12 Dec 2019   |   
logo
स्थानीय तह

वडाको वार्षिक योजना तीनवटा मात्रै



स्थानीय तह   29 पटक पढिएको   समाज संवाददाता     
मनहरीः आफ्ना जनताको मन बुझाउनका लागि जनप्रतिनिधिहरुले वडामा अनेक खालका योजनाहरु निर्माण गर्ने गर्दछन् । जथाभावी सानातिना योजना बनाएर कार्यान्वयन गर्दा न दीगो विकास भएको छ, न त नदेखिने काम नै हुने गरेको छ । देशभरका स्थानीय तहमा यस्तै समस्या देखिन्छ । तर चालू आर्थिक वर्ष २०७६-७७ का लागि मनहरी गाउँपालिकाको ३ नम्बर वडाध्यक्ष मानबहादुर स्याङ्तानले दीगो विकास हुने गरी योजना बनाएको दावी गर्नुभएको छ । वडाको तर्फबाट गाउँपालिकाले बजेट सिफारिस गर्न अख्तियारी दिइएको बजेटबाट जम्मा ३ वटा ठूला योजना मात्रै निर्माण गरिएको वडाध्यक्ष स्याङ्तानले बताउनुभयो ।

वडाको वार्षिक योजना तीनवटा मात्रै


वडा नं. ३ को भुन्द्रुङ–पाल्दमार जोड्ने पक्की पुल र हाँडीखोला–कालिदमार पक्की पुलका लागि एउटै योजना समेटेर वडा कार्यालयले १ करोड २२ लाख रुपैयाँ बिनियोजन गरेको हो । बाँकी रकमबाट १५ लाखको डोठे सुकौरा खानेपानी योजना सञ्चालन हुने गरी योजना बनाइएको वडाध्यक्ष स्याङ्तानले जानकारी दिनुभयो । ‘हरेक वर्ष सयौं योजनाहरु बनाएर बजेट छर्नुभन्दा एकै ठाउ“मा बजेट हालेर बलियो संरचना बनाउनुपर्छ भन्ने धेरैले सुझाव दिएँ’, वडाध्यक्ष स्याङ्तानले भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टीले समेत दीगो विकासका लागि सल्लाह सुझाव दिएकाले यस वर्ष तीनवटा मात्रै योजना छनौट गरिएको छ ।’ रजैयाबाट लामिटार हुँदै चकरी मकरी पुग्ने सडकलाई मनहरी गाउँपालिकाले महत्वाकांक्षी योजनाका रुपमा अघि सारेको छ । ३७ करोडमा निर्माण हुने यो बाटोमा देखिएका साना खोलाहरुमा पुल हाल्नका लागि वडा कार्यालयको तर्फबाट तदारुकता देखाइएको हो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त प्रयासबाट यो सडकलाई सम्पन्न गर्ने रणनीतिमा नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरु लागेका छन् । सोही क्रममा मनहरी गाउँपालिका–३, लामिटार र वडा नं. ४ को मसिने जोड्ने ट्वाङ्ग्रा खोलामा पनि बलियो पुल बनाउन माग गरिएको र वडाको तर्फबाट समेत बजेट छुट्याएकामा अन्य निकायसँग पनि बजेट बिनियोजन गर्नका लागि सहजीकरण भइरहेको स्थानीय युवा प्रकाश थापाले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाले बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पाँच वर्षभित्रमा कालोपत्रे हुने गरी लामिटार–चकरीमकरी सडक खण्डमा वर्षेनी लगानी गरिरहेको छ । १७ किलोमिटर लम्बाई रहेको यो सडक खण्डलाई निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टीले महत्वाकांक्षी योजनाको रुपमा लिएको थियो । पूर्व पश्चिम राजमार्गको समेत बाइपासको रुपमा रहने यो बाटो निर्माण गर्नका लागि ३८ करोड रुपैयाँ लाग्ने डिपिआरमा उल्लेख छ । १७ किलोमिटर सडक खण्डको कालोपत्रे हुँदा चौडा सँढे ७ मिटर रहने डिपिआरमा उल्लेख छ । 

हालसम्म मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ मा १ करोड, २०७५-७६ मा ५० लाख, डिभिजन सडक कार्यालय मार्फत संघीय सरकारले आव २०७५-७६ मा १ करोड र अहिले अर्थ मन्त्रालयमार्फत थप गरिएको २ करोड समेत गरी कूल ४ करोड ५० लाख लगानी भइसकेको छ । निर्वाचनका बेला व्यक्त भएको प्रतिबद्धतालाई समेत ध्यानमा राखी यो सडक खण्ड निर्माणका लागि तीनै तहका सरकारले भूमिका खेलिरहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । यो सडक निर्माणका लागि तत्कालीन संविधानसभा सदस्य राजाराम स्याङ्तानले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ३० लाख रुपैयाँ लगानी गरेपछि रजैयादेखि हाँडीखोला हुँदै मकरी पुग्ने सडक खण्डको ट्र्याक खुलेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19196885 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top