20 Sep 2019   |   
logo
सम्पादकीय

अनुदान गुणस्तरका लागि



सम्पादकीय   1121 पटक पढिएको   सम्पादकीय     
प्रदेश नं. ३ सरकारले आफ्ना प्रदेशका १ सय ३ वटा सामुदायिक क्याम्पसको क्षमता वृद्धि गर्न अनुदान सहयोग दिने भएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत शिक्षा विकास निर्देशनालयको समन्वयमा प्रदेशका १३ वटै जिल्लाका १ सय ३ वटा क्याम्पसलाई अनुदान रकम उपलब्ध गराउने भएको हो । २२ करोड ५ लाख रुपैयाँ बजेट १ सय ३ वटा क्याम्पसहरुलाई विनियोजन गरिएको हो । मन्त्रालयले एउटा क्याम्पसलाई १५ लाखदेखि १ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको छ ।

अनुदान गुणस्तरका लागि


क्याम्पसहरुको माग र आवश्यकताका आधारमा वजेट विनियोजन भएको मन्त्रालयले उल्लेख गरेको छ । प्रदेशमा रहेका १ सय ६४ सामुदायिक क्याम्पस मध्ये पहिलो चरणमा १ सय ३ वटा क्याम्पसले अनुदान पाउने भएका छन् । अनुदानमा कम्तिमा १५ लाखदेखि बढीमा १ करोडसम्म रहेको छ । प्रदेश सरकारले सबैभन्दा बढी काठमाडौंको शहीद आदर्श कलेजलाई १ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
    संघियताबाट केही पनि उपलव्धी नपाएको गुनासो आईरहँदा सामुदायिक कलेजहरुलाई भने संघीयता फलदायी देखिएको छ । विगतमा यति ठूलो आर्थिक सहयोग कुनै पनि कलेजले सायदै पाएका थिए । आर्थिक अनुदानले क्याम्पसको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा वृद्धि हुनु आवश्यक छ । राज्यको अनुदानलाई सदुपयोग गर्ने जिम्मेवारी क्याम्पस सन्चालक समिति र प्रशासनको हो । त्यस माध्ये पनि क्याम्पस प्रमुखको दायित्व बढी हुनेछ । अनपेक्षित रुपमा प्राप्त भएको रकम जसरी आयो त्यसैगरी खर्च गर्ने परम्परा पनि छ । त्यसको अन्त्य हुनै पर्दछ । जुन उद्देश्य र कार्यक्रमका लागि विनियोजन भएको हो सोही काममा उपयोग गर्नु क्याम्पस परिवारको दायित्व हो भने त्यस माथिको अनुगमन प्रदेश सरकारको जिम्मेवारी भित्र पर्दछ । क्षमता अभिवृद्धि शीर्षकमा रकम निकासा हुँदैछ । कस्तो खालको क्षमता हो सो पनि स्पष्ट हुनु पर्दछ । भौतिक, शैक्षिक, तालिम तथा प्रशिक्षण कुन विषयमा खर्च गर्न पाईने हो सो कुरा पनि स्पष्ट योजना हुनु आवश्यक छ ।
    हालसम्म ३० भन्दा बढी क्याम्पसले अनुदान रकमका लागि शिक्षा विकास निर्देशनालयमा सम्झौता गरिसकेको अवस्था छ । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका १४ सामुदायिक क्याम्पसले अनुदान रकम पाउँदै छन् । सबैभन्दा कम रसुवा जिल्लामा एउटा मात्रै क्याम्पसले अनुदान रकम प्राप्त गर्नेछ । काठमाडौंका १४ क्याम्पसका लागि ३ करोड ३० लाख, काभ्रेका १३ वटा क्याम्पसका लागि २ करोड ६५ लाख, सिन्धुपाल्चोक जिल्लाका १२ क्याम्पसका लागि ३ करोड ३० लाख, सिन्धुली १० क्याम्पसका लागि २ करोड ४५ लाख रुपैयाँ बजेट रहेको छ । मकवानपुर जिल्लाका ६ वटा क्याम्पसका लागि १ करोड २५ लाख रुपैयाँ विनियोजन भएको देखिन्छ । क्याम्पसहरुलाई कुन मापदण्डका आधारमा रकम अनुदान दिइँदै छ भन्ने कुरा पनि प्रष्ट हुनु आवश्यक छ । पहुँचवालाको जिल्लामा बढी क्याम्पस र धेरै रकम तथा पहँुच नभएका जिल्लामा कम बजेट देखिएको छ । यदि पहुँचकै आधारमा अनुदान दिन लागिएको भए त्यो न्यायोचित हुँदैन । आवश्यकता र औचित्य तथा निश्चित मापदण्डलाई आधार मानेर रकम निकासा हुनु आवश्यक छ ।







ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11976334 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top