21 Aug 2019   |   
logo
समाज

२६ दिनमा ३,३१४ व्यक्तिगत प्यान दर्ता



समाज   44 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः आन्तरिक राजश्व कार्यालय हेटौंडामा २६ दिनमा ३ हजार ३ सय १४ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) दर्ता गरेका छन् । राजश्व कार्यालयले साउन १ गतेदेखि २६ गतेसम्म ३ हजार ३ सय १४ जनाको व्यक्तिगत प्यान दर्ता गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा ४ हजार २ सय ८० जनाले मात्रै व्यक्तिगत प्यान दर्ता गरेका थिए । सरकारले तलब बुझ्नका लागि हरेक कर्मचारीको प्यान नम्बर अनिवार्य गरेसँगै पहिलो महिना नै उल्लेख्य संख्यामा व्यक्तिगत प्यान दर्ता गर्ने बढेका हुन् ।



नेपाल सरकारले कर्मचारी, कलकारखानामा काम गर्ने श्रमिक मजदुरलगायतको प्यान दर्ता गरेपछि मात्र तलब दिने भएकाले राजश्व कार्यालयमा प्यान नम्बर लिनेको भीड लागेको हेटौडा राजश्व कार्यालयका प्रमुख करअधिकृत सन्तबहादुर ढकालले बताउनुभयो । अघिल्लो एक आर्थिक वर्षमा वितरण गरिएको व्यक्तिगत प्यान दर्ता चालु आर्थिक वर्षको झण्डै एक महिनामै वितरण गरिएको उहाँले भन्नुभयो । राजश्व बुझाउने व्यवसायीहरुको भीड लागेको छ । हरेक वर्षझै श्रावण महिनामा कर तिर्ने साना तथा ठुुला व्यवसायीहरुको राजश्व कार्यालयमा भिड लाग्ने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साना तथा ठुला व्यवसायीहरुले कर तिर्न घण्टौँसम्म लाइन बस्नु परेकोमा आपत्ति जनाएका छन् ।

कार्यालय परिसरमा एभरेष्ट बैंकको एउटा मात्रै काउन्टर रहेको छ । व्यक्तिगत तथा व्यावसायिक प्यान दर्ता गर्न आउने र कर तिर्न आउने व्यवसायीहरु सँगै भएकाले भिड भएको कार्यालयले बताएको छ । बैंकले सेवाग्राहीको चापअनुसार काउण्टर संख्या थप नगर्दा सेवाग्राही  मारमा परेका छन् । यस्तै चालु आर्थिक वर्षको पहिलो महिनाको आइतबारसम्म ३ सय ३० वटा दर्ता मध्ये ३ सय २४ सक्रिय र ६ वटा बन्द गरिएको छ । सरकारी कार्यालयलाई दिइने प्यान ४ वटा, अन्तशुल्क दर्ता ७१, आयकर ६ सय ३२ दर्ता भएको प्रमुख करअधिकृत ढकालले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कुल भ्याटमा ७ सय ७८, सरकारी कार्यालयमा दिईने प्यान १५, अन्तशुल्क ५ सय १५, आयकरका लागि ३ हजार २ सय ६७ वटा दर्ता गरिएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7364524 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top