14 Oct 2019   |   
logo
सम्पादकीय

विषादी परीक्षण



सम्पादकीय   1019 पटक पढिएको   सम्पादकीय     
स्वदेशमै उत्पादन भएका वा भारतबाट भित्रिरहेको तरकारी, फलफूल तथा खाद्यान्नमा अधिक मात्रामा विषादी भएको भन्दै सर्वत्र आलोचना हुने गर्दछ । तर जति आलोचना र खवरदारी भए पनि नेपालीका भान्सामा प्रत्येक दिन विषादी नै पाक्ने गरेको छ । यसका लागि उपभोक्तामात्र सचेत भएर नपुग्ने रहेछ । व्यवसायीदेखि किसानहरु पनि उत्तिकै जिम्मेवार हुनु आवश्यक छ । तर सबैलाई छिट्टै धनी हुनु परेको छ वा मुनाफा धेरै चाहिएको छ ।

विषादी परीक्षण


यस्तै उपभोक्ताहरुलाई पनि सफा, टिलिक्क टल्कने र पोटिला तरकारी र फलफूल नै आवश्यक छ । यस्ता प्रकृतिका खाद्यवस्तुमा विषादीको मात्रा अधिक हुने जानकारी उपभोक्तालाई पनि नभएको हैन । तर निर्वाध रुपमा उत्पादन, विक्रीवितरण र उपभोग भईरहेको अवस्था छ । जसका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको छ । अझ गर्भमा रहेको शिशुलाई त नोक्सानी पुगिरहेको हुन्छ । त्यसैले पछिल्लो पुस्ता गर्भमै विषादीसँगै अभ्यस्त हुन बाध्य छ । तर जतिसुकै मात्रा विषादी फेला परे पनि किनबेचमा रोक लगाउन कोही अग्रसर भएका छैनन् ।

यसैक्रममा प्रदेश ३ सरकारले आफ्नो प्रदेश भित्रका विभिन्न पाँच स्थानमा विषादी परीक्षण प्रयोगशाला सन्चालनमा ल्याएको छ । हेटौंडासहित ५ स्थानमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषि ज्ञानकेन्द्र चितवन, ललितपुर, काभ्रे र नुवाकोटमा विषादी परीक्षण प्रयोगशाला सुरु भएका छन् । प्रदेश सरकार गठन भएपछि आम नागरिकका लागि गरिएका केही काम मध्ये विषादी परिक्षण प्रभावकारी हुने काम देखिएको छ । प्रयोगशाला स्थापना मात्र भन्दा पनि दिर्घरुप दिन सक्नु पर्दछ । त्यसका लागि जनशक्तिदेखि पूर्वाधारको पर्याप्तताको विषय मूल प्रश्न हो । देखाउन वा प्रचारका लागि मात्र भन्दा पनि दैनिक विषादी उपभोग गरिरहेका नागरिकलाई त्यसबाट मुक्ती दिन सहज परिक्षण हुनुआवश्यक छ । जसले विषादी प्रयोग गरिरहेका छन् उनीहरु प्रयोगशालाको सहजै उपयोग गर्ने पक्षमा छ कि छैनन् ? भन्ने प्रश्न उठ्छ । तर अब उनीहरुले पनि आफ्ना उत्पादनलाई शुद्ध बनाउन सक्नु पर्दछ ।

पाँच वटै प्रयोगशालाहरुमा ३-३ जना प्राविधिक खटाईने र उनीहरुलाई परीक्षण सम्बन्धी तालिम दिईने भनिएको छ । यसले परिक्षणका लागि उपकरण आइसकेको छ भने त्यसलाई प्रयोग गर्ने जनशक्तिको अझै पनि अभाव देखिएको छ । प्रयोगशालामा प्रतिघण्टा २० देखि ३० वटा तरकारी तथा फलफूलको नमूना परीक्षण हुने दावीलाई सही प्रमाणित गर्न सोही अनुसारको दक्ष जनशक्ति आवश्यक हुन्छ । व्यावहारिक रुपमा यसको सदुपयोग त्यतिबेला मात्र हुन सक्छ जतिबेला सबै किसानले आफ्नो उत्पादनलाई सहजै परीक्षण गराउने र उपभोक्ताले विषादीरहित प्रमाणित भएको खाद्य सामाग्री उपयोग गर्दछन् । सरकारी तहबाट निर्णय हुने तर त्यसलाई कार्यान्वयनमा चासो नदिने परम्परा यस काममा पनि नदोहोरियोस् । प्रदेश ३ सरकारले किसानका लागि माटो परिक्षणदेखि भेटेरिनरी एम्बुलेन्स समेत प्रयोगमा ल्याएको छ । एकैपटक प्रदेश सरकारले किसानका लागि विशेष सेवा दिएको हो । सेवा सुरु गर्नु महत्वपूर्ण भए पनि यसको नियमित सन्चालन अर्को चुनौती हो । यस कुरामा प्रदेश सरकारको ध्यान पुग्नु पर्दछ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803660 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top