हेटौँडामा डेंगुका बिरामी फेला परेसँगै स्वास्थ्यसँग सम्बन्धित निकायहरूले यसको नियन्त्रणका लागि काम सुरु गरेको उहाँले जानकारी दिनुभएको छ ।

यस रोगको कुनै विशिष्ट उपचार र खोपको विकास भने अहिलेसम्म नभएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसियन अधिकृत भुपनारायण यादवले जानकारी दिनुभएको छ । रोग देखा परेपछि चिकित्सकको सल्लाहअनुसार औषधि खाने र आराम गर्नुपर्ने यादवले बताउनुभएको छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र विकल्प रहेको उहाँले बताउनुभयो ।

लामखुट्टेको टोकाइका कारण सर्ने सरुवा रोगको रुपमा रहेको डेंगु लागेपछि जाडो हुँदै उच्च ज्वरो आउने, जीउ तथा जोर्नी र हाड बेस्सरी दुख्ने गर्दछ । त्यस्तै आँखा चलाउँदा र घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने जस्ता समस्या देखिने चिकित्सकले बताएका छन् । यस्तै रोग लागेको केही समयपछि छाला मुनी रगत जमेको धब्बाहरू देखापर्ने साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा र शरीरका अन्य अङ्गहरुबाट रगत बग्ने लक्षण देखिने चिकित्सकको भनाइ छ । 








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19196125 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top