20 Sep 2019   |   
logo
स्थानीय तह

कृषि क्षेत्र सधैं प्राथमिकतामाः मुख्यमन्त्री पौडेल



स्थानीय तह   50 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १५ आइतवार  
हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका माछा पोखरी तथा तरकारी फर्महरुको अवलोकन गर्नुहुँदै उहाँले कृषि उत्पादन बढाउन प्रदेश सरकार तत्पर रहेको समेत स्पष्ट पार्नुभयो । कृषि क्षेत्र विकासको मेरुदण्ड रहेको भन्नुहुँदै उहाँले आर्थिक विकास गर्न कृषिलाई जोड दिन सबैलाई आग्रह समेत गर्नुभयो ।

कृषि क्षेत्र सधैं प्राथमिकतामाः मुख्यमन्त्री पौडेल


मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कृषि र पशुपालन सँगसँगै लैजाने नीति रहेको उल्लेख गर्नुभयो । कृषिलाई निर्वाहमुखी भन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनु पर्नेमा पौडेलले जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका १ सय १९ वटै स्थानीय तहहरुमा कम्तिमा एउटा कृषि केन्द्र स्थापना गर्ने बताउनुहुँदै एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढिने जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले किसानलाई मार्कापार्ने किसान र उपभोक्ताहरु बीचको बिचौलिया प्रथाको अन्त्य गरिने र बृहत कृषिबजार स्थापना गरिने धारणा राख्नुभयो । हरेक कृषि उपजहरुको बजारीकरणका लागि दिगो र भरपर्दो कृषि बजारको व्यवस्था गरिने मुख्यमन्त्री पौडेलको भनाइ थियो । सरकारले लिएको दिगो विकासको लक्ष्य अनुरुप हुने गरी काम गरिने उहाँको भनाइ थियो ।

मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्र कृषि तथा पशुपालनमा पकेट क्षेत्र भएपनि खहरखोलाले दुख दिएको प्रति लक्षित गर्नुहुँदै मुख्यमन्त्री पौडेलले उचित र मजबुद तटबन्दको व्यवस्था गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । पौडेलले कृषिमा लागत कम गरी उत्पादन बढाउन यसै क्षेत्रमा दाना उद्योगको आवश्यकता पर्ने बताउनुहुँदै त्यसको व्यवस्था गरिने बताउनुभयो । पौडेलले प्रदेश ३ तथा देश नै माछामा आत्मनिर्भर बनाउनुपर्ने उल्लेख गर्नुभयो । बाटो र बिजुलीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जनाउँदै पौडेलले सरकारको मुल अभियान नै कृषि क्रान्ती गर्ने भएकोले सबै जनता कृषिमा जोडीनु पर्ने बताउनुभयो ।

सरकारको प्राथमिकता एकीकृत खेती भएकोले सोही अनुसार एकीकृत खेतीप्रणालीलाई सरकारले सहयोग गर्ने तथा आधुनिक कृषिलाई जोड दिने उहाँको धारणा थियो । माटो परीक्षण लगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक एक वटा तथा हरेक निर्वाचन क्षेत्र र हरेक  जिल्लामा एक एक वटा माटो जाँच केन्द्रको स्थापना गरिने उहाँको भनाइ थियो । उहाँले ठाउँ, वातावरण र स्थानको विशेषता अनुसार खेती गर्नुपर्ने  धारणा राख्नुभयो  । किसान र कृषि प्रदेश सरकारको पहिलो प्राथमिकता भएकोले सरकारले सकेको सहयोग गर्ने उहाँको भनाइ थियो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलसँग स्थानीयले सडक, बिजुलीलगायत उद्यम सञ्चालनका लागि चाहिने आवश्यक अनुदानको समेत माग गरेका थिए । अवलोकनका लागि जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढि गाउँपालिकाका प्रमुख बिदुर हुमागाई, मनहरी ४ नम्बर वडाका अध्यक्ष ध्रुब खड्का लगायत सहभागी थिए ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11973055 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top